Comments Add Comment

६ वर्षमा साढे ३ सयको आत्महत्या, महिलाको संख्या बढी

Photo Credit : छोरीले आत्महत्या गरेपछि विलौना गर्दै सन्तोषी महतोकी आमा ।

२ जेठ, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका १ बसन्तपुर २१ बर्षका कृष्ण महतोले वैशाख ३१ गते विष सेवन गरे । हाल नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत उनले घरायसी समस्याका कारण विष सेवन गरेको प्रहरीको भनाइ छ ।

त्यसै दिन विष सेवन गरेका वीरगञ्ज महानगरपालिका १६ बसपार्कका ४० बर्षका रामकुमार गुप्ता पनि नारायणी अस्पतालमै उपचाररत छन् । उनले पनि घरायसी समस्याकै कारण विष सेवन गरेका थिए ।

वैशाख २९ गते पर्साको छिपहरमाई गाउँपालिका ३ कि २२ बर्षकी बिन्दीदेवी मुखियाले झुण्डिएर आत्महत्या गरिन् । त्यसको भोलिपल्ट छिपहरमाई गाउँपालिका २ कि २० बर्षकी सन्तोषी महतोले झुण्डिएर आत्महत्या गरिन् ।

पछिल्लो समय घरायसी विवाद, असफल प्रेम सम्बन्धका कारण आत्महत्याको घटना बढिरहेको छ ।

प्रेम सम्बन्धलाई अभिभावकले छुटाउन खोज्ने, विवाहपछि दाइजो लेनदेनको विषयमा खटपट, छोरा नपाएको निहुँमा भएको झगडा, परीक्षामा असफलताका कारणले महिलाहरुले आत्महत्या गरेको देखिएको छ । पुरुषहरुले भने महंगो मोबाइल, मोटरसाइकल जस्ता माग पूरा नभएको, प्रतिस्पर्धाको भावना बोकेर बस्दा, लागुऔषध प्रयोग गर्ने जस्ता कारणले आत्महत्या गर्ने गरेका छन् ।

किन गर्छन् आत्महत्या ?

मानसिक रोग विशेषज्ञ डा. भरत गोइत आत्महत्याको मुख्य कारण डिप्रेशन नै हुने गरेको बताउँछन् । ‘डिप्रेशन भएरै अधिकांश आत्महत्याका घटना घट्ने गरेको पाइन्छ, जसलाई नियन्त्रण गर्न सकिन्छ’ उनी भन्छन् । लागु औषध दुर्व्यसन, मानसिक स्वास्थ्य समस्या, तनाव बढी लिने मानिसहरुले बढी आत्महत्याको प्रयास गरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रत्येक महिना ४/५ वटा आत्महत्याको घटना दर्ता हुने गरेको छ । पर्सामा धेरैजसो झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेहरु बढी छन् । प्रहरीका अनुसार ६ वर्षको बीचमा ३ सय ३५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १ सय ८९ जना महिला र बाँकी पुरुष छन् ।

परिवार स्वास्थ्य विभागले सन् २००९ मा गरेको अध्ययनअनुसार १४ देखि ४९ वर्षका महिलाको अल्पायुमा मृत्यु हुने मुख्य कारणमा आत्महत्या पनि एक हो । प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा ११ जना बालक र १५ जना बालिकाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरविन्द साह महिलाले आत्महत्या गर्नुको मुख्य कारण घरेलु हिंसा नै रहेको छ ।

नयाँ मुलुकी संहिता लागू भएपछि प्रहरीले आत्महत्या गर्न उक्साएको आरोपमा ३ वटा मुद्दा चलाइसकेको छ । प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्मा आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कानुनी कारबाहीमा ल्याउने बताउँछन् । उनले भने ‘कसैले आत्महत्या गर्न उक्साएको रहेछ भने कानुन आर्कषित हुन्छ । त्यसरी आत्महत्या गर्न उक्साउनेलाई हामी कानुनी कारबाही गर्छौ ।’

अपराध संहिताको दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

अधिवक्ता कमलमोहन पोखरेल आत्महत्या भएपछि कसरी, किन, के कारणले आत्महत्या गरियो ? भन्ने अनुसन्धान गर्ने आधार मुलुकी अपराध संहिताले दिएको बताउँछन् । ‘निरन्तरको यातना खप्न नसकेर एउटा महिलाले आत्महत्या गर्नेसम्मको स्थितिमा पुग्दा आत्महत्या गर्न बाध्य बनाउनेहरु शानसँग हिड्ने दिन गएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment