Comments Add Comment

बारपाकका अध्यक्ष भन्छन् : बेहालबाट उठ्यौं, अब फड्को हान्छौं

८ जेठ, पोखरा । २०७२ सालको भूकम्पले थिलथिल्याएको जमिन उस्तै थियो । बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ढलाएको घर पुनर्निर्माण सुरु हुन सकेको थिएन । तर, स्थानीय तहको निर्वाचनले छपक्कै छोपिसकेको थियो ।

भूकम्पकै मुख्य केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षतका एक उम्मेदवार थिए, विष्णुप्रसाद भट्ट ।

तत्कालीन माओवादीबाट उम्मेदवारी दिएका भट्टले मतदाताको मन जित्न आश्वासनका पोका फ्याँके । भूकम्पले लगाएको घाउमा मल्हम लगाउने बाचा गरे । गाउँपालिकाभरि ७ हजार १ सय ८१ घर भूकम्पले भत्काएका थिए । ढलेका ती घर ठड्याउँदै समृद्ध बारपाक सुलिकोट गाउँपालिका बनाउने भट्टले प्रतिवद्धता व्यक्त गरे । बारपाक सुलिकोटका जनताले पत्याए । अहिले भट्टले गाउँपालिकाको जिम्मेवारी सम्हालेको २ वर्ष पुगेर ३ वर्ष लागिसकेको छ ।

२ वर्षमा गाउँ सरकारका प्रमुखले जनताका घाउमा कति मल्हम लगाए ? भूकम्पले थिचेका आशा र भरोसालाई कति जगाए ? कति विकास निर्माणका काम गरे त ? गाउँपालिका अध्यक्ष भट्ट भन्छन्, ‘बेहाल थियौं, उठेका छौं । अब फड्को मार्छौं ।’

साविकका ७ गाविस समेटिएर ८ वडा बनेको गाउँपालिकाले २ वर्षको अवधिलाई सघंर्ष र जग निर्माण गर्दै विकासको सुरुआत मानेको छ । ‘भूकम्पले बेहाल बनाएको थियो । कर्मचारी, कार्यालय थिएन । जनताका आशा र अपेक्षा धेरै थिए,’ गाउँपालिका अध्यक्ष भट्टले मतदातासामु भने, ‘काम गर्न साह्रै गाह्रो रहेछ, र पनि हामीले थुप्रै काम गरेका छौं ।’

भूकम्पपछिको पुनर्निर्माणमा देशमै उत्कृष्ट भएको बारपाक सुलिकोटमा ९० प्रतिशत घर बनिसकेका छन् ।

ठूला डाँडा र पहाडी भूभाग रहेको बारपाक सुलिकोटान अझै सडक, टेलिफोन, बिजुली, स्वास्थ्य, शिक्षाका समस्या छन् । तर, भौगोलिक जटिलताका बाबजुद संरचना निर्माण, कानुन र विकासको जग बसाल्न सकेको गाउँपालिका अध्यक्ष भट्ट र उपाध्यक्ष सनमाया गुरुङको दावी छ ।

‘एउटा सानो कोठा र १ जनामा कर्मचारी थिए । शिक्षा, स्वास्थ्य, कृषि पनि स्थानीय तहमै आए । त्यहाँ पनि जनशक्तिको उस्तै अभाव रह्यो,’ अध्यक्ष भट्ट भन्छन्, ‘१४ वटा कानुन बनायौं । गाउँपालिकाको आफ्नै भवन निर्माण गर्दैछौं । बाटो, खानेपानी, कृषि, भौतिक पूर्वाधार निर्माणको कम भएकै छन् ।’

गाउँपालिकाले यो आर्थिक वर्षमा ४४ करोड रुपैयाँ बजेटमा झन्डै २४ करोड रुपैयाँ खर्च गरेको छ । बजेट खर्च गर्ने काममा उल्लेख्य नभए पनि प्रशासनिक तथा नीतिगत कामले गति लिएको गाउँपालिकाको दाबी छ ।

बारपाकको नयाँ मापदण्ड, सडक बिस्तार

भूकम्पपछि अव्यवस्थित र असमान किसिमका घरका मोडलमा बारपाक उभिएको छ । कुनै घर आरसीसी गरिएका र अग्ला छन् भने कुनै कच्ची र होंचा छन् । जसका कारण बारपाकको मौलिकता हराएको छ ।

भूकम्पको पुनर्निर्माणको मोडर एउटै बनाउन नसक्दा र प्रक्रियासमेत लामो हुने भएपछि लाहुरेहरुको गाउँ बारपाकमा आफुखुसी घर ठडिए । अब भने बारपाकमा पर्यटकीय मापदण्ड तयार हुने भएको छ । अब बारपाक गाउँको समग्र संरचना पुनर्निर्माको पर्यटकीय मापदण्डअनुसार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष भट्टको दाबी छ ।

गाउँपालिका केन्द्र ताकुकोटमा छ । तर, गाउँपालिकामा सेवाग्राहीले सजिलै सेवा पाउने गतिलो भवन छैन । गाउँपालिका केन्द्र राख्न हुँडीफाँट र ताकुकोटमा ५० रोपनी जग्गा प्राप्त भइसकेको छ । १० कोठे भवन निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।

गाउँपालिकाको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘एउटा सानो कोठा र १ जनामा कर्मचारी थिए । शिक्षा, स्वास्थ्य, कृषि पनि स्थानीय तहमै आए । त्यहाँ पनि जनशक्तिको उस्तै अभाव रह्यो,’ अध्यक्ष भट्ट भन्छन्, ‘१४ वटा कानुन बनायौं । गाउँपालिकाको आफ्नै भवन निर्माण गर्दैछौं ।

गाउँपालिकाले सडक बिस्तार, स्तरोन्नति र कालोपत्रेको कामलाई पनि अगाडि बढाइरहेको छ । घ्याम्पेसाल–बारपाक सडकको बीचमा यातायात रोकिने अवस्था आएपछि झन्डै ९ किलोमिटर सडक कात्रोपत्रे भइरहेको गाउँपालिका अध्यक्ष भट्टको भनाइ छ ।

शिक्षाका कर्मचारी छैनन्

भूकम्पले भत्काएका सबै ठाउँमा निजी, सार्वजनिक तथा सरकारी नयाँ संरचना बनिरहेका छन् । भूकम्पपछि जीर्ण विद्यालय पक्की बनेका छन् । गोरखाका अधिकांश विद्यालय दाताले बनाइदिएका छन् ।

सुलीकोट बारपाकका ४८ विद्यालयमा पक्की भवन बनिरहेका छन् । एउटा विद्यालयको भवन निर्माणको चरणमा छ । त्यसमध्ये सबैजसो विद्यालय दाताले बनाइदिएका छन् । गाउँपालिकामा अहिले शिक्षाका कर्मचारी नै छैनन् । जसका कारण शिक्षाका लागि छुट्याइएको करिब १३ करोड रुपैयाँ खर्च नै हुन सकेको छैन ।

कर्मचारी नै नआउँदा शिक्षाको बजेट खर्च नै अन्योलमा छ भने विद्यालयका काम पनि प्रभावित भएका छन् । गाउँपालिकाले ‘प्लस टु’लाई पनि अनुदानमार्फत निशुल्क बनाउने तयारी थालेको छ भने प्राविधिक शिक्षालय खोल्न जग्गाको खोजि गरिरहेको छ ।

सबै वडामा एम्बुलेन्स, सुत्केरीलाई थप १ हजार

बारपाक सुलिकोट गाउँपालिकाका सबै वडामा एम्बुलेन्स सुविधा छ । ८ वडालाई सेवा दिने गरी ५ वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँपालिका, स्थानीयको आर्थिक संकलन र दातामार्फत सबै वडामा एम्बुलेन्स सेवा उपलब्ध गराइएको हो ।

गाउँपालिकामा १५ सैय्याको अस्पताल निर्माण गर्न जग्गा प्राप्ति भइसकेको र अध्ययन भएर प्रक्रिया अगाडि बढेको हो ।

गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी गराउनेलाई गाउँपालिकाले थप १ हजार रुपैयाँ थपेर दिने गरेको छ । गाउँपालिकाको स्वास्थ्य चौकीमा प्रयोगशाला सुविधा पनि सुरु भएको छ ।

गाउँपालिकाले सबै वडाका घरघरमा खानेपानी पुर्‍याउने लक्ष्य लिएकोमा ६० प्रतिशत काम सकिसकेको बताएको छ । गाउँपालिकाको केन्द्रमा सुविधा सम्पन्न लाइब्रेरी र सौरपानीमा इलाइब्रेरी निर्माण भइरहेको छ ।

उपाध्यक्षको नेतृत्वमा हुने न्यायिक समितिले न्याय दिलाउन नयाँ अभ्यासमा गाउँपालिका छन् । बारपाकको न्यायिक समितिले ३६ वटा मुद्दामध्ये २४ मा मेलमिलाप गराएको छ भने १० न्यायिक प्रक्रियामा छन् ।

सडकमा पैसा बग्छ, गाडी गुड्दैन

सडकमा वर्षेनी करोडौं रुपैयाँ खर्च हुने तर दिगो नहुनेतर्फ स्थानीयले गाउँपालिकालाई सचेत गराएको छ । ‘बरु एक वर्षमा केही सडकलाई मात्रै ध्यान दिऔं । लगानी केन्द्रित गरौं र त्यसलाई सम्पन्न नै गरौं,’ सुजन गुरुङले भने, ‘सबै सडकमा चुपुर–चुपुर लगानी गर्ने र अर्को याममा गाडी नचल्ने नबनाऔं ।’

गाउँगाउँमा सडक पुगे पनि बर्खामा नचल्ने मनबहादुर घलेको गुनासो छ । ‘हिँउदमा धुलाम्मे, बर्खामा हिलाम्मे भएर सडकमा हिँडिसक्नु हुँदैन,’ घलेले भने, ‘यस्तो गर्नुभन्दा बरु हामी २/४ वर्ष खाली खुट्टै हिँडौंला । तर, काम सक्दै जाने गरी लगानी गरौं ।’

टुक्रे योजनाको अन्त्य गरौं : प्रदेश मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले टुक्रे, खुद्रे योजनामा रकम विनियोजन नगर्न सुझाव दिएका छन् । २५ वर्षअघि खनिएका सडक पनि अहिले उस्तै हिलाम्मे, धुलाम्मे रहेको भन्दै उनले भने ‘अब प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक पिच नै हुने गरी काम हुँदैछ । साना–साना होइन हामी सम्पन्न नै हुने गरी बजेट हाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment