Comments Add Comment

विश्वकप नजर : २७ वर्षपछि उपाधि जित्ने लक्ष्यमा पाकिस्तान

१२ जेठ, काठमाडौं । पाकिस्तानका लागि कप्तान इमरान खानले विश्वकप जिताएको २७ वर्ष पुगिसक्यो । १९९२ मा उपाधि जितेको विश्वकपपछि १९९९ मा पनि पाकिस्तान फाइनलमा अस्ट्रेलियासँग पराजित भयो । यसपटक पाकिस्तानी टिम यिनै इतिहासभन्दा अघि जान चाहन्छ ।

सन् १९९२ यो वर्ष पाकिस्तानको लागि क्रिकेटमा स्वर्णीम काल नै हो । अहिले प्रधानमन्त्री रहेका इमरान खान तीनै हुन् जसले सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि जिताएका थिए । अहिले उनी पाकिस्तानको बागडोर सम्हालेर बसेका छन् । उनकै नयाँ पुस्ता २७ वर्षपछि विश्वकपको उपाधि जित्ने लक्ष्यको साथ इंग्ल्यान्ड पुगेका छन् ।

क्रिकेटको इतिहासमा पाकिस्तानले अहिलेसम्म एक मात्र विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलिया र न्युजिल्यान्डमा सन् १९९२ मा भएको विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डलाई २२ रनले पराजित गर्दै पाकिस्तानले पहिलो पटक विश्वकपको उपाधि चुमेको थियो ।

एक पटक उपाधि जितेको पाकिस्तान एक पटक उपविजेता र चार पटक सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्ड र वेल्समै सन् १९९९ मा भएको विश्वकप क्रिकेटमा पाकिस्तान फाइनलमा पुगेको थियो । तर उपाधि जित्नमा बाधक बन्यो अस्ट्रेलिया । फाइनलमा पाकिस्तान अस्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो ।

यो पटक पनि इंग्ल्यान्ड र वेल्समै २० वर्षपछि विश्वकप क्रिकेट आयोजना हँुदैछ । के यो पटक विश्वकपको फाइनलमा पाकिस्तान पुग्ला ? क्रिकेट जानकार भन्छन् पुग्छ । यसपटक पाकिस्तानी टिम उत्कृष्ट नदेखिए पनि सन्तुलित भने छ ।

ब्याटिङ चले अब्बल

पाकिस्तान प्राय खेलमा हार्ने कारण हो, ब्याटिङ । यदि ब्याटिङ चलेमा विश्वका जुनसुकै टिमलाई पनि पाकिस्तानलाई रोक्न असम्भव जस्तै बन्छ ।

सन् २०१७ इंग्ल्यान्ड र वेल्समै आयोजना भएको आईसीसी च्याम्पियन्स ट्रफिको फाइनलमा भारतलाई लज्जास्पद हार चखाउँदै पाकिस्तानले उपाधि चुम्यो । त्यो १८० रनको जित न पाकिस्तानले विर्सन सक्छ न भारतले ।

फाइनलमा पाकिस्तानले भारतलाई ३३९ रनको विशाल लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङ गरेको भारत १५८ रनमै अलआउट भयो । पाकिस्तानको ब्याटिङ चले राम्रो नतिजा निकाल्न सक्छ भन्ने एउटा उदाहरण मात्रै हो यो ।

हुन त अहिले पनि पाकिस्तानसँग विश्वका चर्चित ब्याट्सम्यान र अलराउण्डर छन् । जसले पाकिस्तानको लागि मुख्य भूमिका खेल्नेछन् । कप्तान सर्फराज अहमद विकेटकिपर ब्याट्सम्यान हुन् । बाबर आजम, हरिस सोहेल, आसिफ अली, फखर जमान, इमाम उल हक, शोहेब मलिक ब्याट्सम्यान हुन् । शादब खान, मोहम्मद हफिज र इमाद वासिमको अलराउण्डर उपस्थितिले पाकिस्तान झनै बलियो हुनेछ ।

इमाम उल हक र फखर जमान ओपनिङमा आउँदा बाबर आजम, आसिफ अली, शोहेब मलिकले मध्यक्रम सम्हाल्ने छन् । फिनिसिङमा हरिस सोहेल, कप्तान सर्फराज अहमद, इमाद वासिम हुनेछन् ।

जादुमय बलिङ ?

पाकिस्तान विश्वकपका लागि सन्तुलित टिम हो । ब्याटिङ बलिङ र फिल्डिङ यी तीनै पक्ष पाकिस्तानको बलियो छ । विशेषगरी इंग्ल्यान्डको भूमिमा पाकिस्तानी बलरको भूख्य भूमिका रहने छ ।

बलिङमा मोहम्मद अमिर, मोहम्मद हस्नाइन, शाहिन शा अफ्रिदी, वाहब रियाज, हसन अली छन् । यी सबै तिब्रगतिका बलर हुन् । अलराउण्डर इमाद वासिम स्पिनर हुन् । उनी ब्याटिङसँगै बलिङ पनि राम्रो गर्छन् ।

यस्तै, ३८ वर्षीय अलराउण्डर मोहम्मद हफिज राम्रा स्पिनर पनि हुन् । अनुभवि उनले एकदिवसीय क्रिकेटमा १७० इनिङ्समा १३७ विकेट लिएका छन् । अर्का अलराउण्डर शादब खान पनि स्पिनरकै भूमिकामा छन् ।

विशेषगरी तिब्रगतिको बलरमाथि निर्भर भएको पाकिस्तानको लागि अलराउण्डरले पनि मुख्य भूमिका खेल्नेछ । पाकिस्तानको बलर जहिल्यै उत्कृष्ट प्रदर्शन गर्छन् । बलरकै कारण पाकिस्तानले ठूला ठूला प्रतियोगितामा सहज जितको आधार बनाएको छ । यो पटक भने इंग्ल्यान्डको भूमिमा पाकिस्तानी बलरको जादुमयी प्रदर्शन रहला ?

विश्वकपका लागि पाकिस्तानी टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदि ।

पाकिस्तानको खेल तालिका :

मे ३१ पाकिस्तान भर्सेस् वेष्ट इन्डिज

जुन ३ पाकिस्तान भर्सेस् इंग्ल्यान्ड

जुन ७ पाकिस्तान भर्सेस् श्रीलंका

जुन १२ पाकिस्तान भर्सेस् अष्ट्रेलिया

जुन १६ पाकिस्तान भर्सेस् भारत

जुन २३ पाकिस्तान भर्सेस् दक्षिण अफ्रिका

जुन २६ पाकिस्तान भर्सेस् न्युजिल्यान्ड

जुन २९ पाकिस्तान भर्सेस अफगानिस्तान

जुलाई ०५ पाकिस्तान भर्सेस बंगलादेश

यो पनि पढ्नुहोस विश्वकप नजर : दाबेदार न्युजिल्यान्डको नमिठो यथार्थ यो पनि पढ्नुहोस विश्वकप क्रिकेट : अभागी दक्षिण अफ्रिकाको परीक्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment