Comments Add Comment

ढुंगा गिटी उत्खननमा जिससलाई टेर्दैनन् स्थानीय तह

३ जेठ, विराटनगर । मोरङको केराबारी गाउँपालिकास्थित खदम खोलामा अबैध रुपमा ढुंगा गिटी उत्खनन भएको पाइएको हो । खदम खोलाको अमजुङ्गी नाकाबाट अबैध उत्खनन भएको पाइएको हो । गाउँपालिका अध्यक्ष रोहित कार्की, तीनवटा वडाका अध्यक्ष क्रसर उद्योगका सेयरधनी छन् ।

यो खोलामा जिल्ला समन्वय समितिको अनुगमन समितिले तोकेको मापदण्डभन्दा बढी ढुंगा गिटी उत्खनन भइरहेको अनुगमन समितिले फेला पारेको छ । अनुगमन समितिले बन्द गरेका नाकाबाट पनि निरन्तर ढुंगा गिटी ओसारपसार भइरहेको छ ।

अनुगमन समितिले चिसाङ खोलाको लेटाङ नगरपालिका खण्डमा पनि अबैध उत्खनन भएको निश्कर्ष निकालेको छ । केराबारीमा १५ फिट भन्दा गहिरो र चिसाङ खोलामा १० फिट भन्दा गहिरो उत्खनन गरेको भेटेको थियो । लेटाङको किर्तिमान, कमलपुर नाकाबाट अबैध उत्खनन गरेको ठेकेदारले जंगल क्षेत्रमा पनि स्काभेटर प्रयोग गरी उत्खनन गरेको अनुगमन समितिले फेला पारेको छ ।

जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रकाश साहले खदम र चिसाङ खोलामा मापदण्ड विपरीत उत्खनन भएको पाइएको बताए । अनुगमन समितिका संयोजक रहेका साहले अनुगमनका आधारमा प्रतिवेदन तयार पर्ने काम भइरहेको बताए । अनुगमन समितिले सुन्दरहरैचाको वन चौरी नाकामा खोलाको सतह मुनिको रातो माटो निस्कने गरी उत्खनन गरेको भेटेको थियो ।

जिसस बन्द गर्ने स्थानीय सरकार खोल्ने

जिल्ला समन्वय समितिले करिब एक महिनाअघि ढुंगा बालुवा निकासी हुने मोरङका १५ वटा नाका बन्द गर्न स्थानीय तहहरुलाई पत्र लेखेको थियो । तोकिएको मात्रा भन्दा बढी उत्खनन भएपछि तत्काल बन्द गर्न समन्वय समितिले पत्र लेखे पनि स्थानीय तहले टेरेनन् ।

स्थानीय तह ठेकेदारको संरक्षणमा लाग्दा जिससको निर्णय कार्यान्यन नभएको अनुगमन समितका एक सदस्यले बताए । बुधवार अनुगमन गर्दा लेटाङ र केरावारीका बन्द गरिएको नाकाबाट निर्वाध रुपमा उत्खनन भएको पाइएको समितिले जनाएको छ ।

वडा अध्यक्ष भन्छन् : त्यस्तो भएको छैन होला

केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले खोला नालाको अनुगमन गर्ने जिम्मेवारी वडा नम्बर ६ का अध्यक्ष उपेन्द्र लुंगेली मगर नेतृत्वको अनुगमन समितिलाई दिएका थिए ।

अध्यक्ष कार्कीले वातावरणीय प्रभाव मुल्याङ्कनमा उल्लेखित भन्दा बढी उत्खनन नभएको बताउछन् । एक सातायता आफू बाहिर रहेकाले उत्खननको विषयमा थप जानकारी नभएको उनले बताए । अनुगमन समितिका संयोजक मगर पनि अबैध उत्खनन नभएको बताउँछन् । बरु ढुंगा बालुवा चोरी भएको उनको जिकिर छ ।

आमजुङ्गी नाका बन्द रहेका कारण अवैध उत्खनन नभएको उनको भनाइ छ । तर बुधवार अनुगमन समितिले सो नाकाबाट उत्खनन गरी ढुंगा गिटी निकालेको पाएको थियो ।

ठेकदारले जिल्लाबाटै पत्र बोकेर आउँछन्

जिल्ला समन्वय समितिले लेटाङको किर्तिमान र कमलपुर नाका बन्द गर्न पहिले नै पत्र पठाएको थियो । तर अनुगमन गर्दा नाकाबाट अबैध उत्खनन गरेको फेला पारेको थियो । समितिले जंगल क्षेत्रबाट अबैध उत्खनन भएको पनि जनाएको छ ।

तर लेटाङ नगरपालिकाका मेयर शंकर राई जिल्ला समन्वय समितिबाट कागज बनाएर आएका कारण जंगल क्षेत्रको उत्खनन रोक्न नसकिएको बताउँछन् । उनले तोकिएको भन्दा बढी उत्खनन नगर्न ठेकेदारलाई भनिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment