Comments Add Comment

के शाहरुखको घर किन्न चाहन्थे सलमान ?

बलिउड बादशाह शाहरुख खानको जुन ख्याती छ, त्यसमा उनको विलासी जीवनशैली पनि एउटा हिस्सा हो । शाहरुख कस्तो गाडीमा चढ्छन्, के लगाउँछन् इत्यादिबारे चियोचर्चा हुने नै भयो । त्यसभन्दा पनि बढी चाहिं उनको वासस्थानबारे ।

शाहरुख आफैमा पारिवारिक व्यक्ति पनि हुन् । साथसाथै घरका सौखिन पनि । मुम्बईमा उनको घर छ, मन्नत । यो घरबारे बेलाबखत चर्चा भइरहन्छ । नहोस् पनि किन, घर नै चर्चायोग्य जो छ ।

कति फिल्म पराखी यस्ता छन्, जसले मन्नतलाई तीर्थस्थल जस्तै ठान्छन् । त्यही कारण मुम्बई पुगेपछि मन्नतलाई पृष्टभूमिमा पारेर तस्वीर खिच्छन् ।

शाहरुखले यो घर आफै निर्माण गरेका होइनन्, खरिद गरेका हुन् । सन् २००१ मा उनले भारु १३ दशमलव ३२ करोड रुपैयाँ खर्चेर मन्नतको स्वमित्व आफ्नो हातमा लिएका हुन् । अहिलेको मूल्य हिसाब किताब गर्ने हो भने यो घरको मूल्य भारु २ सय करोड भन्दा बढी छ ।

यदि शाहरुखले यो घर खरिद नगरेका भए दबंग ब्वाई अर्थात सलमान खान यसका मालिक हुने थिए ? यो प्रश्न किनपनि उठेको छ भने सलमानले हालै उक्त घर आफुले खरिद गर्न लागेको वताएका छन् । प्रदर्शोन्मुख फिल्म ‘भारत’को प्रमोशन गर्ने क्रममा सलमानले यस्तै आशय व्यक्त गरेका हुन् । शाहरुखले उक्त घर खरिद गर्नुअघि नै सलमानले त्यसको स्वमित्व लिने तयारी गरेका थिए । तर, सलमानका पिता सलिम खानले सोधेको एउटै प्रश्नले सलमानलाई सोचमग्न बनायो । पिता सालिमले सोधेका थिए, ‘यत्ति ठूलो घर लिएर के गर्छौ ?’

सलमान त्यसबेला करियरको पूवार्द्धमा थिए । सोही बेला मन्नत खरिद गर्ने अफर आयो । सलमानले यो कुरा पिता सलिमलाई सुनाए । भनिहालौ, सलमान आफ्नो पिताको एकदमै आदर गर्छन् । सलिमसँग डराउँछन् पनि ।

सलमानले भनेका छन्, ‘घर खरिद गर्ने सोंच बनाएपछि मैले पितालाई सोधें । तब उहाँले भन्नुभयो कि यत्ति ठूलो घर खरिद गरेर के गर्छौ ? तब मैले मन्नत खरिद गर्ने सोंच त्यागें ।’

सलमानले शाहरुखलाई संकेत गर्दै सोधेका छन्, ‘आखिर तिमी यत्ति ठूलो घरमा के गर्छौ ?’

केही समयअघि शाहरुखले विगतका दिन सम्झदै भनेका थिए कि उनले कति दुःखले यो घर खरिद गरेका हुन् । आखिर उनले यो घर किन खरिद गरे ?

शाहरुखले भनेका छन्, ‘म दिल्लीको हुँ । दिल्लीमा भएकाहरु आफ्नै घरमा बस्न रुचाउँछन् । मुम्बईमा मान्छेहरु अपार्टमेन्टमा बस्छन् । तर, दिल्लीमा चाहे तपाईं धेरै धनी नहुनुहोस् आफ्नै घरमा बस्न रुचाउनुहुन्छ ।’ आफु मुम्बई आउँदा विवाहित भएको र गौरीसँग एक अपार्टमेन्टमा बस्ने गरेको उनले सुनाएका छन् ।

जब गौरीका माइती आए । तब उनीहरुले आफ्नो छोरी सानो अपार्टमेन्टमा बसेको भनेर चित्त दुखाए । ‘त्यसपछि मैले मन्नत खरिद गर्ने बिचार गरें’ शाहरुखले भनेका छन्, ‘यो मेरो लागि अहिलेसम्मकै महंगो चिज हो ।’

शाहरुख खानको घर मन्नतमा केही फिल्म पनि छायांकन भइसकेको छ । सनी देओलको फिल्म ‘नरसिम्हा’को क्लाइमेक्स त्यही सुटिङ गरिएको हो । त्यही ठाउँमा डेविड धनवको गोविन्दा स्टारर फिल्म ‘शोला और शबनम’ पनि सुटिङ गरिएको थियो । त्यसो त सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘फैन’को केही दृश्य मन्नतमा खिचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment