Comments Add Comment

पुरानो मेडिकल कलेजलाई कलेजो प्रत्यारोपणको अनुमति

दुई महिनामा प्रत्यारोपणको काम थालिने

५, जेठ, चितवन । चिकित्सा विज्ञानमा जटिल मानिने कलेजो प्रत्यारोपणका लागि चितवनको पुरानो मेडिकल कलेजले अनुमति पाएको छ । स्वास्थ्य सेवा विभागले पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको अस्पतालका चिकित्सक डा. प्रवीण जोशीले जानकारी दिए ।

अहिले सीएमएसमा डा. जोशीकै नेतृत्वमा कलेजो प्रत्यारोपणसम्बन्धी तयारी र व्यवस्थापनको काम भइरहेको छ । डा. जोशीले भने, ‘आजै गरिहाल्ने अवस्था त छैन, केही सामानहरु आउँदैछन्, जनशक्तिलाई पनि तयारी हालतमा राख्ने काम हुँदैछ ।’

कलेजो प्रत्यारोपणका लागि ३० करोडको लगानीमा अलग्गै अप्रेशन थ्रिएटर बन्दैछ । विश्वविख्यात कोरियन विशेषज्ञ टोलीको नेतृत्व, भारतीय विशेषज्ञसमेतको संलग्नतामा प्रत्यारोपणको सुरुवात गरिने अस्पतालको भनाइ छ ।

नेपालमा अहिलेसम्म जम्मा तीन जनाको मात्रै कलेजो प्रत्यारोपण गरिएको छ । तीनवटै प्रत्यारोपणमा डा. जोशी पनि संलग्न थिए । नेपालमा जम्मा ५ जनामात्रै प्रत्यारोपण विषेशज्ञ छन् ।

पुरानो मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि विदेशबाटसमेत चिकित्सकहरु झिकाउने तयारी भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानले जानकारी दिए । न्यौपानेका अनुसार प्रत्यारोपणका लागि करिब ३० देखि ४० जनाको टिम चाहिन्छ ।

प्रत्यारोपणमा कम्तीमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सको आवश्यकता पर्छ । अप्रेशनपछि पनि उतिनै संख्यामा दक्ष जनशक्तिको आवश्यकता रहने डा. जोशीले बताए ।

सीएमएसले यसअघि मृगौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ । चितवनलाई मानव अंग प्रत्यारोपणको हव बनाउन सकिने डा. जोशीले बताए । भारतको दिल्लीमा कलेजो प्रत्यारोपण गर्ने ५० प्रतिशत अस्पतालहरु छन् । त्यसलाई भारतमा प्रत्यारोपणसम्बन्धी हब भनिन्छ ।

प्रत्यारोपण अनुमति पाउने स्वास्थ्य संस्था थपिरहँदा कलेजो प्रत्यारोपणको अवस्थामा सन्तोषजनक सुधार नभएको स्वंय चिकित्सकहरु नै बताउँछन् ।

कलेजो लिने व्यक्तिको दिने व्यक्तिसँग रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट एवम् कानुनले निर्धारण गरेको परिधिभित्रको नाता मेल खान नसक्दा यसमा समस्या देखिएको डा. जोशीको भनाइ छ । एउटा वयस्क व्यक्तिमा कलेजो प्रत्यारोपण गराउँदा दिने व्यक्तिको ६५ प्रतिशत कलेजोको भाग दिनुपर्ने हुन्छ । ठूलो ज्यान भएको व्यक्तिले सानो व्यक्तिलाई दिदा कम प्रतिशत मात्रै दिए पनि पुग्ने डा. प्रविण जोशीले बताए ।

भारतको भर कम गर्न सकिने

नेपालमा कलेजो प्रत्यारोपणलाई प्रभावकारी बनाउन सके भारतमाथिको निर्भरता कम गर्न सकिने पुरानो मेडिकल कलेजका कलेजो प्रत्यारोपण विषेशज्ञ डा. प्रविण जोशी बताउँछन् ।

प्रत्यारोपणमा नेपाल आत्मनिर्भर नहुँदा ठूलो संख्याका बिरामी भारतलगायत विदेशी मुलुकहरूमा महँगो मूल्यमा सेवा लिन बाध्य छन् । भारतबाहेकको तेस्रो देशमा पनि प्रत्यारोपणका लागि जाने गरेको पाइन्छ । नेपालमा कलेजोका रोगीहरुको संख्या यति नै छ भन्न सक्ने अवस्था छैन ।

कलेजो प्रत्यारोपण सेवा नियमित गर्न सकेमा नेपालमा उपचारका लागि धान्न नसक्ने बिरामी आउने विशेषज्ञहरू बताउँछन् । नेपालमा कलेजो प्रत्यारोपणका लागि करिब २५ देखि ३० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ । भारतमा कलेजो प्रत्यारोपण गरेबापत बिरामीले ७० लाखभन्दा बढी खर्च गर्नुपर्ने बताइन्छ । बिरामी कुरुवालगायत अन्य खर्च थप लाग्ने डा. जोशी बताउँछन् ।

युरोप, अमेरिकालगायतका देशमा बे्रन डेथ भएका व्यक्तिहरुको कलेजो प्रत्यारोपण गर्ने चलन अधिक छ भने, दक्षिण एसियामा ज्यूँदो मान्छेबाट नै कलेजो दिएर प्रत्यारोपण गर्ने चलन छ । अंग प्रत्यारोपणका लागि चिकित्सक र संस्था दुवै सूचीकृत भएर अनुमति लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment