Comments Add Comment

बर्दिया कारागारका कैदी नेपालगञ्जमा भेटिएपछि…

१८ जेठ, बर्दिया । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएकाे घटना सार्वजनिक भएकाे छ ।

बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन शुक्रबार दिउँसो नेपालगञ्जबाट पक्राउ परेसँगै कारागारभित्रको विकृति सार्वजनिक भएको हो ।

गुलरिया कारागारभित्र नियमविपरीतका गतिविधि हुने गरेको गुनासो सुनिए पनि कैदी नै बजार घुम्न निस्किएको घटना यसअघि सुनिएकाे थिएन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले कैद भुक्तान गरिरहेका पुनलाई पक्राउ गरिएको स्वीकारे । बास्तोलाका अनुसार नेपालगञ्ज बजार घुम्दै गरेको अवस्थामा पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तर, जेलर विजय मल्लले भने कैदीलाई उपचारका लागि नेपालगञ्ज लगिएको बताए । उनले पक्राउ परेका कैदीसँगै प्रहरी पनि रहेको तर कागज लान बिर्सेकाले घटना भएको दाबी गरे ।

छानबिन समिति गठन

कैदीलाई कारागार बाहिर जान दिएको विषय सार्वजनिकपछि यसबारे जिल्ला प्रशासन कार्यालय, बर्दियाले छानबिन थालेको छ । प्रशासकीय अधिकृत अर्जुन सुवेदीको नेतृत्वमा समिति गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन थालेको हो । समितिमा राष्ट्रिय अनुसन्धानका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सदस्य छन् ।

प्रहरी उपरीक्षक बास्तोलाका अनुसार, छानबिन समितिलाई ३ दिनभित्र घटनाबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

कस्तो छ कारागारको अवस्था ?

पञ्चायतकालमा निर्माण गरिएको कारागार भवन जीर्ण अवस्थामा रहेको छ । १ सय पुरुष र २५ महिला क्षमताको कारागार भए पनि अहिले क्षमताभन्दा दोब्बर बढी संख्यामा कैदीबन्दी रहेका छन् ।

जेलर विजय मल्लका अनुसार, कारागारमा महिला–पुरुष गरी २ सय ८७ जना छन् । जसमा २ सय ७५ पुरुष र १२ जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment