Comments Add Comment

सलमानको ‘भारत’ : कस्तो छ कथा ?

केही सैद्धान्तिक र व्यवहारिक विवादबीच नेपाली सिनेमाघरमा हिन्दी चलचित्र ‘भारत’ प्रदर्शन भएको छ । सलमान खानले ईदको मौका छोपेर आफ्नो चलचित्र सार्वजनिक गर्छन्, त्यसैको सिलसिला जारी छ यसपटक पनि । सलमान खानका प्रसंशकका लागि यो प्रतिक्षित चलचित्र हो ।

पछिल्लो अवस्था चाहि के छ भने, बलिउडका प्रतिक्षित चलचित्रहरु एकपछि अर्को गोलखाडी गइरहेको छ । मिस्टर परफेक्शनिस्ट आमिर खान स्टारर ‘ठग्स अफ हिन्दुस्तान’को कुरा गरौं वा बलिउड बादशाह शाहरुख खानको ‘जीरो’को, सबै चिप्लिए । कंगना रणवतको ‘मणिकणिर्का’, अक्षयकुमारको ‘केसरी’ले पनि अपेक्षाकृत दर्शक पाउन सकेन । बलिउडका बिग बजेट चलचित्रलाई दर्शकले लोप्पा ख्वाइदिए ।

के ‘भारत’ पनि उहि ड्याङको मूला होला ? संशय उब्जनु स्वभाविक थियो । तर, सुरुवाती प्रतिक्रियाले फरक संकेत गरेको छ ।

सलमान खानको यो चलचित्र कस्तो छ त ? कथाप्रति धेरैलाई खास जिज्ञासा नहोला । किनभने यो दक्षिण कोरियाली चलचित्रको रिमेक हो । ‘ओड टु माइ फादर’ चलचित्रलाई ‘भारत’ बनाइएको हो ।

भारत चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । चलचित्रमा तब्बु, ज्याकी श्राफ र दिशा पटानीको महत्वपूर्ण भूमिका छ ।

कस्तो छ कथा ?

चलचित्रले भारत-पाकिस्तानको विभाजनलाई मियो बनाएर कथा भन्छ । यसलाई भारत -सलमान खान)को यात्राद्वारा पेश गरिएको छ ।

करिब सय करोड भारुमा बनेको यो चलचित्र खासमा एक इमोशनल ड्रामा हो, जहाँ पिता र पुत्रबीचको संवेदनशिल सम्बन्धलाई देखाइएको छ ।

चलचित्रको कथा १९४७ मा भएको भारत-पाकिस्तानको विभाजनबाट सुरु हुन्छ । भारत (सलमान)को पुरा परिवारले पाकिस्तानबाट भारततर्फ आउने निर्णय लिन्छ । तर, सोचेजस्तो सबैकुरा ठिकठाक हुँदैन ।

यस विभाजनले भारतका पिता (ज्याकी श्राफ) पाकिस्तानमै छुट्छ । अन्तिम समयमा ८ वषिर्य भारत समुन्ने पिताले प्रण गर्छ कि ऊ सधै आफ्नो परिवारको रक्षा गर्नेछ, चाहे जस्तोसुकै चुनौती किन झेल्न नपरोस् ।

आफ्ना पिताको यही वचन भारतको शक्ति बन्छ । उनी जुनसुकै अवस्थामा पिताको वचन सम्झेर काम गर्छ । यसपछि भारत र भारत मुलुकको यात्रा साथ-साथ देखाइएको छ । यस क्रममा भारतमा भएका केही महत्वपूर्ण घटनाक्रम पनि समेटिन्छ ।

भारत सन् १९६० मा ग्रेट रशियन सर्कसमा सामेल हुन्छ । त्यहाँ उनी ‘मौत का कुंआ’ जस्ता स्टन्ट गर्छन् । फेरी १९७० मा भारत खाडी मुलुक पस्छन्, जहाँ तेलको खोजी हुन्छ । त्यही नै उनको भेट कुमुद -क्याटरिना कैफ)सँग हुन्छ । उनीहरुको रोमान्स चल्छ, विवाह हुन्छ ।

त्यसपछि भारत भारितय नौसेनामा सामेल हुन्छन् । सन् १९९० मा उनी आफ्नो परिवारको व्यवसाय सम्हाल्छन्, जतिबेला आर्थिक उदारीकरणको क्रम सुरु भइसकेको हुन्छ ।

यससँगै उनी आफ्ना पिताको खोजी गर्छन् । तर, उनले पितालाई भेट्छन् कि भेट्दैनन् ? यसका लागि भने सिनेमा घरमा २ घण्टा ३५ मिनेट विताउनुपर्नेछ ।

एक्सन जनराको यो चलचित्रले सलमान खानको प्रशसंकलाई उत्साहित तुल्याउन सक्छ । यसका निर्देशक अली अब्बास जफर र सलमान खानले यसअघि सुल्तान र टाइगर जिन्दा है चलचित्र एकसाथ गरेका छन्, जो ब्लबकस्टर भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment