Comments Add Comment

गौतम बुद्ध र नक्कली इज्जत !

अध्ययन र परिश्रममा बुद्ध खोजौं, मूर्तिमा होइन

गत हप्ता गौतम बुद्धको जन्मजयन्ती मनाइयो । हरेक वैशाख पूर्णिमामा तिनै गौतम बुद्धको जन्म जयन्ती मनाइने गरिन्छ ।

गौतम बुद्धले दरबारका सारा सुख सुविधा त्यागेर हिँडेका थिए । उनले आफ्नी श्रीमती र छोरासमेत त्यागिदिएका थिए । वास्तवमा त्यो कपिलवस्तु दरबारको लागि ठूलो क्षति थियो । राजाको छोरा राजकुमार दरबार, सुखसुविधा, मानप्रतिष्ठा, इज्जत,श्रीमती र छोरा त्यागेर हिँड्नु सामान्य कुरा थिएन । तत्कालीन अवस्थामा दरबारका लागि ठूलो बेइज्जती थियो ।

आज २६ सय वर्षपहिलेको उनको बेइज्जत एउटा ठूलो प्रतिष्ठा, ख्याती र सिंगो मानव जीवनको एउटा मार्गदर्शक सिद्धान्तको रुपमा उपस्थित भएको छ । त्यसैले कोही कसैले महान् उद्देश्यका लागि दरबार, बुवा, आमा, श्रीमती छोरा त्याग्नु केही ठूलो कुरा होइन रहेछ । त्यही कुरा गौतम बुद्धमा लागु भयो ।

तर, वर्तमान समाज नक्कली इज्जतले भरिभराउ भएको छ । त्यही नक्कली इज्जतको खोजीमा मान्छेहरु दुःखी, रोगी, पीडित बनेका छन् । उनीहरु खुशी छैनन् । उनीहरुमा सुख छैन । उनीहरु समस्या नै समस्याको जीवन बाँचिरहेका छन् । गौतम बुद्धको त्याग भने दुःखी, रोगी र पीडित मान्छेले कसरी मुक्ति पाउँछ भन्ने दर्शनको खोजी थियो । जीवन दर्शन मान्छेका लागि ठूलो उपयोगी हुन सक्छ । उनले भनेका थिए, मान्छेलाई दुःख छ, दुःखको कारण छ, दुःख हटाउन सकिन्छ र दुःख हटाउने उपायहरु छन् ।

यो समाजमा नक्कली इज्जतका लागि भ्रष्टाचार, महंगी, व्यभिचार, अन्धविश्वास, दुःखकष्ट सबै भएको छ । नक्कली इज्जतको ऐतिहासिक श्रृंखला छ । नक्कली इज्जतले मान्छेलाई दुःखी मात्रै बनाएको छैन कि समाजमा अपराधहरु बढाएको छ ।बेतिथि बढाएको छ । सिंगो समाज नै नक्कली इज्जतको लागि दौडधुप गरेको देखिन्छ ।

इतिहासदेखि नै समाज नक्कली इज्जतले पीडित थियो । त्यसका केही दृष्टान्तको बारेमा छलफल गरौं । गौतम बुद्धको जयन्ती मनाइसकेका छौं । हामी यसरी मुक्त हुँदै आयौं र अझै मुक्त हुँदै जानुपर्नेछ । तर, हामी जीवनका कैयौं मोडहरुमा आदिम कालमै भएको महसुस हुन्छ । नक्कली इज्जतका लागि यो समाजले यी सारा गर्दै आएको थियो, अझै गरिरहेको छ । तिनीहरुको अध्ययन गर्दै तिनलाई पराजित गर्दै अगाडि बढौं ।

गौतम बुद्ध भौतिकवादी थिए । उनले भगवान मान्दैन थिए । त्यसैले उनलाई स्वर्ग वा नर्क कतै जानु थिएन । बाँचेको जीवन सार्थक बनाउनु थियो । त्यसैले स्वर्ग, नर्क, पाप, पुण्यको नाममा जे जति दुःख मान्छेलाई थिए, ती सबैबाट गौतम बुद्ध मुक्ति चाहन्थे । हामीलाई मुक्ति हुन धेरै काम गर्न बाँकी छ । मान्छेको व्यवहारिक जीवनबाट मुक्ति पाउन प्रयत्न गरौं ।

सती जाने इज्जत

एक सय वर्ष अगाडिसम्म पनि भारतमा र नेपालमा सती जाने प्रचलन कायम थियो । मूलतः राजाहरु मरेपछि रानीहरु सती जाने प्रचलन थियो । पति मरेपछि सती नजाने महिलाहरुको कुनै इज्जत थिएन । उनीहरु स्वर्ग जानको लागि सती जानुपर्दथ्यो । एउटा जवान युवती इज्जत र स्वर्ग जानको लागि सती जानुपर्दथ्यो । आज ती कुरा सुन्दा पनि शरीरमा काँडा उठ्ने गर्दछन् । सतीप्रथा इतिहास भइसकेको छ । त्यो गलत थियो भन्ने कुरा प्रमाणित भइसकेको छ ।

दलितहरुले पढे भने इज्जत जान्थ्यो । इज्जत जाने मात्रै होइन, तिनीहरुको जिब्रो आगोले पोलिन्थ्यो । यहाँ उल्लेख गरिएका इज्जतहरु हजारौं वर्ष पुराना इज्जत पनि होइनन् । एक सय वर्ष वरिपरिका हुन् । यस्तो पाखण्डबाट अगाडि बढेको समाज एकै रातमा क्रान्तिकारी र परिवर्तनशील हुन सक्ने कुरा भएन । तर त्यो नक्कली इज्जतको लागि मान्छेले जीवनलाई अत्यन्तै कष्टकर भएर विताए ।

स्कुल नजानेहरुको पनि इज्जत ?

महिलाहरुलाई स्कुल पठाइँदैनथियो । पठाएमा तिनीहरु विग्रन्छन् र परिवारको इज्जत जान्छ भनेर उनीहरुलाई अन्धकारमा राखिन्थ्यो । त्यो परिवारको ठूलो इज्जत ठानिन्थ्यो ।जुन समाजमा छोरा पढेका र छोरी नपढेका छन्, ती इज्जतिला हुन्थे ।

महिलाहरुलाई अन्धकारमा राखेर आर्जन गरिएका नक्कली इज्जतहरु समयक्रमसंगै ढलेर गए । नक्कली इज्जत सदियौंसम्म रहन सक्ने कुरा भएन । छोरी विहे नहुँदै महिनावारी भइन् भने त्यो घरको इज्जत जान्थ्यो । किनभने छोरीहरुको विहे महिनावारी नहुँदै गरिदिनुपथ्र्याे । त्यो पनि बाबुले जस्तो छान्यो, त्यही मान्छेसँग । त्यो ठूलो इज्जतको कुरा हुन्थ्यो । त्यो नक्कली इज्जत पनि भत्कियो । अहिले कानुनले नै २० वर्ष पुगेपछि विहेको उमेर राखिदिएपछि त्यसभन्दा तल्लो उमेरमा विहे गराइदिने अभिभावक जेल जान्छन् । परिस्थिति उल्टियो । इज्जतिला कामहरु अपराधिक कार्यमा परिणत भए । छोरी स्कुल नपठाउने अभिभावकलाई सरकारी सुविधा रोक्का राखेर स्थानीय तहहरुले सजाय दिने गरेका छन् ।

बिहेको नक्कली इज्जत

हजारौं वर्षदेखि छोरीहरुले आफूले मन पराएको केटासंग विहे गर्न पाएनन् । जब स्कुल, कलेजहरु खुले, उनीहरु बुझ्दै जान थाले ।आत्मनिर्भर बन्दै जान थाले । अब उनीहरुले मन पराएका केटासंग विहे गर्न थाले । त्यसपछि ती कुल खानदानीको इज्जत जान थाल्यो । कुरा त्यतिमा मात्रै सीमित छैन, कुनै दलित वा गैरदलित केटा वा केटीले आफू भन्दा फरक जातको केटा वा केटीसंग विहे गर्ने हो भने पनि समाजमा ठूलो इज्जत जान्छ ।

एक प्रकारले भन्ने हो भने उसको परिवारको इज्जत माटोमा मिल्छ । प्रेम गर्न र मन पराउन समेत नदिने समाज भत्काउने लाखौं युवाहरु तयार भएर बसेका छन् । यो समाज अझै धेरै भत्काउनुपर्दछ ।

सम्बन्धविच्छेदको नक्कली इज्जत

कुनै महिलाले सम्बन्धविच्छेद गर्ने हो भने यो समाजले उनलाई घृणाको नजरले हेर्छ । कुनै पुरुषले रातदिन कुट्दा इज्जतिलो हुने । लोग्नेस्वास्नीबीच आपसमा प्रेम नहुँदा इज्जतिलो ठहर्ने, तर सम्बन्धविच्छेद गर्दा इज्जत जाने जुन चलन छ, यसले धेरै महिला तथा पुरुषहरुलाई पीडा दिएको छ । सम्बन्ध विच्छेद गर्न नमानेको कारण कैयौं हिंसाहरु भएका छन् । श्रीमतीले श्रीमान्लाई वा श्रीमान्ले श्रीमतीलाई मारेका धेरै घटनाहरु सार्वजनिक भएका छन् । दिनहुँ कुटपिट, झगडा गर्ने श्रीमान् श्रीमतीलाई संगै राखिदिनु भन्दा छुट्याइदिनुपर्छ भन्ने यो समाजले सोच्दैन । जसरी पनि मिल्नैपर्छ, संगै बस्नैपर्छ भन्ने दबाबका कारण परिवारमा हिंसात्मक वातावरणको सिर्जना भइरहेको छ ।

चिन्दै नचिनेको मान्छेसंग जबर्जस्ती विहे गर्नुपर्ने, मन परेन, माया भएन भने छुट्टिन पनि नपाइने । परिवार वा समाजको नक्कली इज्जतको लागि दिन रात आफू जलिरहनुपर्ने । कुनै प्रेमको घरमा होइन कि प्रेमविहीन नर्कमा बसेर हजारौं जोडीहरुले जीवन गुजारिरहेका छन् । प्रेम भनेको जबर्जस्त हुने कुरा होइन । अरुको सामु खुशी देखिनुपर्ने, अरुको लागि सुखी देखिनुपर्ने आडम्बरयुक्त नक्कली इज्जतले धेरै महिलापुरुष जिउँदै मरिरहेका छन् । उनीहरुले मृत्युको जीवन बाँचिरहेका छन् । नक्कली इज्जतको लागि यो अभिनय गर्नुपरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बन्ध विच्छेद गरेर दोस्रो विहे गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सम्बन्धविच्छेद गरेर तेस्रो विहे गरेका छन् । दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाले ७५ वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेका थिए । नेपाली समाजमा अहिले पनि ६०/६५ वर्षमा सम्बन्धविच्छेद गर्नेहरु भेटिएका छन् । तिनीहरुलाई समाजले हेयको दृष्टिकोणले हेरिरहेको छ । समाजमा रहेको नक्कली इज्जतको लागि आफूलाई लजाएर बाँचिरहेकाहरुको हिसाव निकाल्न सजिलो छैन ।

डाक्टर, वकिलको नक्कली इज्जत

यो समाजमा सबैभन्दा इज्जतिलो पेशा भनेको डाक्टरको हो भन्ने मानिन्छ । त्यसपछि वकिल, पाइलट यस्तै यस्तै आउँछन् । प्राध्यापक, शिक्षकलाई त्यति इज्जतिलो मानिंदैन । मजदुर र कृषकलाई त इज्जत नभएको पेशाको रुपमा लिइन्छ । डाक्टर पढ्नको लागि मरिहत्ते गरिरहेका भेटिन्छन् । १ करोड सम्म खर्च गरेर पढ्नेहरु पनि छन् । त्यही इज्जतको लागि विदेशबाट नक्कली सर्टिफिकेट लिएर आउनेहरु पनि छन् । तर अहिले नेपाल मेडिकल काउन्सीलले लाइसेन्सको परीक्षामा कडाई गरेपछि डाक्टर पढेर आएका तर उतीर्ण हुन नसकेपछि इज्जत डामाडोल भएकाहरु पनि छन् । तर उनीहरुको इज्जत डामाडोल भएको होइन, उनीहरुले पास गर्न सकेनन् । मेडिकल काउन्सीलको परीक्षा पास गर्नै नसकेको अवस्थामा उनीहरुले आफ्नो पेशा परिवर्तन गर्नुपर्दछ । तर समाजले त्यसलाई गलत अर्थमा बुझिदिन्छ । फलतः एमबीबीएस पास गरेकाहरु डिप्रेसनको सिकार भएका हुन्छन् ।

डाक्टर भएका त भइहाले । तर डाक्टर हुनको लागि प्रयत्न गरिरहेका हजारौं विद्यार्थीलाई केही गर्न नसकेको, फलानोको छोरा वा छोरीले यसरी पढे, मेरा छोराछोरीको यो चाल भनेर उनीहरुलाई होच्याइन्छ । फलतः उनीहरुले जीवनलाई सार्थक होइन, निरर्थक ठान्छन् ।

नक्कली इज्जतले निम्त्याएको संकट

मजदुर, किसान, वकिल, डाक्टर, शिक्षक, प्राध्यापक वा सबैको समान इज्जत हुनुपर्ने हो । तर समाजले इज्जतको विभाजन गरिदिएको छ । त्यसैले समाजले त्यो इज्जत प्राप्तिका लागि आफ्नो इज्जत जाने डरमा आज समाजमा हजारौं हजार व्यक्तिहरु मानसिक रोगको सिकार भएर बसेका छन् । धेरै पढेका मान्छेहरुले मजदुर वा शारीरिक परिश्रमको कामलाई सानो देख्दा उनीहरुमा जागिर नपाएको कारण मानसिक रोगीको सिकार बनेका हुन्छन् । जब कोही कसैबाट बढी भन्दा बढी अपेक्षा गरिन्छ, आफूले गरेको श्रमप्रति विश्वास गरिंदैन, समाजले मानक बनाएका कथित इज्जत, मान, प्रतिष्ठका पछि मात्रै लागिन्छ भने त्यसले निम्त्याउने भनेको मानसिक रोग र मानवीय क्षति नै हो । मान्छेले आफ्नै कारणले आफैलाई क्षति पुर्‍याइरहेको छ । त्यसले ठूलो संकट निम्त्याएको छ ।

अध्ययन र परिश्रममा बुद्ध खोजौं, मूर्तिमा होइन

गौतम बुद्धले मान्छेको जीवनलाई फेर्नको लागि हिंडेका थिए । उनले आफ्नो जीवनकाल भरी मान्छेको सुखको लागि आफूलाई समर्पित गरे । तर अहिले मान्छेहरु आफ्नो खुशी र सुखको लागि आफैलाई समर्पित गर्न सकेका छैनन् । उनीहरुमा जरा गाड्दै गएको अहंकार, रिस, डाह, इश्र्या, मान, प्रतिष्ठाले आफैंलाई जलाइरहेको छ । त्यो मान्छेले थाहै पाइरहेको छैन ।

हरेक मान्छेले आफैले गरेर खाने अवस्थामा छ भने र अरु कोही कसैबाट कुनै अपेक्षा राखेको छैन भने उसलाई मानसिक रोगीको अवस्थामा पुग्नु पर्दैन । जीवन जीउने कला सिक्ने, अरुप्रति घृणा नगर्ने, संसारलाई बुझ्ने प्रयत्न गर्ने, सबैलाई समान ढंगले हेर्न सक्ने, अन्याय र अत्याचारको विरोध गर्ने, अन्यायमा परेकाहरुलाई न्याय दिने, सबै मानव समान ढंगले बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यमा हिंड्ने हो भने नक्कली इज्जतको कारणले कोही दुःखी हुनुपर्दैन ।

यो पृथ्वीमा जन्म लिनु नै ठूलो कुरा हो । जीवनलाई कसरी सार्थक बनाउने भन्ने कुरामा गौतम बुद्धको जीवनी र उनको दर्शनबाट धेरै ठूलो शिक्षा लिन सकिन्छ । तर, मान्छेहरु गौतम बुद्धको दर्शनबाट शिक्षा लिइरहेका छैनन् कि उनको मूर्ति बनाएर पूजा गर्ने र उनैलाई भगवान मानेर आफ्नो जीवनलाई निरर्थक बनाइरहेका छन् । जुन कुरा गौतम बुद्धको दर्शनको विपरीत छ ।

भौतिकवादी बनौं, जीवन र जगतलाई बुझौं । खुशी र सुख आफैसित छ भन्ने कुरा बोध गरौं ।

(पोखरेल अखिल छैठौंका केन्द्रीय अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment