Comments Add Comment

लुम्बिनीमा ४६ हजार विरुवा रोपिने

८ वैशाख, बुटवल । लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार विरुवा रोपिने भएको छ । भैरहवा-लुम्बिनी-तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्ति स्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको हो ।

मंगलबार लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजना भित्र ४६ हजार ५ सय विरुवा रोप्ने सहमति भएको हो ।

सडक सुधारका क्रममा रुपन्देही जिल्लाभित्र १९०८ वटा रुख काटिएकोमा त्यसको २५ गुणा बढी विरुवा रोप्नुपर्ने वन ऐनको प्रावधान अनुसार रुपन्देही जिल्लामा कुल ४७ हजार ७०० विरुवा रोप्नुपर्ने छ । जसमध्ये सडक किनारमा ११८२ र बाँकी ४६५१८ विरुवा लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रोपिनेछ ।

लुम्बिनी गुरुयोजना भित्रको वृक्षारोपण कार्यलाई वातावरणीय, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्वको संरक्षित वृक्षारोपणको रुपमा लिने वृक्षारोपण कार्यविधिमा उल्लेख गरिएको छ ।

वृक्षारोपण कार्यक्रममा विशेषगरी फलफूलका विरुवा रोपिने लुम्बिनी विकास कोषले जनाएको छ । आँप, लिचि, कदम्ब, कल्की, अमला, सिमल, वर, पीपल, बेल, इमली, बडहर, नीम, जामुन, अमलतास, काभ्रो लगायतका विरुवा रोपिने र यसबाट मानिसलगायत जंगली जीवजन्तु, चराचुरुङ्गी समेतले आहारा प्राप्त गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए ।

भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाका निर्माण व्यवसायीको ठेक्कापट्टामा उल्लेख भए अनुसारको रकम उपयोग गरी रुपन्देही वन कार्यालयसँगको समन्वयमा लुम्बिनी विकास कोषले वृक्षारोपण, स्याहार सम्भार र रेखदेख लगायतका काम सम्पन्न गर्नेछ ।

वृक्षारोपण पछि हुर्किएका विरुवालाई भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाको तर्फबाट रुपन्देही वन कार्यालयलाई हस्तान्तरण गरिनेछ । त्यस पश्चात आवश्यक प्रकृया पूरा गरी वन कार्यालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment