Comments Add Comment

म्यानपावरको आन्दोलनले खाडी उड्ने यात्रु घटे

२० जेठ, काठमाडौं । विभिन्न माग राखेर आन्दोलन थालेका म्यानपावर व्यवसायीले विदेश जाने कामदारको टिकट काट्न बन्द गरेपछि त्यसको प्रभाव विमानस्थल र वायु सेवा कम्पनीमा पनि देखिएको छ । केही दिन यता विदेशीने यात्रुको चाप घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए ।

व्यवसायीले गत १७ जेठबाट विदेश जाने कामदारको टिकट काट्न छाडेका हुन् । यसका कारण खाडी देश जाने कामदारको संख्यामा कमी आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल प्रुमख क्षेत्रीका अनुसार दैनिक ३ वटा उडान भरिररहेको एयर अरेबिया हाल २ वटामा खुम्चिएको छ ।

फ्लाई दुबई, कतार एयरवेज, नेपाल एयरलाइन्स लगायतका विमानमा पनि यात्रुको चाप घटेको छ । यसले गर्दा विमानस्थलमा विदेशिने यात्रुको संख्यामा केही कमी देखिएको क्षेत्रीले बताए ।

‘मध्यपूर्वका देशमा उड्ने बायुसेवाको ६५ प्रतिशत यात्रु वैदेशिक रोजगारीमा जाने-आउने हुन्छन्,’ क्षेत्रीले भने, ‘अहिले त्यता जाने यात्रु घटेको सुचना कार्यालयलाई छ । २४ गतेबाट सामान्य अवस्थामै फर्कन सक्छ ।’

व्यवसायीले टिकट नकाट्ने भनेर गरेको घोषणा जेठ २३ गतेसम्मका लागि हो । वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङ सो अवधिसम्म पनि माग सुनुवाई नभए अझै कडा खालको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताउँछन् ।

  यो पनि पढ्नुहोस म्यानपावर व्यवसायी आन्दोलनमा, कामदारको टिकट काट्न बन्द

व्यवसायीले आफ्नो मागपत्र प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यसअघि नै बुझाइसकेका छन् । हाल सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने व्यवसायीको मुख्य माग हो । तर, वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन । यसैलाई देखाएर सरकारले व्यवसायीको माग पुरा गर्न नसकिने बताएको छ । तर, संघका अध्यक्ष गुुरुङ नियमावलीमै संशोधन गरेर भए पनि ब्याज आफूहरुले पाउनुपर्ने बताउँछन् ।

व्यवसायीले धरौटी पुर्‍याउन नसकेर मर्जमा जानेहरुलाई उपयुक्त छुट-सुविधा र सहुलियत दिनुपर्ने माग पनि गरेका छन् । यस्तै एक वर्षदेखि बन्द रहेको मलेसियामा कामदार पठाउने प्रक्रिया खुला गर्न पनि उनीहरुको माग छ । मलेसिया बन्द हुँदा धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले कामदारलाई पनि सास्ती भएको बताएको छ ।

मलेसियासँग श्रम समझदारी पनि भइसकेको अवस्थामा सरकारले कामदार पठाउन चासो नदिँदा समस्या भएको गुरुङले बताए । यसैगरी कामदारको मागपत्र ल्याउँदा विदेशस्थित नेपाली दूतावासका कर्मचारीले अनेक बहानामा दुःख दिने, अनुचित लाभ लिने लगायतका समस्या देखिएकाले त्यसमा सरलीकरण गर्न पनि माग अघि सारिएको छ । छिमेकी मुलकुहरुले जस्तै विदेश पठाउँदा लिइने सेवा-शुल्क व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने व्यवसायीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment