Comments Add Comment

पाँचथर हत्याकाण्डको सत्य तथ्य छिट्टै ल्याउँछौं : गृहमन्त्री थापा

८ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै थापाले घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको र प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

‘घटना दुखद, विभत्स प्रकृतिको छ, यस किसिमका घटना रोक्न प्रहरी र गृहबाट सक्दो प्रयत्न गरिरहेका छौं’ उनले भने ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । सो नांै जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

यो पनि पढ्नुहोस विभत्स अपराध ! ससुरालीको बंश मासेर ‘डिभोर्स’को बदला ?

हत्या गरिएका ९ जना र आत्महत्या गरेका एक जनाको शव पोष्टमार्टमका लागि धरान लगिएको छ ।

गृहमन्त्री थापाले भविष्यमा यस खालको घटना हुन नदिन सजगता अनपाइने पनि बताए । अहिले हत्याकाण्ड भएको गाउँ मिक्लाजुङ गाउँपालिका १ आरुबोटेमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेको पनि उनले जानकारी दिए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले घटना पारिवारिक कलहका कारण भएको बताए । तर यस विषयमा प्रहरीलाई पूर्व जानकारी नरहेकाले घटना रोक्न नसकिएको प्रष्टिकरण पनि दिए ।

‘उक्त घटना विवाह, पारिवारिक सम्बन्धसित सम्बन्धित छ । पहिलादेखि कलह थियो भन्ने कुरा आएको छ । तर पहिला जानकारी नभएकाले प्रहरीले सतर्कता अपनाउन नसकेको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment