Comments Add Comment

रेमिट्यान्समा २० प्रतिशत वृद्धि, ९ महिनामा भित्रियो साढे ६ खर्ब

वैदेशिक रोजगारीमा जानेको संख्या ३९ प्रतिशतले घट्यो

५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशत मात्रैले बढेको थियो । नेपाल राष्ट्र बैंकले ९ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह सुधार भएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो ।

गत वर्षको साउनदेखि चैतसम्मको अवधिमा खुद ट्रान्सफर आय २०.९ प्रतिशतले वृद्धि भई रु.७४६ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले घटेको थियो ।

उता वैदेशिक रोजगारमिा जाने नेपालीको संख्यामा भने गिरावट आएको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो अवधिमा ३९.३ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ६.८ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.१ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment