Comments Add Comment

नेपालका ५ सहासिक खेल

साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्थात वीर । चाहे सर्वोच्व टाकुरा सगरमाथा उक्लने कुरामा होस् वा फोकल्यान्डको टापुमा युद्ध लड्ने, नेपालीले वीरताको गाथा रचेका छन् ।

हामी साहसी । यही कारणले पो हो कि, हामीकहाँ साहसिक खेल फस्टाउँदो छ । यसले साहसिक खेल पर्यटनको ढोका पनि खोलिदिएको छ ।

आज हामीकहाँ यस्ता खेलको अनेकन विकल्प छन्, जहाँ विछट्टैको रोमाञ्चकता छ । यी खेल खेलिरहँदा तपाईंको मुटु काँप्छ । चाहे बन्जी जम्पको कुरा गरौ वा र्‍याफ्टिङको । कायाकिङको कुरा गरौं वा भर्खरै सुरु भएको सुपरम्यान जीपलाइनको ।

जीवनलाई चुनौतीमा ढाल्नुहुन्छ, बेग्लै रोमाञ्चकता प्राप्त गर्नुहुन्छ भने यी खेलहरुमा तपाईंलाई स्वागत छ ।

एक सय ६० मिटर खोंचमा छलाङ

 

तपाईं साहसी हुनुहुन्छ र तपाईंको मुटु कमजोर छैन भने बन्जी जम्पको अनुभव लिनुहोस् । बन्जी जम्पको कुरा गर्दा तपाईंले भोटेकोसी सम्झनुपर्छ । गहिरो खोंचमा बग्ने यही लेकाली खोलालाई ताकेर तपाईंले छलाङ मार्नुपर्नेछ । तयार हुनुहुन्छ ?

पक्कैपनि यो निकै साहसिक खेल हो । बन्जी जम्पका लागि खासगरी सिन्धुपाल्चोकको बह्रबीसे नजिकको भोटेकोसी पुग्नुपर्छ । द लास्ट रिसोर्टले यसको मेलोमेसो मिलाएको छ । यही रिसोर्टले नेपालमा पहिलो पटक २०५८ सालमा भोटेकोसीमाथि झोलुङ्गे पुल हालेको थियो । यही पुलबाट करिब एक सय ६० मिटर तलको खोंचमा छलाङ मार्न सकिन्छ । विश्वकै उत्कृष्ट एवं अग्लो बन्जी जम्पमध्येमा पर्छ यो ।

यद्यपी बन्जी जम्प गर्नका लागि तपाईंको इच्छा मात्र काफी छैन । शारीरिक अवस्था पनि राम्रो हुनुपर्छ । मानसिक एवं शारीरिक परीक्षणपछि नै बन्जी जम्पको लागि तपाईंलाई योग्य मानिनेछ ।

तिब्र भेलमा वेग

तिब्र गतिमा बहकिने पानीको भेलसँगै वेग मार्न चाहुनुहुन्छ ? पहाडका खोंच र कुइनेटो हुँदै बग्ने नदीसँग लुकामारी खेल्नुहुन्छ ?

त्यसो हो भने तपाईंको लागि र्‍याफि्टङ उपलब्ध छ । तपाईं भोटेकोसीबाट वेग मार्नुहुन्छ कि, त्रिसुलीबाट । तमोर पो पुग्नुहुन्छ कि ?

नेपालकै सबैभन्दा लामो र बढी पानीको सतह भएको कणर्ाली नदीमा पनि र्‍याफि्टङ गर्न सकिन्छ । हामीकहाँ नदीनालाको कमी छैन । देशभरका नदीनालामा र्‍याफि्टङ सञ्चालनमा छन् । हिमाली भेगबाट बग्दै आउने चिसो र तिब्र पानीको वहकावमा तपाईंले र्‍याफि्टङको रोमाञ्चकता लिन सक्नुहुन्छ ।

कहालिलाग्दो छाँगा आरोहण

के तपाईं कहालिलाग्दो छाँगामा खेल्न तयार हुनुहुन्छ ? अविरल झरिरहने पानी, चिप्ला ढुंगाको पहरामा उक्लनुहुन्छ ?

त्यसो हो भने तपाईंलाई स्वागत छ, क्यानोनिङमा ।

नेपालका कहालिलाग्दो छाँगामा तपाईं यो साहसिक खेलको रहर मेट्न सक्नुहुनेछ । नेपालमा यस्ता छाँगाको अभाव छैन । पहाडी भेगमा प्रशस्तै यस्ता छाँगा छन्, जहाँ क्यानोनिङको अनुभव लिन सकिन्छ । त्यसो त देशका विभिन्न भेगमा अहिले यो साहसिक खेल खेल्न सकिन्छ ।

यो खेलका लागि तपाईं कास्कीको घलेल पुगन सक्नुहुन्छ, जहाँ ७५ मिटर अग्ला छाँगा अरोहरण गर्न सक्नुहुनेछ । पर्वतमा पुगेर पनि महाभिरमा क्यानोनिङ गर्न सकिनेछ । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत दर्जन भन्दा बढी ठाउँमा तपाईंले क्यानोनिङको अनुभव लिन सक्नुहुनेछ ।

हावामा वेपर्वाह बत्तिदै

पानीमा वेग हान्ने, खोंचमा छलाङ मार्ने, झाँगामा उक्लने । यी आफैमा रोमाञ्चक र साहसिक खेल हुन् । यी भन्दा कम रोमाञ्चक हुन्न, प्याराग्लाइडिङ पनि ।

खुला आकासमा बाज जस्तै बत्तिइरहन चाहनेका लागि यो उपयुक्त विकल्प हो । खुला आकासमा चराजस्तै उडेर भू-सतह नियाल्नुको आनन्द कम हुन्छ ?

प्याराग्लाइडिङका लागि खासगरी पोखरासम्मको यात्रा गर्नुपर्ने हुन्छ । पोखराको साराङकोटबाट प्याराग्लाइडिङ सुरु भएको हो । १ हजार ५ सय २ मिटर उचाईमा रहेको कास्कीको सराङकोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गरिएको छ । यद्यपी अहिले देशका अन्य भेगमा पनि यो प्याराग्लाइडिङको अनुभव लिन सकिन्छ । प्याराग्लाइडिङका लागि फागुन र वैशाख महिना उपयुक्त मानिन्छ ।

जिपलाइन 

साहसिक खेलको यो पंक्तिमा थपिएको छ, जिपलाइन । डोरीमा झुन्डिएर बत्तिने खेल हो यो । काभ्रे, धुलिखेलमा अहिले यो खेल सञ्चालनमा छ ।

यो खेल धुलिखेलको थाक्लेडाँडामा टेकअफ भएर पाँचखालको खावामा अवतरण हुन्छ । यसमा करिब एक किलोमिटर दुरी पार गर्नुपर्नेहुन्छ । उक्त दुरी पार गर्न एक मिनेट २० सेकेन्ड लाग्छ । यो २ सय ४० फिटको झुकावमा अघि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment