Comments Add Comment

पर्सामा प्रमुख जिल्ला अधिकारीविरूद्ध लेखापढी व्यवसायी आन्दोलित

Photo Credit : लेखापढी व्यवसायी/अनलाइनखबर फाइल

२१ जेठ, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारीविरूद्ध लेखनदासहरु आन्दोलित भएका छन् । जिल्ला मालपोत कार्यालय पर्साको लेखापढीको काम गर्दै आएका लेखनदासहरु आन्दोलित भएका हुन् ।

नेपाल लेखापढी कानून व्यावसायी संघ पर्साका अध्यक्ष रामाधार कलवारले मालपोत कार्यालयमा पुग्ने सेवाग्राहीको समस्याका बारेमा डेलिगेशन जाँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उल्टै गाली गरेकोले विरोधमा उत्रिएको बताए ।

मालपोत कार्यालयको समस्या समाधान गर्नुको साटो लेखनदासहरुलाई गुण्डा, दलाल, भ्रष्ट्राचारी भनेकोले प्रमुख जिल्ला अधिकारीको विरोध गर्नुपरेको उनले बताए । ‘यस्तो प्रमुख जिल्ला अधिकारी चाहिदैन’ भन्ने नारा लेखिएको व्यानर सहित आफूहरु प्रदर्शनमा उत्रनुको साथै कलम बन्द गरेको उनको भनाइ छ ।

‘मालपोतमा कर्मचारीको अभावले सेवाग्राहीको काम भइरहेको छैन भनेर प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिगेशन लिएर गएका थियौं ,’ उनले भने,  ‘तर उल्टै प्रजीअले लेखापढी कानून व्यवसायीले गुण्डागर्दी शैली अपनाएको, तपाईंहरुको कारणले कर्मचारीहरुले दुःख पाएको जस्ता कुराहरु गरेर हामीलाई नै गाली गर्नुभयो । त्यसैको विरोधमा हामी आन्दोलित भएका हौं ।’

मालपोत कार्यालयमा कर्मचारीको पूर्ति र प्रमुख जिल्ला अधिकारी भट्टराईले आएर लेखनदासहरुसँग माफी नमागेसम्म आन्दोलन जारी रहने अध्यक्ष कलवारले बताए ।

मालपोत कार्यालयमा १ अधिकृतसहित ५४ जनाको दरबन्दी छ तर हाल १८ जना कर्मचारीबाट कार्यालय संचालन भइरहेको छ । सेवाग्राहीलाई एउटा काम गराउन एकसातासम्म लाग्ने गरेको भन्दै सोमबारदेखि लेखनदासहरु आन्दोलनमा छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने आफूले लेखनदासहरुलाई गाली नगरेको बताएका छन् । उनले कार्यशैलीमा सुधार्न भन्दा उनीहरुले नकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए ।

‘सोमबार लेखनदासहरुले कार्यालय भित्रै गएर कर्मचारीलाई काममा अवरोध गरे, मैले त्यसो नगर्नुस, यो त लेखनदास शैली होइन भनेको हुँ,’ उनले भने, ‘आफूलाई काम गर्न मन नलागे नगरे हुन्छ तर मालपोत कार्यालयका कर्मचारीको काममा अवरोध पुर्‍याउँछन भने सैह्य हुँदैन ।’

लेखनदासहरुले अटेरी गरेर कार्यालयको काममा अवरोध पुर्‍याए संस्था खारेजीको प्रक्रिया अघि बढाउन सकिने चेतावनी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment