Comments Add Comment

संसदीय समितिले सक्कली र नक्कली मसला छुट्ट्याउन सकेन

१० जेठ, काठमाडौं । बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेन ।

नक्कली मसलाको टुङ्गो लगाएर सम्बन्धित निकायलाई कारवाहीको निर्देशन दिन आज बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकले सक्कली र नक्कली मसालको भेउ पाउन नसकेपछि समितिनै अलमलमा परेको छ । सक्कली मसला पहिचान गर्ने र नक्कली मसलाको आयातकर्तालाई कारवाही गर्ने उद्देश्यले समितिको बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, उद्योग सचिव, भन्सार विभागका महानिर्देशकलाई बोलाइएको थियो ।

बिएमसीको नाममा भेटिएको दुई मसलाको प्याकेट झण्डै दुरुस्तै थियो । मसलामा प्रयोग भएका तत्वका नाम एउटै र परिणाम एकै थिए । प्याकेट भने झट्ट हेर्दा उस्तै देखिए पनि गहिरिएर हेर्दा मात्र फरक देखिन्थ्यो ।

बिएमसी मसला सक्कली की नक्कली भनेर छुट्ट्याउन मन्त्री, सचिव, सांसद् निकैबेर घोत्लिएर पनि समिति निष्कर्षमा पुग्न सकेन । छलफलमा सहभागी हुने कोही सांसदले नक्कली मसलाको भन्सार जाँचपास गरेको भन्दै भन्सारतर्फ प्रश्न तेस्र्याए भने कतिले मसलाको गुणस्तर जाँच गरिनुपर्ने बताए ।

त्यस्तै केही सांसदले भने सक्कली बिएमसी मसालको आयातकर्ताले कारोवार कम देखाउन भन्सार छली गरेर नक्कली मसला भित्र्याएको हुनसक्ने आशङ्कासमेत गरे । बैठकमा केही सांसदले मसलामा मिसावट भएको छ भनेर आफूले मसलाको प्रयोग नै बन्द गरेको सुनाउनसमेत भ्याए ।

समितिमा उजूरी परेकै भरमा अलमल, अस्पष्टताकाबीच बैठकमा बोलाएको भन्दै उद्योगमन्त्री मातृका यादवले रोष प्रकट गरे । मन्त्री यादवले नक्कली मसला बजारमा देखिएको बारे सम्बन्धित निकायमा उजूरी आउनुपर्ने बताए ।

मसला नक्कली भएको भन्नेमा मन्त्रालयमा कुनै उजूरी नपरेको उनको भनाइ थियो । मन्त्री यादवले भन्छन्, कुन मसला नक्कली र सक्कली हो र कुन घातक छ भन्न सक्नुहुन्छ ? बिना प्रमाण कोही बोल्न हुदैन ।

खाद्य पदार्थमा हुने मिसावट रोक्न सरकार गम्भीर रहेको उनले बताए । सांसद कृष्णबहादुर श्रेष्ठले तत्कालै उक्त मसलाको गुणस्तर छानबिन गर्न खाद्य प्रयोगशालामा पठाइनुपर्ने जोड दिए । सांसद अमृतादेवी अग्रहरीले दैनिक उपभोग्य सामग्रीमा मिसावट भएको जनगुनासो व्यापक आएको उल्लेख गर्दै अखाद्य वस्तु बजारमा आउन नदिन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताइन् ।

छलफलमा भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालले नक्कली मसलाको आधिकारिकता जाँच गर्न तत्कालै सबै भन्सार कार्यालयलाई परिपत्र गर्ने उल्लेख गर्दै केही दिनभित्रै समितिलाई जानकारी गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment