Comments Add Comment

आजका पत्रपत्रिका : देशभरका संस्थागत जग्गाको कारोबार रोक्का

२ जेठ, काठमाडौं । बजेट खर्च, सहकारी बेथिति, संस्थागत जग्गा कारोबारमा लगाइएको रोकलगायतका विषय आजका दैनिक पत्रिकाहरुको हेडलाइन बनेको छ । त्यस्तै, प्रचण्ड–ईश्वर पोखरेल जुहारी, त्रिवि कर्मचारी भर्ना अनियमितता, उद्योग मन्त्रालयको विवाद, कामीरिता कीर्तिमानको चर्चा पनि पत्रिकाहरुमा छ।

राजधानीले आज जग्गा अतिक्रमणविरुद्ध सरकार एक्सनमा उत्रिएको लेखेको छ । सार्वजनिक जग्गा अतिक्रमणको एकपछि अर्को तथ्यहरु सतहमा आइरहेका बेला सरकारले देशभरका संस्थागत जग्गाको कारोबार रोक्का गरेको हो ।

गृहले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको छ । गृहका प्रवक्ता रामकृष्ण सुवेदीले देशभर रहेका सरकारी, सार्वजनिक तथा गुठी जग्गामाथि अतिक्रमण बढेको, जग्गाको दुरुपयोग भएको तथा यस्ता जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएपछि छानबिनका लागि यस्तो निर्णय गरेको राजधानीसँग बताएका छन् ।

लोकसेवाले ठूलो संख्यामा कर्मचारी माग गर्न लागेको अर्को खबर पनि राजधानीमा छ । समाचार अनुसार अधिकृतस्तरमा मात्रै १ हजार र नायब सुब्बास्तरमा ३ हजार पदमा कर्मचारी माग हुँदैछ । यसका लागि परीक्षाको नयाँ पाठ्यक्रम तयार पारिएको छ ।

सर्वोच्च अदालत आफ्नै रणनीतिक योजना भेट्टाउन असफलल भएको निष्कर्ष पनि राजधानीले निकालेको छ । राजधानीका अनुसार ६० प्रतिशत मुद्दा फछ्र्योट गर्ने सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजना असफल बन्दै गएको छ ।

त्रिवि परीक्षा अनियमिततामाथि कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ ।

आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि आयोगले गरेको अनुसन्धानका क्रममा यस्तो निष्कर्ष निस्किएको हो ।

नेकपामा देखिएको वैचारिक मतभेद, उद्योग मन्त्रालयको बुधबारको विवाद र कामीरिताको कीर्तिमानबारे पनि कान्तिपुरले पहिलो पृष्ठमा कभरेज गरेको छ ।

अन्नपूर्णले सहकारीभित्रको अनियतिमतता केलाएको छ । अन्नपूर्णका अनुसार, सहकारीमाथि नियमन प्रभावकारी नबन्दा बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको छ ।

नयाँ पत्रिकाको नजर बजेट कार्यान्वयनमाथि परेको छ । समाचार अनुसार, विकास खर्च निकै नै निराशाजनक छ । १३ खर्बको बजेट भए पनि मात्रै १ खर्ब मात्रै खर्च भएको छ ।

नयाँ पत्रिका लेख्छ– समृद्धिको नारा घन्काइरहेको शक्तिशाली सरकारले अघिल्लो वर्षजति पनि खर्च गर्न सकेको छैन ।

प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाउनु परेको खबर पनि नयाँ पत्रिकामा छ ।

नागरिकले कामीरिता शेर्पाको कीर्तिमानबारे चर्चा गरेको छ भने सरकारी मुखपत्र गोरखापत्रमा प्रधानमन्त्रीले भ्रमणबारे व्यक्त गरेका धारणा समेटिएको छ ।
हेनुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment