Comments Add Comment

दुई वर्षसम्म पनि कर्मचारी अभावकै दुखेसो

१ जेठ, डोटी । ‘हाम्रो गाउँपालिकामा ६ वडा छन् । ६ वटै वडा सचिवको काम गर्ने, गाउँ कार्यपालिकाको कार्यालयमा प्रशासनिक काम गर्ने, अन्य फाँटका काम गर्ने जम्मा एक जना मात्रै कर्मचारी छन् । अनि हामीले काम गर्ने कसरी हो ? कसरी गाउँपालिका सुशासित हुने हो ?’

डोटी, सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलको दुखेसो हो यो । युनाईटेड मिसन टु नेपाल र समान पहुँच विकास केन्द्र (सिड) नेपाल नामक गैरसरकारी संस्थाले आयोजना गरेको ‘स्थानीय तहहरुमा सुशासनका अभ्यास सम्वन्धी अनुभव आदान प्रदान कार्यक्रम’ मा बोल्दै डुम्रेलले आफुहरुले चाहेर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए ।

के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर शाहीको दुखेसो पनि उस्तै छ । ‘हामीले ऐन, नियम, कार्यबिधि वनाएका छौं तर त्यसको कार्यान्वयनका लागि जनशक्ति छैन,’ शाहीले भने, ‘सुरुदेखि नै हामीले कर्मचारी अभाव झेल्दै आयौं, समायोजनपछि त कर्मचारी सबै खाली हुने अवस्था छ ।’

आफू संघ, प्रदेशमा समायोजन भएको भन्दै कर्मचारीहरुले कामै गर्न नमानिरहेको उनको भनाइ छ । उनी थप्छन्, ‘न कर्मचारीहरु छन्, न प्राविधिकहरु छन्, अनि जनप्रतिनिधिले मात्रै चाहेर सुशासन कायम हुन सक्ने अवस्था छैन ।’

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी जनप्रतिनिधिहरु जसरी खटिएका छन्, कर्मचारीहरु त्यसरी नखटेको दुखेसो गर्छिन् । ‘कर्मचारीहरुले असहयोग गरेका छन् त म भन्दिनँ, सहयोगै गरेका छन्’ मलासीले भनिन्, ‘तर जुन स्पिडका साथ हामी जनप्रतिनिधिहरु हिड्न खोज्छौं, त्यो कर्मचारीहरुले गर्न सकेका छैनन् ।’ उनले सुशासन कायम गर्नका लागि आफूले अनुगमनलाई बढी जोड् दिएको बताइन् ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा कागजमै सिमित भएको बताउँछन् । उनी भन्छन्, ‘नाम मात्रका सिंहदरवार हुन, के को सिंह दरवार ? हामीलाई न अधिकार दिने न कर्मचारी दिने, अनि कसरी सुशासन कायम हुन्छ ?’

उनले संघ र प्रदेश सरकारले स्थानीय तह भन्दा पनि सांसदलाई बलियो वनाउने काम गरेको आरोप लगाए । ‘स्थानीय तह सिंहदरबार होइन, स्याल दरवार जस्ता भएका छन्,’ ओझाले थपेे, ‘तर पनि हामीले सुशासन कायम गर्नका लागि आफ्नो क्षेत्रबाट प्रयास गरिरहेका छौं ।’

स्थानीय सरकारलाई बलियो बनाउने गरी संघ र प्रदेशले अधिकार दिनु पर्ने बताउँछन् पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी । ‘जनताका लागि केन्द्र सरकार सुनिने सरकार हो र प्रदेश सरकार देखिने सरकार हो,’ बोगटीले भने, ‘तर स्थानीय सरकार जनताले नियाल्ने सरकार हो ।’

स्थानीय तहमा सुशासन कायम नभएसम्म देशमा सुशासन कायम हुन नसक्ने भन्दै बोगटीले स्थानीय तहमा तत्काल कर्मचारीको व्यवस्था हुनु पर्ने बताए ।

कर्मचारी अभावकै कारण निर्वाचनका बेला जुन सोच लिएका थियौं, दुई वर्ष पूरा हुँदा पनि त्यो सोच अनुसार अगाडी बढ्न नसकेको वताउँछन् बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ । उनी थप्छन्, ‘कर्मचारी छैन भन्दाभन्दै दुई वर्ष बितेछ ।’

कर्मचारीहरु आउँदै नआउने, आएका कर्मचारीहरु पनि दुर्गममा बस्नै नमान्ने जस्ता समस्याहरु आफूले झेलेको उनी वताउँछन् । ‘हामीले आवश्यक ऐन कानुनहरु त वनाएका छौ’ एनान भन्छन् ‘कानून वनाएर मात्रै सुशासन कायम हुँदैन, जनशक्ति चाहिन्छ, त्यो हामीसंग छैन ।’

‘आज प्रमुख प्रशासकीय अधिकृत छैन, भोलि लेखापाल छैन, पर्सी फाँटको कर्मचारी छैन भन्दा भन्दै दुई वर्ष बितायौं’ आदर्श गाउँपालिकाका अध्यक्ष टेकवहादुर रोकाया भन्छन्, ‘तर पनि हामी जनतालाई सुशासनको प्रत्याभूति गराउने प्रयासमै छौं ।’ कर्मचारी अभावले जनप्रतिनिधिहरुले आफ्नो भिजन अनुसारको काम गर्न नसकेको उनी बताउँछन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐरले भएको जनशक्ति र स्रोत साधनको प्रयोग गरि स्थानीय तहमा सुशासन कायम गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरे । उनले जनताका लागि आएको सेवा र स्रोतको दुरुपयोग हुन नदिनेतर्फ जनप्रतिनिधिहरु सचेत हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment