Comments Add Comment

कसले मेटाउन खोज्यो चार सहिदको इतिहास ?

इतिहास जनताको पनि हो, राजाको पनि हो : त्रिरत्न मानन्धर

Photo Credit : चन्द्र आले/अनलाइनखबर

२१ जेठ, काठमाडौं । बाबुराम आचार्य इतिहास शिरोमणि हुन भन्नेमा कुनै शंका छैन । विसं. २०१० सालको सेरोफेरोमा उनले यो उपाधि पाएका थिए । त्यसभन्दा पहिला नै जुद्ध समशेरले अरु कसैलाई इतिहास शिरोमणिको पदवी दिएको खुलेको छ ।

इतिहासका प्राध्यापक त्रिरत्न मानन्धर जुद्ध समशेरले आफ्नो पक्षमा इतिहास लेखाउन ल्याएका भारतका प्राध्यापक ईश्वरी प्रसादलाई इतिहास शिरोमणिको दर्जा दिन खोजेको बताउँछन् ।

यो प्रसंग कोट्याउँदा जुद्ध समशेरले कसरी विदेशीलाई बोलाएर एकपक्षीय इतिहास लेखाएका थिए भन्ने सन्दर्भ त आउने नै भयो । ७५ वर्षीय मानन्धर भन्छन्, ‘जुद्ध समशेरको पालामा शुरु भएको प्रजा परिषदको आन्दोलनका क्रममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ सहिद नै भए, टंकप्रसाद आचार्य, रामहरि शर्मा लगायतलाई चारपाटा मुडेर जन्मकैदको सजायँ सुनाइयो । तर, जुद्ध समशेरको शासनकालसम्बन्धी पुस्तकमा यसको प्रसंगै छैन ।’

पुस्तक लेखेबापत जुद्ध समशेरले ईश्वरीप्रसादलाई इतिहास शिरोमणि उपाधि पनि दिए । हाम्रो इतिहास शिरोमणि बाबुराम आचार्य हुन्

इतिहासका कति सन्दर्भको रहस्य उजागर हुँदैन । जस्तो–पृथ्वीनारायण शाहकै कतिपय विषय अझै पनि रहस्यकै गर्भमा छन् । मानन्धरको विश्लेषणमा कुनैकुनै घटनाहरू इतिहासकारले नै जानीजानी तोडमोड गरेका हुन्छन् ।

के तथ्यपरक र स्वतन्त्र इतिहास लेखन सम्भव छ ? कि इतिहास जित्नेको मात्रै लेखिन्छ ? इतिहासकारकै कारणले इतिहास लेखन बिग्रिन्छ कि ?

प्रस्तुत छ, यिनै विषयमा इतिहासविद प्राध्यापक मानन्धरसँग अनलाइनखबरले गरेको संवादको सम्पादित अंश उनकै शब्दमाः

बाबुराम आचार्यबाहेक पनि इतिहास शिरोमणि !

इतिहास पुराना घट्नाहरूको अध्ययन हो । हामीले पढेका सबै इतिहास यथार्थपरक हुँदैनन् । यसमा मुख्य दुई कारण छन् । एउटा नजानेर वा पर्याप्त सामग्री नपाएर हुने गल्ती । यस्तो गल्तीलाई त्यति अस्वाभाविक मानिँदैन । अर्को जानाजान गरिएको गल्ती । दोस्रो किसिमको गल्ती अक्षम्य हुन्छ । किनभने, इतिहास स्वार्थको चश्मा लगाएर विश्लेषण गर्ने विषय होइन ।

हामीकहाँ शासकहरूले इतिहास लेखाउने चलन नौलो होइन । चन्द्र समशेरले पर्सिभल ल्याण्डनलाई बोलाएर इतिहास लेख्न लगाए । यस्तोमा शासकको वर्णन मात्रै पाइन्छ । चन्द्र समशेरले दुई भोल्युमको किताब लेखाए । स्वाभाविकरुपमा दुबैमा चन्द्र समशेरको तारिफ गरिएको छ ।
यसरी लेखिने इतिहासमा जेजे लेखिन्छ त्यसलाई नै मान्नु पर्छ भन्ने होइन । यस्ता लेखकले दिएको तथ्यका आधारमा विश्लेषण गर्न भने सकिन्छ । उसको दृष्टिकोणलाई नकारेर ‘फ्याक्ट एण्ड फिगर’लाई आधार मान्न सकिन्छ ।

जुद्ध समशेरले अलाहवाद विश्वविद्यालयका प्राध्यापक ईश्वरी प्रसादलाई नेपालमा झिकाएर इतिहास लेख्न लगाए । उनले ‘ द लाइफ एण्ड टाइम अफ महाराज जुद्ध शमशेर जंग बहादुर राणा अफ नेपाल’ भन्ने किताब लेखिदिए । यो किताब धेरैपछि प्रकाशित भयो ।

पुस्तकमा शुरुदेखि अन्तिमसम्म जुद्ध समशेरको तारिफ नै तारिफ छ । उनका नकारात्मक कुरा केही पनि छैन । जबकी चन्द्र समशेरले लेखाएको पुस्तकमा नकारात्मक कुरा नभए पनि उनले गरेका सबै कामको विवरण पाइन्छ ।

प्रजा परिषद स्थापना भएको जुद्ध समशेरकै पालामा हो । टंकप्रसाद आचार्य, रामहरि शर्मा लगायतले शुरु गरेको त्यो आन्दोलनमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ सहिद नै भए । कैयाैले जन्मकैदको सजायँ पाए । चार पाटा मुडेर घुमाइयो ।

तर, जुद्ध समशेरको शासनकाल सम्बन्धी पुस्तकमा १९९७ को यति ठूलो घटनाको विषयमा कुनै पनि जानकारी छैन । त्यो पुस्तक पढ्दा चार जना सहिदबारे केही पनि जानकारी पाइँदैन ।

सहिदहरूकै पक्षमा लेख्नुपथ्र्यो भन्ने पनि होइन । तर, प्रजापरिषदको आन्दोलन यसरी भएको थियो । चार जनालाई फाँसी दिइयो भन्ने कुरा त पुस्तकमा आउनुपथ्र्यो नि ।

तीन सय पृष्ठभन्दा लामो पुस्तकमा यो सन्दर्भमै नराखिनुलाई सामान्य कुरा होइन । इतिहास कसरी बंग्याइन्छ भन्ने उदाहरण हो यो घट्ना ।

पुस्तक लेखेबापत जुद्ध समशेरले ईश्वरीप्रसादलाई इतिहास शिरोमणि उपाधि पनि दिए । हाम्रो इतिहास शिरोमणि बाबुराम आचार्य हुन् । उनलाई राजा त्रिभुवनले २०१० सालपछि यो उपाधि दिएका हुन् ।

स्वार्थ अनुसारको लेखन

सन् १९९७ को घट्नासँगै जोडिएको अर्को पनि सन्दर्भ पनि छ । यो गणतन्त्रपछिको कुरा हो । १९९७ मा चार सहिदलाई फाँसी दिने जुद्ध समशेर होइन, राजा त्रिभुवन हो भनियो । जब कि त्यतिबेला त्रिभुवनको केही जोर चल्दैनथ्यो । सारा अधिकार त राणा प्रधानमन्त्रीकै हातमा थियो ।

त्रिभुवनसँगै जोडिएको अर्को प्रसंगको चर्चा गरौं । त्रिभुवन विश्वविद्यालयमा इतिहास विभागको प्रमुख हुँदाको कुरा हो । मेरा एकजना विद्यार्थीले विद्यावारिधिमा सतीप्रथा र दासप्रथाबारे थेसिस लेखेका छन् । थेसिसमा सतीप्रथा उन्मुलन गर्ने व्यक्ति चन्द्र समशेर जबरा हुन् भनेर लेखे । यो कुरा साँचो पनि हो ।
तर, परीक्षकले कहाँ चन्द्र समशेरले उन्मुलन गर्नु ? चन्द्र समशेर त त्रिभुवनका प्रधानमन्त्री हुन् । त्यसैले त्रिभुवनले गरेका हुन् भन्नुपर्छ भनेर सच्याउन लगाए ।

जब कि सबैलाई थाहा छ, त्यो बेलामा त्रिभुवन नाम मात्रका राजा थिए । उनको हातमा केही पनि शक्ति थिएन । विद्यार्थीले लेखेको कुरा नै सही थियो । परीक्षकलाई त्यो कुरा मन परेन । गलत हो भनियो । यथार्थ के हो त्यो लेख्नु पर्छ ।

एकजना नाम चलेको इतिहासकारको पुस्तक छ । त्यो पुस्तक तीन संस्करण छापिएका छ । पहिलो संस्करण २०१२–०१३ सालमा छापियो । त्यसमा विश्वेश्वरप्रसाद कोइरालाको खुब गुणगाण गाइएको छ । कोइरालाको निजी सचिव भएर सागिर्दी गर्न पाएँसम्म भनेर लेखिएको छ । सागिर्दी भन्ने शब्द ज्यादै होचो शब्द हो ।

त्यही पुस्तकको अर्को संस्करण ०२४ सालतिर छापियो । त्यसमा कोइरालाको नाम निसानै छैन । पञ्चायत समर्थक प्राध्यापकहरूको एकदमै तारिफ गरिएको छ ।

पञ्चायत ढलेको दुई तीन वर्षमा त्यही पुस्तकको तेस्रो संस्करण प्रकाशित भयो । त्यसमा फेरी पञ्चायतको विरोध गरिएको छ । महेन्द्रले सरकारी पैसामा दरबार बनाएको र त्यो दरबार सरकारलाई नै बेचेको उल्लेख गरिएको छ ।

स्वार्थ अनुसार इतिहासको विश्लेषण कसरी गरिन्छ भन्ने उदाहरण हो यो । इतिहासलाई स्वार्थ अनुसार व्याख्या गर्ने विकृति विगतमा नभएको हो ।

इतिहास लेखनमा व्यक्ति मात्रै होइन, समयको पनि प्रभाव हुँदोरहेछ । जस्तो– २००७ सालमा राणा शासनको अन्त्य भयो । त्यसपछिका तीन–चार वर्ष यस्तो भयो कि राणाहरूको गाली मात्रै गर्ने । राणालाई राक्षस भन्ने गरिन्थ्यो । राणा भनेपछि जे पनि नराम्रो भन्ने थियो । त्यसको केही समयपछि राणाहरू नराम्रो भए पनि केही केही राम्रो काम गरेको छ भन्ने सोचाइ आयो । त्यसपछि भने निश्पक्ष विवेचना हुन थाल्यो ।

२०४६ सालको परिवर्तनपछिका केही वर्ष पञ्चायतको विरुद्धमा यस्तै आक्रोशहरू व्यक्त भए । पञ्चायतले गरेका सबै गलत भनियो । पछि पञ्चायती व्यवस्थामा पनि एउटा/दुईवटा राम्रा काम थिए है भन्न थालियो ।

पृथ्वीनारायण शाहबारे अतिवादी धारणा

इतिहासको मूल्यांकन गर्दा अहिलेको नजरबाट हेरेर हुँदैन । जस्तो पृथ्वीनारायण शाहले चुनावै गराएनन् । त्यही भएर उनी अप्रजातान्त्रिक थिए भनेर भन्न भएन । त्योबेलामा चुनाव गर्ने चलनै थिएन त कसरी गर्छ चुनाव ? त्यस्तै जंगबहादुर राणाले त प्रजातन्त्रै दिएन भन्नुको तुक हुँदैन । त्यो बेला प्रजातन्त्रको युगै थिएन । त्यही बेलाको आँखाले हेर्नु पर्दछ ।
नेपालको मात्रै होइन, संसारकै इतिहासमा सुल्झन नसक्ने विषय हुन्छन् । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जिते । उनको बधाईचढाई गरेर लेख्नेले पृथ्वीनारायण शाह शुरुदेखि नै नेपाल एकीकरण गर्ने सपना थियो । एकीकरणको योजना अनुसार नै उपत्यकामा आक्रमण गरेका हुन् भन्छन् । आलोचकहरू फेरि के भन्छन् भने गोर्खा सानो राज्य थियो । पश्चिमतर्फ कास्की, लमजुङ, तनहुँ, पाल्पा जस्ता शक्तिशाली राज्य थिए । त्यसैले पश्चिमतर्फ बढ्ने साहसै थिएन । पूर्वतर्फ बढेर आफ्नो राज्य विस्तार पो गरेका हुन भन्छन् ।

मेरो विचारमा यी दुबै धारणा अतिशयोक्तिपूर्ण छन् । पृथ्वीनारायण शाहले जुनबेला सैनिक अभियान शुरु गरे, त्यतिबेला एकीकरण गर्ने मनशाय थिएन । गोर्खा राज्यकै विस्तृतीकरण गरका हुन् ।

मेरो विचारमा गोर्खा राज्यको विस्तृति गर्दा–गर्दै नेपालको एकीकरण भएको हो ।

इतिहासकार एडबर्ड ह्यालेट बितेको घटनाबाट पाठ सिकेर भविश्यलाई राम्रो बनाउन सकिने बताउँछन् । इतिहास भनेको अतीत र वर्तमानको अटूट सम्वाद हो, राम्रो भविश्यका लागि । अतीत र वर्तमानलाई जोड्न सक्नुपर्छ । इतिहास लेखक इमान्दार हुनसक्नुपर्छ । विना प्रमाण कल्पनाको आधारमा लेखिनुहुँदैन ।

सही इतिहास लेखन सूत्र

तरकारी वा फलफूल काट्न पनि चक्कुको प्रयोग हुन्छ । त्यही चक्कु अपराधीले मान्छे मार्न दुरुपयोग गर्छ । इतिहास लेखन पनि झण्डै उस्तै हो । यसलाई भाँती पुर्‍याएर लेख्दा सदुपयोग हुन्छ । कसैले आफ्नो कुण्ठा साँध्न लेख्छ भने त्यो तरकारी काट्ने चक्कुले मान्छे मारेजस्तै हो ।

कसैले एउटा इतिहासको पुस्तक राम्रो लेखेको छ भन्दैमा उसको अर्को पुस्तक पनि राम्रो हुन्छ भन्न पनि मिल्दैन । इतिहासकारको एक–एक पुस्तक अनुसार मूल्यांकन गरिनुपर्छ ।

सकेसम्म वस्तुगत विश्लेषण गर्नुपर्छ । इतिहास लेख्दा मैले लेखेको सामग्री म भन्दा जान्नेले नि पढ्छ भन्ने बिर्सनुहुँदैन । पाठक सबै नजान्ने हुन्छन् भन्ने सोच्नुहुँदैन । पूर्वाग्रही भएर लेख्दा आफैं नांगिन्छ भन्ने ख्याल गर्नुपर्दछ ।

कतिपयले अहिलेसम्म राजाको इतिहास लेखियो, अब जनताको इतिहास लेखिन्छ भन्छन् । यो कुरा पनि सही होइन । किनभने इतिहास भनेको जनताको पनि हो, राजाको पनि हो । राजा महाराजाको मात्रै लेख्नुपर्छ भन्न खोजेको होइन । अर्थात एउटा पक्षलाई नकारेर लेखिएको इतिहास पर्याप्त हुँदैन । वास्तविकताको नजिक पुगिँदैन ।

राणा शासनमा लेखिएका किताबमा राणाहरूको गुणगाण मात्रै गाएको भेटिन्छ । राणा शासन ढले लगत्तैका पुस्तकमा राणाको विरोध मात्रै गरेको देखिन्छ । त्योभन्दा पनि पछि लेखिने पुस्तकमा निस्पक्ष बनाउन सकिन्छ । अर्थात अन्धसमर्थन र अन्धविरोधको दोषबाट मुक्त भएर लेख्न सकिन्छ । इमान्दार हुने हो भने पछिका इतिहासकार विगतको कमकमजोरी सच्याएर वास्तविकताको नजिक पुग्न सकिन्छ ।
यो पनि पढ्नुहोस पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment