Comments Add Comment

साताका ४ पुस्तक : ‘युद्धका ती दिन’देखि ‘धम्मपथ’सम्म

१८ जेठ, काठमाडौं । यो साता साहित्यका मुख्य विधा बाहेक बौद्ध ग्रन्थको नेपाली अनुवाद र कम्युनिस्ट विचारधारा मानेर अघि बढेका लेखकहरुको पुस्तक बजारमा आएको छ ।

यो साता पाका लेखकहरुको संयुक्त लेखन भएको उपन्यास ‘विशर्ग’  पनि बजारमा आएको छ ।

बजारको नियमले भन्छ, जहाँ माग उत्पन्न हुन्छ, त्यहीँ उत्पादनको प्रक्रिया पनि सुरु हुन्छ । तर, बजारमा सधैं यही नियम लागू हुन्छ भन्ने हुँदैन । क्रय-विक्रयका केही वस्तु माग नभए पनि बजारमा जान्छन् । साहित्य यस्तै क्षेत्र हो ।

केही अपवाद बाहेक नेपाली साहित्य अहिले पनि व्यवसायिक बन्न सकेको छैन । तर, पनि आफ्ना रचना बजारमा पठाउन लेखक र प्रकाशन संस्था लागिरहेका छन् । यो साता पनि यो क्रम जारी रह्यो । यो साताका केही पुस्तकहरु-

युद्धका ती दिन

मानिसले बाँचेका हरेक क्षण आगामी पुस्ताका लागि पठनीय इतिहास बन्छ । यो कुरा राम्रोसँग बुझेकी पत्रकार संगीता खड्काले माओवादीले सञ्चालन गरेको हिँसात्मक राजनीतिको एउटा पाटोलाई पुस्तकमा उतारेकी छन् । पत्रकारिताको माध्यमबाट माओवादी राजनीतिमा प्रवेश गरेकी संगीता खड्काले ‘युद्धका ती दिन’ पुस्तकमा प्रतिबन्धित अवस्थामा सेना र प्रहरीबाट पाएको यातनालाई आङ् सिरिङ्ग हुने गरि वर्णन गरेकी छन् ।

सबैभन्दा रमाइलो कुरा पहिले युद्ध पत्रकारिता गरेकी सगीताले पुस्तकमा उल्लेख गरेका केही महत्वपूर्ण व्यक्ति अहिले सरकारमा छन् । र, त्यो सरकारले संगीता जस्तै केही लेखक-पत्रकारहरुलाई जेलमा थुनिरहेको छ ।

पुस्तकमा धेरै पटक तत्कालीन पत्रकार तथा चर्चित कवि कृष्ण सेन इच्छुकको निडर स्वभावको वर्णन गरेकी छन् । सरकारले प्रतिबन्धित गरेका युद्धसम्बन्धी सामग्री प्रकाशन गरेबापत कृष्णसेन इच्छुक जेल परेका थिए र त्यहीँ उनको हत्या भएको थियो । यो प्रसङ्ग्रले पुस्तकलाई महत्वपूर्ण बनाएको छ । पुस्तकले भौतिक जीवनलाई केन्द्रमा राखेको छ ।

विशर्ग

०३१ सालमा पहिलो पटक १० जना अग्रणी लेखकहरुले नेपाली उपन्यास ‘आकाश विभाजित छ’ प्रकाशन गरेका थिए । यो पुस्तकले एउटै विषयमा संयुक्तरुपमा साहित्यिक कृति निकाल्ने चलन सुरु गरायो । यस्ता काममा डा.ध्रुवचन्द्र गौतम र परशु प्रधान अघि थिए । यो क्रम उपन्यास ‘अवतार विघटन’ देहमुक्त हुँदै ‘ज्यागा’सम्म रह्यो । ०५० सालमा ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटा मिलेर भुटानी शरणार्थीका विषयमा लेखिएको ‘ज्यागापछि संयुक्त उपन्यास लेखनले बिट मार्‍यो ।

तर, अहिले पुनः परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास ‘विशर्ग’ बजारमा ल्याएका छन् । पुरानो नेपाली समाजलाई नयाँ समाजमा घुलमिल गराएको अमूर्त किसिमको यो उपन्यास विषय वस्तुका कारणले भन्दा पनि संयुक्त लेखनको निरन्तरताका कारणले महत्वपूर्ण मानिएको छ ।

धम्मपथ

यो पुस्तक बुद्ध धर्म र यसका विधिहरुको महत्वपूर्ण संगालो हो । बौद्ध धर्म ग्रन्थको त्रिपिटक मध्ये सुत्तिपिटकमा पर्ने यो पुस्तक बौद्ध धर्मको सार ग्रन्थ पनि हो । यो साता नेपाली सन्दर्भ, भावार्थ र वर्णनसहित यहि पुस्तक बजारमा आएको छ ।

पाली र संस्कृत भाषामा जानकारी राख्ने नारायण ज्ञवालीले यसलाई अनुवाद गरेका हुन् । यो पुस्तक पाली भाषामा इसापूर्व एक सय वर्षअघि लेखिएको मानिएको छ । यहि पुस्तकका कारण चीन, जापान, कोरिया, श्रीलंका, बर्मालगायतका देशमा बुद्ध धर्म फैलिएको मानिएको छ ।

पुस्तकमा बुद्धले दिएको चार आर्यसत्य, आष्टङ्गिक मार्ग र हिन्दु धर्मले यसअघि मान्दै आएको पाप, धर्म स्वर्ग नर्क जस्ता विषयमा पनि बौद्ध धारणा स्पष्ट पारेको छ । पुस्तकको भाषा सरल भएका कारण बौद्ध धर्म र दर्शन बुझ्न चाहनेहरुका लागि यो सङ्ग्रहणीय बनेको छ ।

खुसीको पीरो धुँवा

समालोचना र निबन्धमा स्थापित भइसकेका माधव काफ्लेले यो पटक सस्मरणात्मक कृति ‘खुसीको पीरो धुँवा’ बजारमा ल्याएका छन् । रचना साहित्यिक पत्रिकाले बजारमा ल्याएको यो कृतिमा लेखकले भोगेका ग्रामीण जीवनका अनौठा घटना र अनुभूति सङ्ग्रहित छन् । पुस्तकमा सङ्ग्रीत सामग्रीमा लेखकको निबन्धीय गुण हावी भएको छ ।

प्राध्यापन पेशामा संलग्न काफ्लेको ‘खुसीको पीरो धूँवा’ अघि ‘लिग लिग कोट’, जीवन र थोत्रो स्क्रिन बजारमा आएका छन् ।

माझिएको भाषा भए पनि माधव काफ्लेको यो पुस्तकले परम्परागत संस्मरणहरुको संग्रहलाई नै पछ्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment