Comments Add Comment

सातामा सेयर बजारमा चार अर्ब माथिको कारोवार   

१८ जेठ, काठमाडौं । धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको सेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६. ८६ बिन्दुले बढेको छ ।

साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको एक करोड ३६ लाख ६३ हजार २७१ कित्ता सेयर कारोवार भए ।

सरकारले आगामी आर्थिक वर्षको बजेट यसै साता सार्वजनिक गर्यो । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात् मङ्गलबार आठ अङ्कले बढेको बजार बजेट आएको दिन र त्यसको भोलिपल्ट अर्थात् बिहीबार भने सामान्य अङ्कले मात्रै वृद्धि भयो ।

नेपाल स्टक एक्सचेञ्जका अनसार साताको पहिलो दिन सेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । सो दिन कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको थियो ।

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको थियो । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा त्यस दिन कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता सेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको दोस्रो सदन अर्थात् सोमबार सेयर बजारमा झिनो अङ्कले सुधार आयो । कारोवार मापक नेप्से परिसूचक ०.३४ बिन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुग्यो । नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रह्यो । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता सेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन सेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । उक्त दिन कारोवार मापक नेप्से परिसूचक २.५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अङ्कमा पग्यो । स्टकका अनुसार कूल १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर रु ७५ करोड ६८ लाख ९१ हजार ६१३ मूल्यमा खरीद बिक्री भए ।

बुधबार सेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ८.३९ अङ्कले बढ्यो । कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए ।

साताको अन्तिम दिन अर्थात् बिहीबार रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लाग्यो । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा सेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव मात्रै पर्यो ।

सो दिन कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको थियो । सो दिन कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए ।

यस साता स्टकमा विभिन्न तीन कम्पनीका सेयर सूचीकृत भए । त्यसमा गुराँस लघुवित्त वित्तीय संस्थाको सात लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भयो । यस्तै विजय लघुवित्त वित्तीय संस्थाको एक लाख ७७ हजार १०० कित्ता सेयर लाभांश र रिलायन्स फाइनान्सको तीन लाख एक हजार २७४ कित्ता शेयर लाभांश सूचीकृत भएको स्टकले जनाएको छ ।

कारोवारका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । प्रभु बैंक शीर्ष स्थानमा रहदा शिवम् सिमेन्ट, नेपाल बैंक, माथिल्लो तामाकोशी, जनता बैंक, एनसिसि बैंक, मेघा बैंक, सिभिल बैंक, ज्योति विकास बैंक र कृषि विकास बैंकको सेयर क्रमशः बढी कारोवार भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment