Comments Add Comment

पुरानै विचारअनुसार पार्टी एकता गरिएको होइन : प्रचण्ड

'विचारविहीन पनि हैन, नेतृत्वविहीन पनि हैन'

१३ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ईश्वर पोखरेल लगायतका केही नेताहरुले ‘विचार’ को कुरा उठाइरहेका बेला पार्टी अध्यक्ष प्रचण्डले पुरानै विचार र नेतृत्वका आधारमा पार्टी एकता नगरिएको बताएका छन् ।

कृष्ण सेन इच्छुकको सम्झनामा सोमबार पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘पार्टी एकता विचारविहीन भएको भन्ठानियो भने पनि गलत हो । विना नेतृत्व भएको छ भन्ठानियो भने पनि गलत हो ।’

अध्यक्ष प्रचण्डले विचारविहीन भएर पार्टी एकता नभएको कार्यकर्ताहरुलाई आश्वस्त पार्ने प्रयास गरे । पार्टी एकतामा नेतृत्वले चाबीको भूमिका खेलेको भन्दै उनले यदि कसैलाई असहज महसुस भएको भए त्यो पार्टीको समस्या नभएको बताए ।

प्रचण्डले पुरानै विचार अनुसार पार्टी एकता नगरिएको स्पष्ट पार्न खोज्दै भने, ‘विचारविहीन पार्टी एकता हो कि भन्ने कसैलाई परेको छ, विचार पुरानै भए पुग्छ भन्ने कसैलाई परेको छ भने त्यो पार्टी एकताको स्परिट अनुसार हुँदैन ।’

‘यसको पक्ष-विपक्षमा मत हुन सक्ने तर, जे भयो त्यो असाधारण र दुरगामी महत्वको राजनीतिक परिवर्तन भएको प्रचण्डले बताए ।

‘कतिपय मानिसहरुलाई हामीले पार्टी एकता गरेर विचार छोड्यौं कि भन्ने पनि लागेको हुनसक्छ’ उनले भने, ‘विनाविचार पार्टी एकता गरिएको छैन । प्रष्ट वैचारिक मान्यता, सैद्धान्तिक निष्ठा र राजनीतिक कार्यदिशाको ओरियन्टेसनसहित पार्टी एकता भएको हो ।’

विचारलाई विकास गर्ने प्रकृयालाई आत्मसाथ गर्दै निश्चित विचारको मान्यता, राजनीतिक कार्यदिशासहित पार्टी एकता गरिएको उनले बताए ।

‘विचारलाई परिभाषित गर्ने र एकतालाई व्यवहारिक जामा पहिर्‍याउन नेतृत्वले चाबीको भूमिका खेलेको छ’, नेकपा अध्यक्ष प्रचण्डले भनेका छन् ।

नेतृत्व सही भयो भने १००/५० वर्ष नजिक ल्याउन सकिन्छ । गलत भयो भने त्यतिकै जान सक्ने भन्दै उनले नेतृत्वले समाजलाई गति दिन ढोका खोलेको बताए ।

‘हामीले चाबी खोलेका छौं, जनताले अनुमोदन गरेका छन् । हामीमध्ये कसैलाई सहज महसुस भएको छैन भने हामीमध्ये कसैको समस्या हो, पार्टीको समस्या होइन, जनताको समस्या होइन,’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘किनकी लाखौं जनताले पार्टी एकता ठीक छ भनेर अनुमोदन गरेका छन् ।’

जनता, आम कार्यकर्ता अगाडि जान चाहेको र आफूहरु त्यसमै लागेको उनले बताए । प्रचण्डले भने, ‘पार्टीमा दुई अध्यक्ष छौं र लगातार छलफल गरेर अगाडि बढ्न बल गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment