Comments Add Comment

किन मान्छेले अरुको चाकडी गर्छ ?

हाम्रो समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी-संस्कारलाई गोडमेल गरिरहेका छन् ।

जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । हुँदा-हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ ।

चाकडी संस्कार कतिसम्म मौलाएको छ भने, कुनैपनि कामको लागि विधी वा प्रक्रिया पुर्‍याएर पनि चाकडी गरिएन भने आफ्नो काम फत्ते हुँदैन । चाकडी गर्नैपर्छ ।

जबकी यो संस्कार आफैमा दुषित र हानिकारक हो । चाकडी-प्रवृत्तिले समाजमा राम्रा, दक्ष, सिपालु, इमान्दार मान्छेहरु पछाडि पर्छन् । धूर्त, चतुर चाकडीबाजले हुर्कने अनुकुलता पाउँछन् ।

चाकडी संस्कृतिले नेपाली राजनीतिलाई बढी गाँजेको छ । नेता-मन्त्रीको चाकडी नगरी केहीपनि हुन्न भन्ने मानसिकता व्याप्त छ । सही काम गर्न र गराउन पनि नेता-मन्त्रीको चाकडी गर्नैपर्ने वाध्यत्मक अवस्था छ ।

त्यस्तै कुनैपनि सरकारी कामकाज गराउनका लागि पनि चाकडी गर्नुपर्ने संस्कार छ । चाकडी गरेकै भरमा आफ्नो काम फत्ते हुन्छ भन्ने मानसिकताले यस्तो प्रवृत्ति मौलाउदै गएको पनि छ ।

चाकडीबाजको कला

चाकडी गर्नेहरुको सबैभन्दा ठूलो कला भनेको उनीहरु कसैको अगाडि हदैसम्म निहुरिएर स्तुती गान गाइरहन सक्छन् । तबसम्म उनीहरु स्तुती गान गाइरहन्छन्, जबसम्म उनको अघिल्तिर उभिएका व्यक्ति पग्लदैनन् । आफ्नो काम वा स्वार्थ पुरा गराउनका लागि उनीहरु आफुलाई जतिसुकै सानो बनाउन पनि पछि पर्दैनन् ।

उनीहरु ठूला/बडाको अगाडि हातपाउ मोल्छन् । साष्टङ्ग दण्डवत् गर्छन् । भक्तिभाव प्रकट गर्छन् । बढाई-चढाई कुरा गर्छन् ।

चाकडीबाजको कमजोरी

चाकडी गर्नेहरुको सबैभन्दा ठूलो कमजोरी भनेको चाहि उनीहरुमा चाकडी गर्ने बाहेक अरु विशेष क्षमता हुँदैन । विशेष कला हुँदैन । विशेष दक्षता हुँदैन । यदि उनीहरुसँग अरु कला, क्षमता, सीप हुँदो हो त चाकडीबाज गर्नतर्फ लाग्दैनथे । आफुमा केही क्षमता नभएकाले नै उनीहरु चाकडीबाज गर्न थाल्छन् ।

चाकडीबाजको खतरा

चाकडीबाजले निम्त्याउने खतरा भनेका असल, इमान्दार र सोझा व्यक्तिहरु पछाडि पर्छन् । चाकडी गर्ने धूर्त र फटाहहरुले हरेक अवसर एवं मौका हत्याउँछन् । उनीहरुकै रजगज चल्छ । यसले गर्दा इमान्दारहरु निरुत्साहित हुनपुग्छन् । धूर्तहरु फस्टाउँदै जान्छन् । आखिरमा यसले समाजमा नराम्ररी जरा गाढ्छ ।

चाकडीबाजको भय

चाकडी गर्नेहरु कामचोर हुन्छन् । उनीहरु चाकडीकै भरमा अरुलाई रिझाउने, भुलाउने मनोवृत्तिका हुन्छन् । यस्ता चाकडीबाजले आफ्नो काम फत्ते भइसकेपछि धोका दिन सक्छन् । उनीहरु आफैप्रति विश्वस्त हुँदैनन् । अरुलाई विश्वास गर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment