Comments Add Comment

हामी जीवित रहँदै ल्हासाबाट काठमाडौं रेल आउँछ : प्रचण्ड

३० वैशाख, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड)ले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने दावी गरेका छन् । उक्त रेललाई लुम्बिनी र पोखरासम्म पुर्‍याउने उनले बताए ।

राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सोमबार बिहान प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ ।’

ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा सुरुमा सपना जस्तो लागे पनि अब त्यो विपनामा परिणत हुन लागेको उनले बताए ।

आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै प्रचण्डले अहिले त्यो सपना साकार हुन लागेको बताए ।

‘चीन भ्रमणमा जाँदा मैले त्यहाँका राष्ट्रपतिलाई भनेको थिएँ, ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरा । यो सपना साकार पार्न हामीले मिलेर काम गर्नुपर्छ भनेको थिएँ । अहिले मलाई अब यो सपना रहेन । अब त्यो सपना विपनामा साकार हुँदैछ,’ प्रचण्डले भने । ल्हासाबाट रेल नेपाल आएमा पर्यटनको विकासको निम्ति र अर्थतन्त्रको विकासको निम्ति कोशेढुंगा हुने उनले विश्वास व्यक्त गरे ।

प्रचण्डले नेपालका शक्तिपीठहरु र नेपाल-भारतका शक्तिपीठहरुलाई पनि जोडेर सर्किट बनाउन सकिए धार्मिक पर्यटनको विकासमा क्रान्ति नै आउने दावी गरे ।

‘लुम्बिनी, पशुपति र जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बनाउन जरुरी छ, । अनि पूर्व पाथिभरादेखि बाजुराको बडिमालीकासम्मका सबै शक्तिपीठहरुलाई जोड्ने शक्तिपीठ सर्किट बनाउन जरुरी छ,’ प्रचण्डले भने ।

‘पछिल्लो पटक भारत भ्रमणमा जाँदा नेपाल र भारतका शक्तिपीठहरुलाई मिलाएर एउटा शक्तिपीठ बनाउन सम्भव छ भनेर चर्चा गरेको थिएँ । त्यसलाई सम्भव बनाइयो भने धार्मिक पर्यटनको विकासमा एउटा क्रान्ति नै आउन सक्छ र त्यो धार्मिक पर्यटनको विकासले हामी दुवै देशका जनताको आर्थिक जीवनमा समृद्धिको गुणात्मक ढंगले नयाँ प्रकृतिको जन्म हुनसक्छ भन्ने कुरा भएको थियो ।’

यसबारे नेपालका र भारतका केही विद्वानहरुलाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउने र यसलाई अगाडि बढाउने कुरा पनि गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment