Comments Add Comment

शंकरनगर वन वाटिकामा चल्यो बाल रेल

२७ वैशाख,बुटवल । रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा बाल रेल संचालनमा आएको छ । वनवाटिकास्थित रोटरी बाल विकास केन्द्रमा करिब एक करोड रुपैयाँ लागतमा बाल रेल संचालनमा आएको हो ।

काठमाडौंको भृकुटीमण्डपपछि मोफसलको यो पहिलो बाल रेल हो । गोलाकारको करिब एक किलोमिटर दुरीमा बाल रेल गुड्ने गरी लिक बनाइएको छ ।

रोटरी क्लबको करिब ४५ लाख रुपैयाँ लागतमा बाल रेलका संरचना भारतबाट ल्याएको हो । बाल रेलमा तिलोत्तमा नगरपालिकाको ५ लाख रुपैयाँ लागत सहभागिता रहेको छ भने वन वाटिकाभित्रको सडकमा सिमेन्ट टायल बिच्छ्याउन करिब २५ लाख रुपैयाँ खर्च गरेको छ ।

वन वाटिकाले लिग राख्ने फाउण्डेसन निर्माणमा करिब ५० लाख रुपैयाँ खर्च गरेको छ । तीन वटा बग्गी रहेको बाल रेलमा एकपटकमा ३६ जना चढ्न सक्छन् । बाल रेल भनिए पनि यसमा वयस्कहरु समेत चढ्न मिल्छ ।

बाल रेलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराईले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले बाल रेल सञ्चालनले वन वाटिकामा पर्यटक आगमनले गुणात्मक फड्को मार्ने बताए ।

प्रदेशकै नमूना पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले वनवाटिकामा करिब १४ करोड लागतमा १० तले सुविधासम्पन्न भ्यु टावर निर्माण गरिरहेको प्रमुख घिमिरेले बताए ।

उनले रेलमा थप २ वटा बग्गी थप्न र लिगको दुबैतर्फ तार जाली लगाएर सुरक्षित बनाउन सुझाव दिए । रोटरी क्लबका गभर्नर भट्टराईले बाल रेल परियोजना हस्तान्तरण गर्दै वन वाटिकामा बालबालिका लक्षित थप पर्यटकीय पुर्वाधार बनाउन पनि क्लबले सहयोग गर्दै जाने बताए ।

वन वाटिकाका अध्यक्ष बाबुराम अर्यालले हाल वार्षिक करिब २ लाख पर्यटक आउने गरेको उल्लेख गर्दै बाल रेल संचालनपछि पर्यटक संख्या कम्तीमा ३ लाख पुग्ने बताए । उनले वन वाटिकामा रहेको चिडियाघरलाई प्रादेशिकस्तरको बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । रेल चढ्न हाललाई ४० रुपैयाँ शुल्क कायम गरिएको वन वाटिकाका सचिव खिमलाल पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment