Comments Add Comment

३० अर्वको बजेट ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

Photo Credit : आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा/अनफाइनखबर

१ जेठ , डोटी  । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३० को हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिएका छन् ।

‘अहिले हामीले ३० अर्वको हाराहारीमा बजेट बनाउने तयारी गरिरहेका छौं’ मन्त्री बोहराले भने, ‘नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानको सिलिङ्गप्राप्त भएपछि बजेटको आकार बढ्न पनि सक्छ ।’

मन्त्री बोहराले आगामी वर्षमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट आउने बताए । उनले भने, ‘परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक कृषि प्रणालीमा जोड दिन्छौं ।’

पूर्वाधारतर्फ गतवर्षको भन्दा झण्डै १८ प्रतिशत बजेट वृद्धि हुने बोहराको दावी छ । सडक, बाटो, पानी, विद्युत जस्ता अधारभूत पूर्वाधार नभएसम्म अन्य विकास सम्भव नहुने भएका कारण पूर्वाधारमा बढी जोड् दिन लागिएको उनले बताए ।

‘प्रदेश गौरवको आयोजनाका रुपमा एक जलबिद्युत आयोजना निर्माण गर्ने तयारीमा छौं,’ मन्त्री बोहराले भने ‘सम्भव त त्यो आयोजना तल्लो चमेलिया हुन सक्छ, यस बिषयमा नेपाल सरकारसँग कुरा भइरहेको छ ।’

उनले ९ जिल्लामा ९ वटा प्रदेश गौरवका सडक निर्माण गर्ने, प्राबिधिक र चिकित्सा विश्वविद्यालय स्थापना गर्ने, एक सय करोडको युवा स्वरोजगार कोष स्थापना गर्नेलगायतका महत्वपूर्ण योजनाहरु प्रदेश वजेटमा समावेश हुने जानकारी दिए ।

बिगतमा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै निश्चित मापदण्ड बनाएर मात्रै योजनाहरुको छनौट गर्ने व्यवस्था मिलाइने मन्त्री बोहरा बताउँछन् । योजनाको छनौट, कार्यान्वयन र अनुगमनमा स्थानीयतहको प्रत्यक्ष सहभागिता हुनु पर्ने गरी उठिरहेका आवाजका बिषयमा भने मन्त्रीले प्रष्ट बोलेनन् । ‘काम कसले गर्‍यो भन्ने कुरा ठूलो होइन,’ मन्त्री बोहराले भने, ‘काम भयो कि भएन भन्ने कुरा ठूलो हो ।’

जेठ १५ गतेभित्रै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको मन्त्री बोहराले बताए । असार १ गते भित्र प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत भइसक्नु पर्ने संबैधानिक व्यवस्था छ ।

पूँजीगत खर्च १७ प्रतिशत मात्रै

मन्त्री बोहराले प्रदेश सरकारको पूँजीगत बजेटको हालसम्म १७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिए ।’कर्मचारी समायोजन ढिलो हुँदाहामीलाई बजेट कार्यान्वय नगर्न समस्या भयो,’ उनले भने, ‘अब कर्मचारीहरु आएका छन्, धमाधम काम भइरहेको छ ।’

उनले यो आर्थिक वर्षभित्र ६० प्रतिशत पूँजीगत बजेट खर्च गर्ने लक्ष्य राखिएको जानकारी दिए । आर्थिक प्रगति १७ प्रतिशत मात्रै देखिए पनि भौतिक प्रगति करिब ३५ प्रतिशत भएको बोहराको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment