Comments Add Comment

भारतमा चुनाव हुँदा नेपालमा गोलभेडा महंगियो, १५० प्रतिशतसम्म मूल्यवृद्धि

२ जेठ, काठमाडौं । भान्सामा अत्यधिक प्रयोग हुने गोलभेडाको मूल्य एकाएक आकासिएको छ । पछिल्लो एक महिनामा मात्र १५० प्रतिशतसम्म मूल्य बढेको छ ।

चैत्र २९ गतेसम्म थोकमा ठूलो गोलभेडा प्रतिकिलो औसत मूल्य ५२ र सानो गोलभेडा ३२ रुपैयाँ थियो । तर २९ वैशाखमा ठूलो गोलभेडा प्रतिकिलो थोक मूल्य १०० रुपैयाँ पुग्यो । यो पछिल्लो दुई वर्षयताकै सबैभन्दा महंगो हो ।

त्यस दिन सानो गोलभेडा प्रतिकेजी ९० रुपैयाँमा कालिमाटी तरकारी बजारमै बिक्री भएको थियो ।

बिहीबार साँझ गोलभेडाको औसत थोक मूल्य ७८ रुपैयाँ पुगेको छ । गोलभेडाको होलसेल मूल्य सय रुपैयाँ हाराहारी पुगेपछि खुद्रा मूल्य झनै आकासिएको छ ।
किराना पसलेहरुले सर्वसाधारणलाई प्रतिकिलो १५० रुपैयाँसम्ममा गोलभेडा बिक्री गरेका छन् ।

एकाएक किन महंगियो ?

अत्यधिक वर्षातका कारण नेपाली गोलभेडा उत्पादन प्रभावित भएको र भारतबाट हुने आयात त्यहाँको चुनावको कारण रोकिएकाले काठमाडौंसहित देशैभर गोलभेडाको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिको दाबी छ ।

भारतको उत्तर प्रदेश र बिहारका बिभिन्न स्थानबाट नेपालमा यो बेला गोलेभेडा लगायतको हरियो तरकारी आयात हुने गरेको कालिमाटी तरकारी बजार समितिले जनाएको छ । तरकारी बजार समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलका अनुसार यो वर्ष गत सिजनमा भन्दा नेपाली गोलभेडाको उत्पादन घटेको छ ।

हावाहुरी तथा अत्यधिक वर्षातका कारण काठमाडौं उपत्यकासहित छिमेकी जिल्लाको गोलभेडा उत्पादनमा ह्रास आएको पौडेलले बताए । भारतबाट नियमित रुपमा हुने आयात पनि त्यहाँको लोकसभा निर्वाचनले प्रभावित बन्दा गोलभेडासहित अन्य तरकारीको मूल्य महंगो बनेको पौडेलले भनाइ छ ।

भारतको आयात केही सहज बनेको खण्डमा मूल्यमा थोरै घटिबढी हुन सक्ने तर नेपाली उत्पादन बजारमा नआई उल्लेख्य गिरावटन नआउने उनले बताए । कालीमाटी बजार क्षेत्रमा कालोबजारी गरेको पाइए कडा कारबाही गर्ने भन्दै पौडेलले खुद्रा पसलहरुमा भएको तेब्बर मूल्यवृद्धि आफूहरुको क्षेत्राधिकारभित्र नपर्ने उल्लेख गरे ।

‘अचाक्ली मंहगोमा गोलभेडा लगायतका तरकारी खुद्रा पसलमा बिक्री भएको सुनेको छु, वाणिज्य विभागबाट अनुगमन हुन जरुरी छ,’ पौडेलले भने । कालीमाटी बजार क्षेत्रमा भने कालोबजारी नभएको उनले दाबी गरे ।

तरकारीको बजार अनुगमन सम्बन्धमा जानकारी लिन वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचन तथा सूचना अधिकारी रघुनाथ महतलाई सम्पर्क गर्ने प्रयास गर्दा दुवैको फोन स्वीच अफ थियो ।

उपभोक्ता अधिकार संरक्षण मञ्चका महासचिव ज्योति बानियाले यो गम्भीर विषय भएको बताउँदै सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा राखे । कृषकले भन्दा विचौलियाका कारण मूल्य बढेको भन्दै उनले खाद्य संस्थान आफैंले तरकारी किनेर सुलभ मूल्यमा बेच्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment