Comments Add Comment

जुम्ला जग्गा प्रकरण : ११ जनालाई ७ दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन

अख्तियारका प्रवक्ता भन्छन्- यी अन्तिम चरणका कारबाही हुन्

८ जेठ, काठमाडौं । जुम्लाको गुठिचौरस्थित राष्ट्रिय भेंडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा हिनामिना प्रकरणमा मुछिएका ११ जनालाई सात दिनभित्र उपस्थित हुन अख्तियारले निर्देशन दिएको छ ।

अख्तियारले गुठीचौरको ५९० रोपनी जग्गा अतिक्रमणबारे छानबिन प्रक्रिया जारी राख्दै ११ जनालाई ७ दिनभित्र काठमाडौं बोलाएको हो ।

तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले आफ्नी पत्नी र छोरीसहित नातागोताका नाममा ५९० रोपनी सरकारी जग्गा पास गराएका थिए । जसको खुलासा अनलाइनखबरले गरेको थियो ।

यो पनि पढ्नुहोस ५९० रोपनी सरकारी जग्गा मालपोत अधिकृतका परिवारको नाममा दर्ता

तर, अख्तियारको सातदिने सूचनामा तत्कालीन मालपोत अधिकृत न्यौपानेको नाम भने छैन ।

अख्तियारले उनकी श्रीमती गोमा न्यौपाने, छोरी पार्वती न्यौपाने, कविदत्त न्यौपाने, केशवराज न्यौपाने, नवऋषी न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, विष्णुऋषी शर्मा न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायालाल न्यौपाने र जानकीदत्त देवकोटालाई सात दिनभित्र अख्तियारमा हाजिर हुन भनेको छ । जानकीदत्त गुठिचौर गाउँपालिका-५ का बासिन्दा हुन् भने अरु सबै वडा नम्बर ४ का हुन् ।

अख्तियारले उनीहरु सात दिनभित्र हाजिर नभए ‘कानुनबमोजिम हुने’ चेतावनी पनि दिएको छ ।

केही व्यक्ति पक्राउ, कारबाही अन्तिम चरणमा

जुम्लाको साविक गुठिचौर गाविस-६ को कित्ता नम्बर ३ को ५९० रोपनी अर्थात् करिब ४५ बिघा सरकारी जग्गा न्यौपानेले आफन्तको नाममा पास गराएको उजुरी ०७३ सालमा अख्तियारमा परेको थियो । न्यौपाने हाल सेवा निवृत्त भइसकेका छन् ।

अख्तियारले गुठिचौरको जग्गा प्रकरणमा मुछिएका केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुठिचौर जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए । सहसचिव कोइरालाले अनलाइनखबरसँग भने, ‘जुम्लाको सरकारी जग्गा हिनामिनाको विषयलाई अख्तियारले प्राथमिकतामा राखेको छ । यी अन्तिम चरणका कारबाही हुन् ।’

यो पनि पढ्नुहोस जुम्ला र बालुवाटारको सरकारी जग्गा कब्जामा सुक्ष्म अनुसन्धान जारी : अख्तियार प्रमुख घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment