Comments Add Comment

पप्पुले बदमासी गरेको तीनकुने पुलमा पुग्यो संसदीय समिति

सांसदकै लोगोसहित रौनियार फिल्डमा

२ जेठ, काठमाडौं । तीनकुनेमा बाग्मती नदी माथि निर्माण भइरहँदा रोकिएको पुलको संसदको विकास तथा प्रविधि समितिले निरीक्षण गरेको छ । निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले बनाइरहेको यो पुलमा प्राविधिक गडबडी भएको भन्दै सडक विभागले निर्माण रोकेको छ ।

डिजाइन र सम्झौता अनुरुप मापदण्ड मिचेर पुल बनाएपछि यो पुलको निर्माण करिब ५ महिनादेखि रोकिएको छ । त्यसअघि पनि पप्पुले निर्माण अवधि गुजारेपछि मात्रै पुलको निर्माण थालेको थियो ।

समितिका सांसदले बिहीबार पुलको निरीक्षण गरे । निरीक्षणका क्रममा निलम्बित सांसद तथा पप्पुका सञ्चालक सुमित रौनियारका बाबु हरिनारायण रौनियार पनि आइपुगे । उनी संघय सांसदको लोगो लगाएरै निर्माणस्थलमा पुग्दा अन्य सांसदहरु आश्चर्यमा परेका थिए ।

‘म संसदमा जान नपाएपनि संसद नै हुँ,’ उनले सांसद तथा आयोजनाका अधिकारीसँग भने ।

समितिले यो पुलको निर्माण तत्काल अघि नबढाउन काठमाडौं सडक विस्तार आयोजनालाई निर्देशन दिएको छ । पुल निर्माणमा कसको लापरवाही हो भन्नेबारे समितिले छानविन गर्ने भएको छ ।

हाल सडक विभागले यो पुलको निर्माणको क्रममा ठेकेदारले हेरचक्रे्याइँ गरे/नगरेको जाँच गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई जिम्मा दिएको छ । इन्जिनियरिङ क्याम्पसले गर्ने अध्ययनबाट तयार हुने प्रतिवेदन अनुसार यो पुल निर्माण गर्न दिने/नदिने टुंगो लाग्ने आयोजनाले जनाएको छ ।

कम्पनीले भने मापदण्ड अनुसार नै पुल बनाइएको दावी गर्दै आएको छ । पप्पुले टेकुमा विष्णुमतीमा बनाएको पुल पनि निर्माण नसकिँदै भत्काउनुपर्ने ठहर भएको छ । तर, यो विवाद आर्बिटेसन (मध्यस्थता परिषद) मा पुगेको छ ।

तीनकुनेको बाग्मतीको पुलमा पनि पप्पुले स्पाम नै मापदण्ड विपरित ढलान गरेको छ । पप्पुले यो पुल ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा ठेक्का लिएको थियो ।

तर, कम्पनीले आयोजनाले सचेत गराउँदा गराउँदै मापदण्ड र डिजाइन मिचेर काम गरेको थियो । यसका कारण यो पुल पनि निर्माण नसकिँदै भत्काउनुपर्ने अवस्थामा पुग्न सक्ने चेतावनी सडकका अधिकारीले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment