Comments Add Comment

प्राइम बैंकले कन्काई एक्वायर गर्ने, चौतारी र आरम्भ मर्ज हुँदै

२२ जेठ, काठमाडौं । बुधबार ४ वटा बैंक तथा वित्तीय संस्थाहरुले गाभ्ने/गाभिने सम्बन्धी सम्झौता पत्रमा र हस्ताक्षर गरेका छन् ।

बुधबार प्राइम कमर्सियल बैंकमा कन्काई विकास बैंक गाभिने (एक्वायर गर्ने) गरी दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

बुधबार प्राइम कमर्सियल बैंक र कन्काईबीच भएको सम्झौतामा प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरे ।

दुई बैंकबीच भएको सम्झौता पत्रमा ३ महिनाभित्र मर्जर प्रक्रिया सक्ने उल्लेख गरिएको छ । स्वाप रेसियो भने डीडीए प्रतिवेदनको आधारमा तय हुने बताइएको छ ।

प्राइम काठमाडौं केन्द्रीय कार्यालय रहेको ‘क’ वर्गको बैंक हो भने कन्काई प्रदेश १ एकमा केन्द्रीय कार्यालय रहेको ३ जिल्ला कार्यक्षेत्र भएको ‘ख’ वर्गको विकास बैंक हो । हाल प्राइमको चुक्ता पुुँजी ८ अर्ब ३ करोड छ भने कन्काई विकास बैंकको पुँजी ५१ करोड ५० लाख रूपैयाँ रहेको छ ।

आरम्भ र चौतारी गाभिने

चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्था पनि बुधबार नै एक आपसमा गाभिने गरी सम्झौता गरेका छन् ।

बुधबार चौतारीको तर्फबाट अध्यक्ष जगतबहादुर पोखरेल र आरम्भको तर्फबाट अध्यक्ष दीपक तिवारीले हस्ताक्षर गरेका छन् । दुवै संस्था गाभिएपछि बन्ने नयाँ संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था हुने गरी सम्झौता गरिएको छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुबित्त संस्थाको चुक्ता पुँजी १८ करोड ६० लाख रहेको छ भने आरम्भको चुक्ता पुँजी ६ करोडको छ । आरम्भ लघु बित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । दुवै संस्था एक आपसमा गाभिए पछि कुल चुक्ता पुँजी २४ करोड ६० लाख रुपैयाँ हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment