Comments Add Comment

बजेटबारे सर्वसाधारण : कर्मचारीको तलव र वृद्धभत्तामा चासो (भिडियो)

१५ जेठ, काठमाडौं । धादिङ मैदीका चन्द्रदन शाह ७७ वर्षका भए । काठमाडौं शंखमुलका अस्थायी बासिन्दा उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट भाषण गर्ने थाहा छ । बजेटमा उनको एक मात्र चासो हो, वृद्धभत्ता ।

जेठको गर्मी छल्न बागमती किनाराको बगैंचामा बसिरहेका शाहले बजेटमा बृद्धभत्ता बढाइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे ।

‘चुनावमा हामीले जिते भत्ता बढाइदिन्छु भनेका थिए । पाँच हजार बनाउने कुरा थियो, बन्छ त ?’ शाहले प्रतिप्रश्न गरे । उत्तर कोरीयाली नेता किम जोन उनको फ्यान बताउने उनले प्रविधिमा आधारित भएर विकास गर्ने बजेट ल्याउनुपर्ने बताए ।

ललितपुरको युएन पार्कमा फोटोसुट गरिरहेकी बिना मगर पनि बजेटबारे चासो राख्छिन् ।

स्नातकोत्तर पढ्दै गर्दा पनि आफू जागिरविहीन भएको भन्दै उनले बजेटले युवालाई रोजगारीको वातावरण बनाउन पर्ने माग गरिन् । ‘पढाई सकेर विदेश कसरी जाने भन्ने चिन्ताले युवालाई सताएको छ, बजेटले सम्बोधन गरोस्,’ मगरले भनिन् ।

सर्लाही स्थायी घर भएकी रिता मैनालीलाई बुधबार आउने बजेटबारे चासो छ । बजेट परम्परागत मात्रै हुन्छ कि, केही नयाँ ढंगले आउँछ भन्ने प्रतिक्षामा आफू रहेको मैनालीले अनलाइनखबरलाई बताइन् ।

विगतका वर्षमा आएका बजेटले घोषित उद्देश्य पूरा गर्न नसकेको उनको गुनासो छ । मैनाली भन्छिन्, ‘बजेट सुन्नमा रामै्र लाग्छ तर दुरदराजको विकास आकांक्षा बजेटले पूरा गर्न सकेको छैन, यतातर्फ अर्थमन्त्रीको ध्यान जानुपर्छ ।’

पढाइसँगै जागिर पनि गरिरहेका युवराज शर्मा माइतीघरको प्रतिक्षालयमा अस्पताल जान बस कुरिरहेका थिए । बजेट आउँदै छ भन्ने जानकार उनी नयाँ बजेटले कोही पनि नागरिक आधारभूत आवश्यकताका लागि तड्पनु पर्ने अवस्था अन्त्य गरोस् भन्ने चाहन्छन् ।

आर्थिक वर्ष ०७६/७७ को बजेटले विकासे नारा मात्रै नल्याओस् भन्ने उनले चाहेका छन् । ‘युवाहरुलाई स्वरोजगार बनाउन बजेटले महत्वपूर्ण भूमिका खेलोस्,’ शर्मा भन्छन् ।

महंगी बढ्ने चिन्ता

चितवनका रिसब भण्डारी काम विशेषले काठमाडौं आएको केही दिन मात्रै भयो । भण्डारीले बजेटमा सरकारी कर्मचारीको तलब तथा भत्ता बढ्दा महंगी झनै आकासिने चिन्ता व्यक्त गरे । ‘१० प्रतिशत तलब बढ्दा ३० प्रतिशतले  महंगी बढ्छ, सरकारले यतातर्फ ध्यान देओस्,’ भण्डारीले भनेका छन् ।

कृषि प्रधान देशमा २० वर्ष अगाडि र अहिले पनि कृषकको अवस्था उस्तै रहेको भन्दै उनले कृषकमुखी बजेट आउनुपर्ने बताए । कृषिमा आउने बजेट चरम दुरुपयोग हुने गरेको उनको भनाइ थियो । ‘ठूला आयोजनाभन्दा पनि निम्नस्तरका जनताको जीवनस्तर माथि उठ्ने गरी बजेट ल्याउनुपर्छ,’ भण्डारीले अर्थमन्त्रीलाई सुझाव दिए ।

सात वर्ष दुबई बसेर नेपाल फर्किएका जीतबहादुर तामाङ्ग काठमाडौंको बानेश्वरमा खाजा पसल चलाउँछन् । बजेटले आफूलाई खासै प्रभाव नपर्ने उनको बुझाई छ ।

तामाङ्गले बुझेसम्म यसअघिको बजेट सहरमा मात्रै केन्दि्रत भए । ‘अहिलेका अर्थमन्त्री राम्रा छन् भन्ने सुनेको छु, देशका सबै क्षेत्रमा पुग्ने गरी बजेट ल्याउँछन् भन्ने लागेको छ । तलब र भत्ता बढोस् तर महंगी नबढोस् भन्ने मेरो चाहना हो,’ तामाङ्गले भने ।

ललितपुरका तोणबहादुर खड्का बजेट देशको हितमा हुनुपर्ने बताउँछन् । ७२ वर्षीय उनलाई वृद्धाभत्ता १५ सय रुपैयाँसम्मले बढोस् भन्ने लागेको छ । जनताको मत लिएर गएका अर्थमन्त्री र सरकारले जनता र कृषिको विकासबारे गम्भीर भएर बजेट ल्याउनु पर्ने खड्का बताउँछन् ।

रौतहट स्थायी घर भएकी शर्मिला मैनाली स्नातकोत्तर सकेर पनि बेरोजगार छिन् । यस वर्षको बजेटले शिक्षित युवालाई रोजगारी दिलाउन सकोस् भन्ने उनको अपेक्षा छ । शैक्षिक प्रमाण पत्र धितो राखेर स्वरोजगार बन्न ऋण पाउने गत वर्षको नारा पनि कार्यान्वयन नभएको भन्दै उनले दुखेसो पोखिन् ।

दुग्ध विकास संस्थानबाट रिटायर्ड भएका जीतेन्द्र बस्नेतले जीवनको महत्वपूर्ण समय सरकारी सेवामा बिताएको तर बुढाबुढी पालिन भत्ता नपुगेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment