Comments Add Comment

काफल पाक्यो, काफल पाक्यो

यतिबेला पहाडका जंगलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले ‘काफल पाक्यो’ भनेजस्तै सुनिन्छ । काफल पाकेकै पनि हुन्छ । काफल पाकेपछि बनजंगल हराभरा हुन्छ । चराचुरुङ्गी रमाउँछन् । उनीहरुले चारोको लागि अन्यत्र जानुपर्दैन । यस्तै बुझाई छ ।

नेपाली समाजमा प्रचलित एउटा लोककथा छ, चारोको खोजीमा चाराले आफ्ना बच्चाहरु छाडेर अन्तै गएको । पछि जंगलमा काफल पाक्यो । ति बच्चाहरुले चारोको खोजीमा गएका आफ्ना बुवालाई बोलाए, ‘काफल पाक्यो, काफल पाक्यो’ भन्दै ।

काफल हिमालय क्षेत्रको स.स्कृतिसँग जोडिएको फल हो । यसलाई पवित्र फल मानिन्छ । काफलसँग जोडिएका केही लोक कथा नेपाल तथा भारतमा समेत प्रचिलत छ ।

काफल पाक्यो

तराईंमा जति-जति गर्मीको राप चढ्दै जान्छ, पहाडका जंगलमा काफलको रंग पनि चढ्न थाल्छ । हो त, यतिबेला बनजंगलमा काफल पाक्न थालेको छ । बैजनी रातो रंगको काफल स्वादिलो पनि उत्तिकै ।

काफल जंगली फल हो । जंगली फल भनेपछि यसमा पूर्णत जैविक हुने नै भयो । यसलाई फलाउन, बढाउन र भण्डारण गर्न कुनै रसायिनक पदार्थको प्रयोग गर्नुपर्दैन । त्यही कारण काफल खान डराउनुपर्दैन ।

मौसमी फल

स्वस्थ्यका लागि मौसमी फल अनिवार्य मानिन्छ । जुन मौसममा जे फल्छ, त्यही फल खानुपर्छ । भण्डारण गरिएको, वेमौसमी फल सेवन त्यती उपयुक्त हुँदैन ।

अतः काफल अहिलेको मौसमी फल हो । यतिबेला बनजंगलबाट टिपेर ल्याइएको यो फल गाउँ-शहर जतापनि पाइन्छ । फल स्वादिष्ट मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ ।

यो जंगली फल बेचेर कतिपय भेगका बालबालिकाले कपी-कलम जोहो गरिरहेको खबर सुनिन्छ । यसैगरी कतिपय गृहणी एवं महिलाहरुले काफलको विक्रीबाटै मनग्ये आम्दानी लिएको पनि सुनिन्छ । काफलको व्यवसायिक खेती नभएपनि यो जंगलमा प्रशस्तै पाइन्छ ।

काफलको औषधीय गुण

काफल अमिलो-गुलियो एवं रसिलो फल हो । यो फलले जिब्रो मात्र लोभ्याउँदैन, यसमा औषधिय गुण पनि हुन्छ । विभिन्न समस्यामा काफलको दाना, बोक्रा प्रयोग गर्न सकिन्छ ।

ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ । खाना अरुची भएमा काफलको सेवनले लाभ मिल्ने बताइन्छ । साथै मधुमेह रोगको लागि पनि यो रामबाण हो । आयुर्वेद विशेषज्ञहरुले यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइने बताएका छन् । यस फलको सेवनले मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने बताइन्छ ।

कानको रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाई आदिमा काफलको धुलो, बोक्रा आदिको औषधी बनाएर सेवन गर्दा लाभ मिल्ने बताइन्छ ।

यसैगरी दम, नपुंशकतामा समेत काफल उपयोगी हुन्छ । बाहिरी घाउचोट निको बनाउन काफलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ ।

काफल र गीत-संगीत

काफल गीत-संगीतमा पनि प्रयोग हुने शब्दावली हो । हामीले गाउने थुप्रै गीतमा काफलको प्रसंग जोडिएको छ । जस्तो कि, ‘रेली खोला बगर, काफल पाक्यो लहर’, ‘काफल गेडी कुटुक्कै’, ‘काफल पाक्यो होला बनमा’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment