Comments Add Comment

बच्चासँग भलाकुसारी गर्ने कि ?

बच्चासँग के कुरा गर्नुहुन्छ ? कसरी गर्नुहुन्छ ? विषय वा प्रसंग के हुन्छ ? कति समय कुरा गर्नुहुन्छ ? यी प्रश्नहरु तपाईंको बच्चाका खातिर हो । अक्सर हामी बच्चासँग बातचीत गर्दैनौ । हामीलाई लाग्छ, उनीहरु जान्ने/बुझ्ने छैनन् । हाम्रो कुरा उनीहरुले बुझ्दैनन् । उनीहरुको कुरा परिपक्क हुँदैन । यसकारण बालबच्चासँग हाम्रो संवाद हुँदैन । भलाकुसारी हुँदैन । बातचीत हुँदैन ।

हामीलाई के पनि लाग्छ भने, बातचीत गर्ने भनेको आफ्ना समकक्षी, समवयीसँग हो । अर्थात आफ्नो कुरा मिल्ने र बुझ्नेसँगै नै बातचीत गर्नुपर्छ । त्यसैले हामी साथीभाई, छिमेकसँग विश्व-ब्रम्हाण्ड जोडेर कुरा गरिरहेका हुन्छौ, आफ्नै बच्चासँग भने दोहोरो संवाद गर्न झर्को मान्छौ । अल्छी मान्छौ ।

बच्चालाई उपदेश

हामी बच्चासँग दोहोरो कुराकानी गर्दैनौ । बरु, उपदेश दिन्छौ । उपदेश यसकारण कि, हामी आफुलाई धेरै जान्ने/बुझ्ने ठान्छौ । हामीले जानेको कुरा बच्चाले जानेका छैनन् । उनीहरुलाई यी कुरा सिकाउनुपर्छ । हामीलाई यस्तै लाग्छ ।

खासगरी हामी साना बालबच्चालाई अर्ती-उपदेश दिइरहेका हुन्छौ । यसो गर, उसो नगर । यस्तो राम्रो, उस्तो नराम्रो । यस्तै यस्तै भनेर ।

तिमी राम्रो बन्नुपर्छ । विहान चाडै उठ्नुपर्छ । जुठो छरछार नगरी भात खानुपर्छ । लुगाफाटो मैलो बनाउनु हुँदैन । फोहोर खाएमा रोग लाग्छ । धेरै पढ्नुपर्छ । ज्ञानी बन्नुपर्छ । ठूलाबडाले भनेको मान्नुपर्छ । आज्ञाकारी हुनुपर्छ । नराम्रो काम गर्नुहुँदैन । झुटो बोल्नुहुँदैन । खुरुखुरु विद्यालय जानुपर्छ । यसरी नै हामी उनीहरुलाई पटक-पटक सम्झाइरहेका हुन्छौ । उपदेश दिइरहेका हुन्छौ ।

राम्रो बन्न के गर्ने ? कसलाई राम्रो भन्ने ? राम्रोको मानक के हो ? राम्रो बन्नलाई के गर्नुपर्छ ? हामी उपयुक्त बाटो र विकल्प दिदैनौ । केवल यतिमात्र भन्छौ, तिमीले राम्रो बन्नुपर्छ । बच्चाले कुरा बुझ्छन् । उनले के बुझ्छन् भने, राम्रो बन्नुपर्छ । तर, कसरी राम्रो बन्ने भन्ने बुझ्दैन । त्यसैले यस्ता अर्ति-उपदेशहरु त्यती प्रभावकारी हुँदैन ।

खासमा त हामीले बच्चामाथि आफ्नो धारणा, मान्यता लादिरहेका हुन्छौ । उनीहरुलाई पाठ पढाइरहेका हुन्छौ । निर्देश गरिरहेका हुन्छौ । अर्ति दिइरहेका हुन्छौ । यसबाट उनीहरुले के सिक्छन् ? के बुझ्छन् ?

बच्चालाई आदेश

हामी बच्चासँग आपसी कुराकानी गर्दैनौ । बच्चाले हाम्रो स्तरबाट सोच्दैनन्, हाम्रो स्तरबाट बुझ्दैनन् । उनीहरुको सोचाई, बुझाई कच्चा हुन्छ । यही ठानेर उनीहरुसँग हामी बातचीत गर्दैनौ । बरु एकतर्फी रुपमा उनीहरुलाई आदेश दिइरहेका हुन्छौ ।

यो गर, त्यो गर, यसरी गर । हामीले उनीहरुको धारणा सुन्दैनौ । हामीले अह्राएको खुरुखुरु गर्नुपर्छ । तब मात्र उनीहरुलाई हामी ज्ञानी, आज्ञाकारी भनेर दंग बनाइदिन्छौ ।

लुगा फुकाल, हातखुट्टा धोउ, खाना खाउ, होमवर्क गर, पढ, हल्ला नगर, टिभी बन्द गर, चकचक नगर, बाहिर नखेल, मोवाइल धेरै नहेर । यसरी उनीहरुलाई हामी हठात आदेश जारी गरिरहेका हुन्छौ ।

भलाकुसारी गर्ने कि ?

बच्चासँग हामी किन संवाद गर्दैनौ ? किन दोहोरो कुराकानी गर्दैनौ ? उनीहरुले भनेको कुरा किन गंभिरतापूर्वक सुन्दैनौ ?

हामीलाई आफुमात्र जान्नेबुझ्ने लागेर हो । बच्चाले केही जानेकै छैन भनेर हो । तर, हामीले नजानेको कुरा चाहि के हो भने, बच्चाको स्तरबाट कुनैपनि कुरालाई जसरी बुझ्छ, त्यसलाई हामीले पनि बच्चाकै स्तरबाट बुझेर कुराकानी गर्न सकिन्छ । अर्थात बच्चाका लागि बच्चा जस्तै हुन सकिन्छ ।

हामीले बच्चासँग भलाकुसारी गर्ने भनेको आफुलाई जान्ने देखाउनका लागि होइन । आफुलाई विद्वान देखाउनका लागि होइन । बरु, बच्चाको भाषा सुन्नलाई हो । बच्चाले के सोच्छन्, कस्तो धारणा बनाउँछन्, कसरी बुझ्छन् ? यो कुरा थाहा पाउनलाई हो ।

जब जब हामी बच्चासँग खेल्न र रमाउन थाल्छौ, उनीहरु हामीसँग सबै कुरा खुलेर गर्छन् । यसले बच्चाको मनोविज्ञान, सोंच सबैकुरा थाहा पाउन सकिन्छ ।

खासमा हामीले बच्चामाथि अन्याय गरिरहेका हुन्छौ । उनीहरुलाई दबाइरहेका हुन्छौ । माया गरेरै पनि हामी उनीहरुलाई खुम्चाइरहेका हुन्छौ । उनीहरुको भाषा सुन्ने र बुझ्ने कोसिस गरिरहेका हुँदैनौ । त्यही कारण बच्चाहरुले अभिभावकसँग सबै कुरा खुलेर गर्दैनन् । उनीहरुले कुरा गर्ने अनुकुलता पाएकै हुँदैनन् ।

तर, तपाईं आफ्नो बच्चासँग बच्चाजस्तै भएर बातचीत गर्न थाल्नुहोस्, धेरै कुरा तपाईंले घतलाग्दो पाउनुहुनेछ । उनीहरुले पनि हरेक कुरालाई आफ्नै ढंगले बुझिरहेका हुन्छन्, हेरिहेका हुन्छन् । तर, उनीहरुको बुझाई र हेराईलाई हामी बेवास्ता गरिदिन्छौ ।

बच्चाको कुरा सुन्नुपर्छ । उनीहरुको धारणा र बुझाईलाई सम्मान गर्नुपर्छ । उनीहरुलाई आफ्नो कुरा पनि सुनाउनुपर्छ । उनीहरुको कुरा पनि सुन्नुपर्छ । एकअर्कासँग घुलमिल भएर बातचीत गर्नुपर्छ । यसले बच्चाको भावनात्मक एवं मानसिक विकासमा धेरै ठूलो योगदान पुर्‍याउँछ ।

अहिलेका बच्चाहरु यसैपनि एक्ला छन् । उनीहरुसँग कुराकानी गर्ने साथी छैनन् । आफ्नै दाजुभाई छैनन् । हजुरआमा, हजुरबा छैनन् । आमाबुवा दुबै व्यस्त । यस्तो अवस्थामा उनीहरुसँग उनीहरुकै भाषामा कुराकानी गर्ने साथी चाहिन्छ । यस्तो अभाव हामी आमाबुवाले परिपूर्ति गरिदिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment