Comments Add Comment

वामदेव र प्रचण्ड एउटै लाइनमा, नेकपाको सचिवालय बैठक सर्‍यो

१७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालयको बैठक दुई दिन पछाडि सरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिपछि अर्को बैठक जेठ २० गतेका लागि तय भएको छ ।

शनिबार बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य गर्न नभ्याएको भनेपछि बैठक १८ गतेको साटो २० गतेलाई सारिएको स्रोतले बताएको छ ।

नेकपा स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री ओली दिल्ली जानुअघि दुई अध्यक्षवीच संक्षिप्त कुराकानी भएको थियो । राष्ट्रपति कार्यालयमा पदक वितरण समारोहमा भाग लिएपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग संक्षिप्त कुराकानी गरेका थिए ।

सोही कुराकानीमा प्रधानमन्त्री ओलीले आफू भारत जानुपरेकाले गृहकार्य गर्न नभ्याइएको भन्दै सचिवालय बैठक २० गतेलाई सार्ने प्रस्ताव गरेको प्रधाभनमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

वामदेव र प्रचण्ड एउटै लाइनमा

यसैवीच, नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा जिम्मेवारी एक/एक जनाले चलाउने गरी कार्यविभाजन हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएसँगै नेकपाभित्र तरंग सिर्जना भएको छ ।

जेठ २० गते बस्ने बैठकमा नेताहरुको कार्यविभाजन हुने र प्रधानमन्त्री ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई लिएर आफूले सरकारको मात्रै नेतृत्व लिनुपर्ने प्रस्ताव आउन सक्ने स्रोतले बतायो ।

प्रधानमन्त्री र अध्यक्ष पद एउटै व्यक्तिमा केन्द्रित गरिन नहुने लाइनमा प्रचण्ड र वामदेव गौतम एउटै लाइनमा उभिएका छन् ।

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले प्रचण्डको लाइनलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई दिएर सरकारको काममा बढी ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

गत मंसिर २९ मा बसेको पार्टी स्थायी कमिटीको बैठकमै नेता गौमतले एक व्यक्ति एक जिम्मेवारीको माग गरेका थिए । सो बैठकमा प्रस्तुत फरक दस्तावेजको १२ औं पृष्ठमा नेता गौतमले भनेका थिए- ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन ।

‘फरक दस्तावेजमा गौतमको माग थियो, ‘तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्नेतर्फ नै बढी ध्यान दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी सञ्चालन गर्नेतर्फ ध्यान बढी गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबे अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने ।’

यो पनि पढ्नुहोस्–

१५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment