Comments Add Comment

दोस्रो मेयर कपको उपाधि खुकुरीलाई

२८ वैशाख, बुटवल । दोस्रो मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा खुकुरीले साविक विजेता तिरुपति क्रिकेट क्लबलाई १८ रनले पराजित गर्‍यो । जितसँगै खुकुरीले ६० हजार हात पार्‍यो भने उपविजेता तिरुपतिले ३० हजारमा चित्त बुझायो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित खेलमा ९ विकेट क्षतिमा १ सय २५ रन बनाएको थियो । ३८ बलको सामना गरेका निश्चल चौधरीले ७ चौका र दुई छक्काको मद्दतमा ५३ रनको योगदान दिए । यस्तै इखलाख अहम्मदले २२ रन बनाए ।
बलिङमा तिरुपतिका संदीप सुनार र अनिल खरेलले २-२ तथा कृष्ण कार्की, रविन क्षेत्री, विष्णु कटरिया तथा विक्रम भुासलले समान १-१ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको तिरुपतिले ९ विकेट क्षतिमा १ सय ७ रन मात्रै बनाउन सक्यो । उसका सुरज दरईले २०, शौरभ खनालले र कृष्ण कार्कीले समान १८-१८ रन बनाए । बलिङमा खुकुरीका धिज शाहीले ३, इखलाख अहम्मदले २ तथा दुर्गेश गुप्ता, साहव आलम र मानबहादुर थापाले १- विकेट लिए ।

प्रतियोगिता भरी ६ विकेट र ९३ रन बनाएका मास्टर्स-११ क्रिकेट क्लबका जितेन्द्र साहनी म्यान अफ द सिरिज घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

यस्तै १ सय १२ रन बनाएका खुकुरीकै निश्चल चौधरी बेष्ट ब्याट्सम्यान तथा ९ विकेट लिएका तिरुपतिका रुविन क्षेत्री बेष्ट बलर घोषित भए । उनीहरुले समान ५-५ हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment