+
+
Shares

नगरपालिकाले बजेट नदिएको भन्दै आदिवासी जनजाति आन्दोलित

तिलोत्तमा नगरपालिका भन्छ- आन्दोलन गरे पनि प्रक्रिया मिचेर दिन मिल्दैन

टोपराज शर्मा टोपराज शर्मा
२०७६ वैशाख २८ गते १२:०८

२८ वैशाख, बुटवल । आर्थिक वर्ष समाप्त हुनै लाग्दा लक्षित वर्गअन्तर्गतको बजेट नगरपालिकाले खर्च गर्नेतर्फ ध्यान नदिएको भन्दै तिलोत्तमा नगरपाकिलाका नेपाल आदिवासी जनजातिले आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

आदिवासी जनजाति समुहको बजेट कार्यान्वयनमा नगरपालिकाले चासो नदेखाउनुका साथै नगर परिषदबाट विनियोजन गरिएको  बजेट समेत कटौती गरेको आरोप लगाउँदै जनजाति महासंघ आन्दोलित भएको हो ।

नगरपालिका आफैंले सञ्चालन गर्ने तथा संघ संस्था मार्फत सञ्चालन हुने बजेट खर्च गर्नेतर्फ नगरपालिकाले कुनै चासो नदेखाएको र आफुहरुलाई बेवास्ता गरेको महासंघ नगर कमीटिका अध्यक्ष धनश्याम थापा (शंकर) ले बताए ।

नगरपरिषदद्वारा विनियोजित बजेट खर्च गर्नेतर्फ नगरपालिकाले बेवास्ता गरेको थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

लक्षित वर्गको बजेट खर्च गर्नेतर्फ नगरपालिकाले अहिलेसम्म कुनै चासो नदेखाएको र सरोकारवालाहरुसँग छलफलनै नगरी नगरपरिषदले विनियोजन गरेको बजेट कटौती गरे आदिवासी जनजातिका अगुवाहरुको गुनासो छ ।

लक्षित वर्गका लागि विनियोजित बजेट खर्च गर्ने विषयमा पटक/पटक नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदा समेत नगरपालिकाले बेवास्ता गरेको थापाले बताए ।

महासंघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख २९ गते देखि जेठ ३ गते सम्म सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल गर्ने, जेठ ४ गते देखि ७  गते सम्म तिलोत्तमा नगर कार्यालयमा धर्ना र विरोध सभा गर्ने बताइएको छ । त्यति गर्दा समेत माग पुरा नभए नगरपालिकाका तालाबन्दी गर्ने सम्मको कार्यक्रम रहेको थापाले बताए ।

नगर परिषदबाट विनियोजन भएको आदिबासी जनजाति लक्षित वर्गको ४० लाख बजेट हालसम्म पनि खर्च गर्न नसक्नु आफैंमा विडम्बना भएको पत्रकार सम्मेलनमा थापाले बताए ।

०६८ को जनगणना अनुसार तिलोत्तमा नगरपालिकामा १ लाख ३ हजार जनसंख्या रहेकोमा  ५२ हजार जनसंख्या आदिवासी जनजातिको छ ।

नगरपालिका के भन्छ ?

बजेट माग गर्दा अपनाउने बिधि र प्रक्रिया नपुर्‍याएका कारण बजेट निकासा हुन नसकेको नगरपालिकाले जनाएको छ । विगतमा स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको अवस्थामा जसरी एकमुष्ठ रकम निकासा गरेर लगेजस्तै एकमुष्ठ रकम माग गरिएको तर प्रचलित नियम अनुसार त्यसरी रकम निकासा दिन नमिल्ने भएका कारण समस्या आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए ।

बिधि प्रक्रिया पुर्‍याएर आए एक घण्टाभित्रै रकम निकासा गरिदिने बताउँदै सापकोटाले आन्दोलन गरेकै भरमा बिधि प्रक्रिया मिचेर रकम निकासा दिन नसकिने प्रतिक्रिया दिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?