Comments Add Comment

सांसदले भने : राजधानी तोक्ने विषय ‘पञ्चवर्षीय योजना’मा नपारियोस्

२ जेठ, हेटौंडा । प्रदेशसभा ३ मा बिहीबारदेखि प्रदेश राजधानीको विषयमा छलफल सुरु भएको छ । प्रदेश सभाले गत असोजमै राजधानीको सम्भावना अध्ययन गरी प्रतिवेदन बुझाए पनि अहिलेसम्म छलफल हुन सकेको थिएन ।

सम्भाव्यता अध्ययन समितिले प्रतिवेदन बुझाए पनि प्रक्रिया अघि नबढाएको भन्दै प्रतिपक्षी नेपाली कांगे्रसले प्रदेशसभा अवरुद्ध गरेपछि छलफल सुरु भएको हो ।

सांसदहरुले समयसीमा तोकेर राजधानी टुंगो लगाउनुपर्ने धारणा राखे । सांसद रमेश पौडेलले सरकार अझै अस्थायी राजधानीकै मानसिकतामा रहेको भन्दै राजधानी तोक्ने विषय पञ्चवर्षीय योजनामा नपार्न आग्रह गरे ।

सांसद रत्नप्रसाद ढकालले राजधानी टुंग्याए प्रदेश सरकारको कामलाई पनि सहज हुने बताए । सांसद प्रेमबहादुर पुलामीले प्रदेश राजधानीका लागि सात जिल्लासँग सीमा जोडिएको मकवानपुरको विकल्प अन्यत्र नभएको बताए । तर उनले अहिले बजेट ल्याउने बेला भएकाले अन्य विषयमा छलफल गर्न नहुने पनि धारणा राखे ।

सांसद गीता वाग्लेले नेकपाभित्रकै लडाइका कारण राजधानीको बिषय अन्यौलमा रहेको बताइन । उनले मुख्यमन्त्री डोरमणी पौडेललाई असफल बनाउने अभियानमा नेकपाका सांसद आफै रहेको भन्दै दुख ः भो भनेर राजधानी सार्न नहुने तर्क गरिन् ।

सांसद सांसद प्रभात तामाङ, ओमबहादुर घलान, विराजभक्त श्रेष्ठले राजधानी र नामाकरणको बिषयलाई समयमै टुङग्याएर अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ ।

लामो दबाबपछि प्रदेश सभामा प्रतिबेदन पेश भएपनि झण्डै तीन महिनापछि असोज २२ गते मात्र स्थायी राजधानी सम्बन्धी प्रतिवेदन प्रदेश सभा बैठकमा प्रवेश गरेको थियो । प्रदेशसभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।

बजेटको सिद्धान्त र प्राभमिकताबारे छलफल

हेटौंडा–विहिबार नै बसेका प्रदेश सभाको वैठकमा विनियोजन विधेयक, २०७६ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको छ ।

छलफलमा प्रदेशसभा सदस्यहरु ओम ग्लान, कञ्चन खनाल, कल्पना नेपाली, कुसुम कुमार कार्की, कृष्ण प्रसाद भुर्तेल, केशवराज पाण्डे, गणेशप्रसाद दुलाल र गीता वाग्लेले धारणा राखेका छन् । यसअघि बिहीबारकै बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराज जम्मकट्टेलले महालेखा परीक्षकको प्रतिवेदन पेश गरेका थिए ।

आजै भएको प्रदेश सभाको वैठकमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पेश गरेको ‘प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । यस्तै मन्त्री लामाले नै पेश गरेका ‘प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment