Comments Add Comment

सुस्तायो फिल्म छायांकनको गति, लगानी गर्न किन डराउँदैछन् निर्माता ?

बैशाख–जेठको समय भनेको नेपाली चलचित्र छायांकनका लागि सबैभन्दा उत्तम समय हो । यो समयमा धेरै भन्दा धेरै चलचित्रहरु फ्लोरमा हुन्थे । तर, यो वर्षमा भने निकै कम चलचिहरु छायांकनमा छन् । कुनै वर्ष यस समयमा ३ दर्जन बढी चलचित्रहरु छायांकनमा रहेको रेकर्ड छ । तर, यो बर्ष आधा दर्जन चलचित्र पनि छायांकनमा छैनन् ।

हालै चलचित्र ‘मारुनी’को छायांकन सकिएको छ । ‘कबड्डी ३, आमा, छ माया छपक्कै, रातो टिका निधारमा’ लगायतका केही चलचित्र मात्र छायांकनको तयारीमा छन् । हेमराज वीसीको निर्देशनमा बन्दै गरेको चलचित्र ‘घामट शेरे’ फ्लोरमा छ । चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । हाल यो चलचित्रको सुर्खेतमा छायांकन भइरहेको छ ।

अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि छायांकनको अन्तिम चरणमा पुगेको छ । लण्डनमा लामो समयको सेड्युल सकेर नेपाल फर्किएको यो चलचित्रको मुस्ताङको सेड्यूल सकिएको छ । अब, थाइल्याण्डमा छायांकन गर्ने तयारी यसको निर्माणपक्षको छ । सुदर्शन थापाको निर्देशनमा बनिरहेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ ।

विराज भट्टको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘साङ्लो’ले पनि छायांकन सुरु गरिसकेको छ । केही दिनदेखि यो चलचित्रको धमाधम छायांकन भइरहेको छ । यो चलचित्रको मुख्य कलाकारमा विराज आफै प्रस्तुत भएका छन् भने नायिकाको रुपमा निकिता चण्डक छिन् ।

त्यस्तै, एभरेष्ट सुर्य बोहराको निर्देशनमा चलचित्र ‘हेल्लो जीन्दगी’को पनि छायांकन भइरहेको छ । चलचित्रको केही अंश लण्डनमा खिचेर चलचित्रको टिम नेपाल फर्किएको हो । हाल चलचित्रकी मुख्य नायिका दीपिका प्रसाइको बिहेका कारण रोकिएको छायांकन अबको केही दिनमा पुनः सुरु गरिने छ ।

यस्तै, राज बहादुर सानेको निर्देशनमा तयार भैरहेको चलचित्र ‘मन्द मन्द’को पनि अहिले छायांकन भैरहेको छ । विनय श्रेष्ठ, प्रमोद अग्रहरि लगायतका कलाकार यो चलचित्रको मुख्य भूमिकामा छन् ।

अहिले करिब आधा दर्जन चलचित्रको मात्र छायांकन भैरहेको छ । यो गतबर्षको तुलानामा निकै नै कम हो । चलचित्र बनाउन अहिले निर्माताहरुले आट गरिसकेका छैनन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी गत वर्षको तुलनामा यस वर्ष झण्डै ९० प्रतिशत चलचित्रको छायांकनमा कमी भएको बताउँछन् । उनी भन्छन्–‘गत वर्ष यो समयमा २७ देखि ३० वटा चलचित्रहरु छायांकनमा थिए । तर, यो वर्ष त जम्मा ४–५ वटा चलचित्र मात्र छायांकनामा छन् । यो किन भयो भन्ने त गम्भिर विषय हो ।’

आकाश यो अवस्था आउनुमा धेरै कुराहरुको असर रहेको बताउँछन् । पहिलो कुरा त चलचित्र नै दर्शकको रुचि अनुसारको नबनेको उनको भनाई छ । भन्छन्, ‘दर्शकले चलचित्र मनोरञ्जनको लागि हेर्न जाने हो । तर, हेर्नलायक चलचित्रहरु निकै कम बने । त्यसैले पनि दर्शक भड्किएका छन् । र निर्माताले लगानी सुरक्षित गर्न सकेका छैनन् । यो अवस्थामा कसले चलचित्र बनाउने आँट गर्ने र !’

अर्को कुरा चलचित्रको ट्रेलरले पनि दर्शकलाई झुक्काएको उनको तर्क छ । उनी भन्छन्–‘ट्रेलर निकै राम्रो बनाइएको हुन्छ । तर, चलचित्रमा ट्रेलरमा जे छ त्यहीँ मात्र हुन्छ । अनि दर्शकले के अपेक्षा गरेर चलचित्र हेर्न हल पुगोस् ?’

सामाजिक संजालमा नेपाली चलचित्रका लागि आएका नराम्रो प्रतिक्रियाबाट पनि दर्शक भड्किएको आकाशको बुझाई छ । त्यो माथि कलाकारहरु सस्तो भएका कारण पनि कलाकारप्रति दर्शकको आकर्षण घटेको उनी बताउँछन् । उनले भने, ‘कलाकारले बिहानदेखि रातीसम्म गरेका सबै काम सामाजिक संजालमा पोष्ट गर्छन् । यसो हुँदा कलाकारप्रति दर्शककको आकर्षण घटेको छ । आकर्षण घट्नुको मुख्य प्रभाव चलचित्रको व्यापारमा नै हुन्छ ।’

चलचित्र छिट्टै युट्युबमा रिलिज गरिने प्रवृतिले पनि व्यापारमा प्रत्यक्ष असर परेको आकाश बताउँछन् । उनी भन्छन्, ‘२(३ महिनामा नै चलचित्र युट्युबमा आइदिन्छ । छिटो समयमा नै युट्युबमा फ्रिमा हेर्न पाउने भएपछि दर्शक किन हलसम्म पुग्ने ?’ यो कुराले पनि निर्मातालाई घाटा लागेको आकाश बताउँछन् ।

आकाशले कलाकारदेखि प्राविधिकले माग्ने रकमबाट पनि चलचित्र बनाउनेहरु तर्सिएको बताए । बजार सुहाउँदो पारिश्रमिक नहुँदा लगानी गर्नेहरुले आँट गर्न नसकेको उनले बताए ।

यी सबै कारणको मुख्य पीडामा निर्माता नै हुन्छ । चलचित्रमा लगानी गर्ने निर्माताले आफ्नो घर(जग्गा बेच्नुपर्ने अवस्था छ । लगानी गरेको पैसा फिर्ता आएको छैन् । यो लगानी र व्यापार घाटा बुझेको निर्माताले अहिले चलचित्रमा लगानी गर्न सकेका छैनन् । । त्यसैले पनि अहिले चलचित्र निर्माणको क्रम निकै सुस्ताएको छ ।

नेपाली चलचित्रको निर्माण सुस्ताउँदा यो बर्ष गतबर्षको तुलानामा आधा चलचित्र रिलिज हुने देखिन्छ । हुनत, धेरै चलचित्र बन्नु सुखद कुरा होइन । धेरै चलचित्र बन्दा पनि बजार कमजोर बनेको छ । तर, निरन्तर चलचित्र बनाउनेदेखि लगानी गर्न चाहने नयाँ निर्माता सबै तर्सिएका छन् । यसैले, चलचित्रको छायांकन गती सुस्ताएको छ । जसले, हरेक क्षेत्रमा प्रभाव पार्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment