Comments Add Comment

अखिल र अखिल क्रान्तिकारीले मनाए विद्यार्थी एकता दिवस, यस्तो छ इतिहास

१ जेठ, काठमाडौं । ५५ औं विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् । प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए ।

बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो । भूगोलपार्कमा आयोजित सभालाई अनेरास्ववियूका पूर्वअध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू -क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए ।

किन मनाइन्छ विद्यार्थी एकता दिवस ?

२०१७ साल पुस १ गतेको शाही ‘कू’ ले जनताका अधिकारलाई कुण्ठित गर्‍यो । त्यसविरुद्ध विद्यार्थीहरु आन्दोलित भए । यस बीचमा २०२१ साल वैशाखमा त्रिचन्द्र क्याम्पसमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने र गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने सहितका मागसहित आन्दोलन चर्काउने निर्णय गर्‍यो ।

त्यसपछि २०२१ साल जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रदर्शनमा तत्कालीन पञ्चायती सरकारले दमन गर्‍यो । थुप्रै विद्यार्थीहरु पक्राउ परे । विद्यार्थीहरुले दमनको विरोधमा उपत्यकाव्यापी हड्ताल गरे । आन्दोलन झन् चर्काउँदै लगे ।

अन्ततः पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहाइलगायतका माग पूरा गर्न बाध्य भयो । विद्यार्थीहरुको एकताको बलमा आन्दोलन सफल भएको यही दिनको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता र विजयको रुपमा मनाउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment