Comments Add Comment

वनको ९२ रोपनी जग्गा व्यक्तिको नाममा, मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

१३ जेठ, काठमाडौं । सामुदायिक वनको जग्गा व्यक्तिको नाममा दर्ता गराई सरकारलाई २ करोड २१ लाख रुपैयाँ नोक्शान पुर्‍याएको अभियोगमा कलंकी मालपोत कार्यालयका अधिकृत शिवप्रसाद रिमालसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मालपो्त अधिकृत रिमाल, नायब सुब्बा हरिप्रसाद आचार्य र मिनाकुमारी थापा, सुयल हाउजिङ प्रालिका सञ्चालक राजकुमार सुयल थापा, दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

चन्द्रागिरी नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वनको ९२ रोपनी जग्गा मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरेको र अदालतमा मिलापत्रको नाममा कम्पनीको नाममा नामसारी गरेको अख्तियारले जनाएको छ ।

पहिले उक्त जग्गाको सुयल हाउजिङका सञ्चालक राजकुमार सुयल थापाकी दिदी तथा मालपोत कार्यालयकी नायब सुब्बा मिनाकुमारी थापाको नाममा जग्गाधनी प्रमाण पूर्जा बनाइएको थियो ।

पछि उक्त जग्गाधनी प्रमाणपूर्जा अदालतमा पेश गरी मिलापत्रको नाममा मालपोत कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी कम्पनीको नाममा दर्ता गरेको अख्तियारको भनाइ छ । उक्त जग्गा कम्पनीको नाममा दर्ता गर्दा सरकारलाई २ करोड २१ लाख रुपैयाँ घाटा भएको अख्तियारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment