+
+
Shares

सगरमाथाको वास्तविक उचाई ६ महिनाभित्र

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते १३:५१

१० जेठ, काठमाडौं । सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली काठमाडौं फर्किएको छ ।

सगरमाथाको उचाई नाप्न सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमा स्वागत गरिन् । उनले ६ महिनाभित्र नेपाल आफै‌ंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताइन् ।

सगरमाथा नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको टोली चैत ३ गते सगरमाथातर्फ प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुभकामना लिएर पुगेको टोलीलाई वैशाख २८ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प) मै पुगेर बिदाई गरेकी थिइन् ।

चुचुरोमा १ घण्टा १६ मिनेट

सगरमाथा नाप्न गएको टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले एकदमै कष्टपूर्ण तरिकाले काम सम्पन्न गरेर फर्किएको जानकारी दिए । उनले आफूहरु १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा बिताएको जानकारी दिए ।

‘हामीले अव्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, यो गाह्रो काम थियो’ संयोजक गौतमले भने ।

बेलैमा उद्दार नभएको भए ज्यानै ज्यान गुमउने सम्भावना रहेको बताए । उनले आफूले यस अघि पनि सगरमाथाको आरोरण गरिसकेको भए पनि धेरै गाह्रो भएको बताए । उनले भने, ‘निजामती कर्मचारीहरुमा उपसचिवस्तरको दोस्रो पटक आरोहण गर्ने कर्मचारी म नै हुँ, तर नाप्नु र आरोहण गर्नुमा धेरै फरक रहेछ ।’

टोलीलाई लिएर गएका गाइड छिरिङ शेर्पाले ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको बताए । टोलीमा सहभागी एक जनाको अक्शिजन सकिएका कारण धेरै समस्या परेको उनले बताए ।

‘रवीन सरको (टोलीका सदस्य) को फर्किदा अक्सिजन सकिएछ, साह्रै तनाव भएको थियो, धन्न एक जना चिनेको साथी बाटोमा भेटेर सहयोग गर्नुभयो’ उनले भने, ‘त्यहाँ मृत्यु हुने धेरै अक्सिजनको कारण हुनसक्छ, मलाई डर लागेको थियो तर केही हुन पाएन ।’

टोलीमा विभागका प्रमुख नापी अधिकृत गौतम र नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल लगायतका सहभागी थिए ।
मन्त्री अर्यालले फर्किएपछि अब प्राविधिक काम अगाडि बढ्ने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?