Comments Add Comment

प्रचण्ड र ईश्वर पोखरेलबीच घोचपेच : नेकपामा ‘जबज’ ब्युँताउने प्रयास !

१ जेठ, काठमाडौं । पार्टी एकीकरणको एक वर्ष पुगेकै बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बैचारिक ध्रविकरणको संकेत देखिएको छ ।

बिगत लामो समयदेखि सुसुप्त अवस्थामा रहेको बैचारिक बहस बुधबार युवा संघको स्थापना दिवसमा कार्यकर्ताले बुझ्नेगरी पोखिएको छ । अध्यक्षमध्येका एक पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेल एकै मञ्चबाट फायर खोलेका हुन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद स्थगित गरी जनताको जनवाद मान्ने भनिएको थियो । यद्यपि जनताको जनवादबारे विवाद कायमै छ ।

युवा संघको स्थापना दिवसका अवसरमा प्रचण्ड भन्दा पहिले बोल्ने पालो पाएका ईश्वर पोखरेलले स्पष्ट वैचारिक कार्यदिशा नभएको कम्युनिस्ट पार्टी तासको महल जस्तै ढल्ने चेतावनी दिए । नेकपामा अहिले प्रष्ट राजनीतिक र वैचारिक कार्यदिशा नभएको भन्दै अब त्यसबारे पार्टीमा छलफल हुनुपर्ने बताए ।

पार्टी एकीकरणदेखि नै तत्कालिन एमालेले बोक्दै आएको जनताको बहुदलीय जनवाद नै नेकपाको मार्गदर्शक सिद्धान्त हुनुपर्ने बताउँदै आएका पोखरेलले यसबीचमा बिभिन्न ठाउँमा यहि धारणा राख्दै आएका छन् । पोखरेल यस्तो विचार राख्दा र तत्कालिन माओवादीले लिएको नीतिको आलोचना गर्दा नेकपाभित्र पूर्व माओवादी पंक्तिबीच स्वीकार्य हुन सकेका छैनन् ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका पोखरेलले बुधबार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र विष्णु पौडेललगायतका नेताहरुका सामुन्ने बैचारिक बहसको थालनी हुनुपर्ने धारणा राखेपछि कार्यकर्ता पंक्तिमा तरंग उत्पन्न भयो ।

पोखरेल लगत्तै बोलेका झलनाथ खनाल र माधव नेपालले विचार तथा सिद्धान्तबारे बहस गर्न चाहेनन् तर, प्रचण्डले पोखरेलमाथि कटाक्ष गरे । प्रचण्ड बोल्ने क्रममा केही आक्रोशित रुपमा प्रस्तुत हुँदै पूराना विचार दोहोर्‍याएर कम्युनिस्ट पार्टी नबन्ने बताए ।

उनले गीता, बाइबल र कुरान जस्तो धर्मशास्त्र माक्र्सवाद होइन भन्दै विचार सिद्धान्तमा निरन्तर प्रयोग र विकास हुँदै जाने भएकाले छाडिसकेका विचार सिद्धान्तप्रति मोह त्याग्न सुझाव दिए । पोखरेलतर्फ इंगित गर्दै उनले भने–सही विचार सधैंका लागि केही पनि हुँदैन । निरन्तर बहस र अन्तरक्रियाबाट नयाँ विचार बन्छ । एउटै विचार सही छ भनेको भए यहाँ आइपुग्ने थिएनौं । कि युद्धमा जित्थ्यौं वा मरेर सिद्धिन्थ्यिौं । शान्ति भन्नेहरु पनि शान्तिमै सिद्धिन्थ्यौं । आज प्रधानमन्त्री मन्त्री बनेर समृद्ध नेपाल सुखी नेपालीको सपना बाँड्ने ठाउँमा आउने थिएनौं ।’

प्रचण्डले विचारको शुद्धताको नाममा जनता र राष्ट्रको आवश्यकतालाई नजरअन्दाज गर्ने र वैचारिक शुद्धताका नाममा पार्टीलाई विभाजनतर्फ लैजाने जड प्रवृत्ति भोग्दै आएको बताए । उनले कुनै पनि विचार सधैंको लागि सही हुन नसक्ने भन्दै अप्रत्यक्ष रुपमा पूर्व एमाले पंक्तिलाई जनताको बहुदलीय जनवादको मोह त्याग्न आग्रह गरे ।

प्रचण्ड र पोखरेलबीच वैचारिक बहस यस्तो बेला सतहमा आएको छ, जुन बेला नेकपाको संगठन एकीकरण लगभग सकिने चरणमा छ । नेकपाले २ वर्षभित्र महाधिवेशन गर्ने भनेकोमा एक वर्ष पूरा हुँदैछ । पार्टीको मार्गदर्शक सिद्धान्त र राजनीतिक बैचारिक कार्यदिशाबारे महाधिवेशनमा छलफल गर्न दुवै पक्ष सहमत भएर एकीकरण भएको थियो ।

तत्कालिन एमालेको दुइपटक महासचिव भएका र सरकारका केपी ओलीपछि दोस्रो बरियतामा रहेका नेता पोखरेलले शीर्ष नेता अगुवा कार्यकर्ताको बीचमा बैचारिक बहसको माग किन गरे ? यो प्रश्नको उत्तर उनैले देलान् तर, एउटा कुरा के प्रष्ट छ भने पोखरेल पार्टी एकीकरणदेखि नै जनताको बहुदलीय जनवादलाई स्थगनमा राखिएकोमा असन्तुष्ट छन् ।

तत्कालिन एमाले पंक्तिमा मदन भण्डारी र जनताको बहुदलीय जनवाद लोकप्रिय नाममात्र होइन, भावनात्मक पक्ष पनि हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तल्लो तहका कार्यकर्तासम्मको मनोभावना बुझेर पोखरेलले सुविचारित ढंगले जबजको पक्षमा बोल्दै आएको बुझ्न सकिन्छ ।

केही दिनअघिमात्र उनले मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा जबज नै नेकपाको विचार हुनुपर्ने बताएका थिए ।

पोखरेल लगायत पूर्व एमालेको ठूलो पंक्ति जनयुद्ध लडेको माओवादी पंक्ति जबजकै लाइनमा आइपुगेको दावी गर्छन् । विषयवस्तु (कन्टेन्ट) जनताको बहुदलीय जनवाद मानेपछि नाममा अत्तो थाप्न आवश्यक नरहेको उनीहरुको तर्क छ । तर पूर्व माओवादी पंक्ति मदन भण्डारीको योगदान मान्न र भण्डारीको फोटो झुण्ड्याउने ठाउँमा पुगे पनि जबज भनिहाल्न चहँदैन ।

केपी ओली पक्ष पनि जबजलाई ब्युँताउने पक्षमा उभिएको छ । केही समयअघि ओली स्वयंले त्यो संकेत गरेका थिए । नेता घनश्याम भुसालले एकीकरण अघि नै जबजको च्याप्टर क्लोज भएको बताएका थिए तर, माधव नेपाल अहिलेसम्म बोलेका छैनन् । तर, नेपाल जबजभन्दा बाहिर जान नसक्ने दाबी उनी निकट नेताहरु गर्छन् ।

नेकपाको पछिल्लो स्थायी कमिटी बैठकमा नारायणकाजी श्रेष्ठ, मणि थापालगायतका नेताहरुले जनताको जनवाद भन्ने कार्यक्रम पार्टीको सिद्धान्त हुन नसक्ने भन्दै वैचारिक प्रष्टताको माग गरेका थिए । त्यसबेला बामदेव गौतमले पार्टीभित्र पूँजीवाद र समाजवादको बहस शुरु भएको भन्दै ओली पक्ष पूँजीवादको पक्षमा र प्रचण्डसहित आफूहरु समाजवादको पक्षमा उभिएको बताएपछि खैलाबैला मच्चिएको थियो ।

गौतमले आफू निकट नेता कार्यकर्तासँग माधव नेपाल बीचमा देखिए पनि बैचारिक बहसमा ओलीतिरै देखिएको र बादल पक्ष तटस्थ रहेको भनेपनि नेकपामा बैचारिक बहस भने शुरु भइसकेको छैन । पोखरेलले माग गरेको बैचारिक बहस नेकपाले खुला गर्ला वा तथर्दमै चल्छ ? यसका लागि भने कम्तिमा ओली र प्रचण्ड नै तयार हुनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment