Comments Add Comment

मेरी बास्सै छोडेका बल्छी धुर्बे फुटसल चलाउँदै

हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठ अहिले उक्त सिरियलबाट अलग भइसकेका छन् । विभिन्न असन्तुष्टीका कारण  केही महिना अगाडि मेरी बास्सै छोडेका उनी आजभोली गर्दैछन् त ?

मरिचमानलाई आजकाल सुटिङ स्थलमा होइन, फुटसलमा भेट्न सकिन्छ । उनले हालै बनस्थलीमा एउटा फुटसल खोलेका छन् । जेठ १६ गतेबाट यसको औपचारिक उद्घाटन गरिएको छ ।

मरिचमान काठमाडौंमा बस्ने नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फुटसल सुरु गरेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘काठमाडौंमा बस्ने हामी हिँडडुल गर्दैनौँ । त्यो माथि यहाँको धुलो-धुँवाले हामी सबै रोगी भइरहेका छौँ । त्यसैले स्वस्थ हुनका लागि पनि फुटसल खेल्नुपर्छ भनेर हामीले यसको सुरुवात गरेका हौँ ।’ उनी आफ्नो फुटसलबाट व्यापारको मात्र उद्देश्य नराखेको बताए ।

सानो उमेरदेखि नै मरिचमानलाई फुटसलमा रुचि थियो । हरेक बिदाको दिन उनी टिमसहित फुटसल मैदानमा पुग्थे । त्यही उमेरदेखि नै उनलाई फुटसलप्रति मोह बढ्यो ।

‘कहिलेकाहीँ त शनिबार खेल्नको लागि फोन गर्दा कतै पनि फुटसलको समय पाइन्न थियो’, मरिचमानले भने, ‘समय नपाउँदा र फुटसलमा युवाको आकर्षण देख्दा त्यहीँ सुमयमा फुटसल खोल्ने सोच बनाएको थिए ।’

मरिचमानले खोलेको फुटसलको नाम पनि ‘बल्छी धुर्बे फुटसल’ राखेका छन् । यो नामले पनि फुसलको प्रचारमा सहयोग गरिरहेको मरिचमान बताउँछन् । उनी भन्छन्, ‘यहाँ त फुटसल छ भनेर चिनाउन नै समय लाग्छ । तर, मेरो त नामको कारण पनि धेरैले चिनिसक्नु भएको छ । यो नामका कारण धेरै फाइदा भइरहेको छ ।’

मरिचमानले १० वर्षको लागि जग्गा भाडामा लिएर उक्त फुटसल सुरु गरेका हुन् । यसको भाडा मासिक ५० हजार तिर्नुपर्छ ।

फुटसलमा मरिचमान र उनको परिवारको मात्रै लगानी रहेको छ । यसमा कसैसँग पनि सहकार्य गरेका छैनन् । मरिचमान भन्छन्, ‘यो फुटसल पूर्ण रुपमा तयार गर्न पाँच महिना जति लाग्यो । लगानी पनि ६५ लाखभन्दा माथि पुगेको छ ।’

मरिचमान आफूले गरेको लगानी फर्किनेमा विश्वस्त पनि छन् । ‘सुरु भएको दिनदेखि नै खेल भइरहेको छ । फुटसल व्यस्त-व्यस्त नै भइरहेको हुन्छ’, उनले भने, ‘त्यसैले लगानी फर्किनेमा त कुनै शंका नै छैन ।’

सिरियलमा फर्किने तयारी

मेरी बास्सैपछि मरिचमानले कुनै पनि सिरियलमा काम गरेका छैनन् । तर, उनी छिट्टै सानो पर्दामा फर्किने तयारी पनि गरिरहेका छन् । उनले भने, ‘मेरी बास्सै छोड्ने बित्तिकै यही फुटसलमा व्यस्त भएँ । अब भने पुनस् सिरियलमा फर्किनेछु ।’

मरिचमानलाई अब मेरी बास्सैमा भने देख्न पाइने छैन । उनी आफैँ नयाँ सिरियल निर्माण गर्दैछन् । निर्माण कम्पनी र उनीबिच कुराकानी भइरहेको छ । अब भने कागजी सम्झौता गरेर काम सुरु गर्ने तयारीमा मरिचमान रहेका छन् । उनले भने, ‘आगामी साउन १ गतेबाट दर्शकको लागि हामी नयाँ सिरियल लिएर आउने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment