Comments Add Comment

हाजार्ड आएपछि कस्तो होला रियल मड्रिड ?

२४ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीका स्टार खेलाडी इडन हाजार्ड स्पेनिस क्लब रियल मड्रिड जाने लगभग पक्का भएको छ । उनलाई अन्य सुविधासमेत गरी झण्डै १०० मिलियन युरोमा तिरेर रियल मड्रिडले ल्याउन लागेको हो ।

आर्सनललाई हराएर चेल्सीले युरोपा लिगको उपाधि जितेपछि हाजार्ड मड्रिड आउने बाटो फराकिलो बनेको थियो । गएको सिजन नै हाजार्डलाई ल्याउने योजना बनाएको मड्रिड यसपटक भने सफल भएको छ ।

चेल्सीमा २०२० सम्मको सम्झौतामा रहेका हाजार्डका लागि १३० मिलियन युरोको मूल्य राखिएको भए पनि रियल मड्रिडले ८० मिलियन युरोमा ल्याउन पहल गरिरहेको थियो । तर युरोपा लिगको फाइनलमा हाजार्डले देखाएको खेल र उनी स्वयंको मड्रिड आउने इच्छाले पनि बीचमा सम्झौता गर्न दुवै क्लब राजी भएको देखिन्छ ।

गएको वर्ष नै यदि रियल मड्रिडले आफूलाई बोलाएमा जान इच्छुक रहेको हाजार्डले बताएका थिए । क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि नयाँ खेलाडीको खोजीमा रहेको मड्रिड पनि हाजार्डलाई ल्याउन इच्छुक थियो ।

चेल्सी र बेल्जियममा समेत नम्बर १० को जर्सी लगाउने हाजार्ड रियल मड्रिड आएपछि उनको जर्सी नम्बर कति हुने भन्ने यकीन छैन । मड्रिडमा १० नम्बर जर्सी लुका मोडरिकले लगाइरहेका छन् ।

भर्खरै सकिएको सिजन ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग सबैमा खराब प्रदर्शन गरेको र स्टार खेलाडीको अभाव हाजार्ड आएपछि पूरा हुने विश्वासमा रियल मड्रिड देखिन्छ । यसका साथै अट्याकिङ मिडफिल्ड या फरवार्डका रुपमा प्रयोग गर्न सकिने हाजार्डको खेल क्षमता त अब्बल छँदै छ ।

चेल्सीमा हुँदामात्रै होइन बेल्जियमको ट्युबिज क्लबमा युवा उमेरमा रहँदा होस् या फ्रान्सको फ्रेन्च क्लब लिलेमा २००७ देखि ०१२ सम्म रहँदा होस् हाजार्डले आफ्नो अब्बल खेल कौशल देखाएका थिए । त्यसैले २०१२ मा चेल्सी आएका उनले विश्व फुटबलका उत्कृष्ट खेलाडीको सूचीमा आफ्नो नाम लेखाएका छन् ।

विश्वकप फुटबलमा बेल्जियम टिमबाट उनले देखाएको खेलको त धेरै फुटबल समर्थकले प्रशंसा गरेका थिए । त्यसैले विश्वकप हेरेका हरेक फुटबल समर्थकले हाजार्ड कस्ता खेलाडी हुन् भन्ने राम्ररी नै देखेका छन् ।

तीब्र र कुशल खेल क्षमताका साथ बल बुझेर अगाडि बढ्ने हाजार्डको विशेषता हो । गोल गर्ने र गोलका लागि अवसर सिर्जना गर्न सक्ने दुबै कलामा उनी पोख्त छन् ।

२०१२ मा ३२ मिलियन युरोमा चेल्सी आएपछि हाजार्डले खेलेका ३५२ खेलमा ११० गोल गरेका छन् । उनले चेल्सीबाट दुईपटक प्रिमियर लिग र दुई पटक नै युरोपा लिग जिते । यस्तै उनले एफए कप र लिग कप पनि जितेका छन् ।

ब्राजिलियन डिफेन्डर इडर मिलिटाओ र जर्मन क्लब इन्ट्राच्ट फ्रान्कफ्रटबाट फरवार्ड लुका योभिचलाई ल्याएको मड्रिडले हाजार्डलाई ल्याएपछि पनि केही खेलाडी ल्याउने इच्छा देखाइरहेको छ । त्यसमा प्रशिक्षक जिनेदिने जिदानको भूमिका प्रमुख रहेको छ । गएको सिजनको खराब नतिजाका कारण टिममा ठूलो हेरफेर गर्ने पक्षमा जिदान देखिएका छन् । रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा आवश्यक पर्ने ठूलो निर्णय लिने छुट जिदानलाई दिएका छन् ।

गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जिताएर जिदानले छाडेपछि प्रशिक्षक बनेका जुलेन लोपेटेगी र सान्टियागो सोलारीबाट पनि अपेक्षाकृत काम नभएपछि क्बलले सिजनको अन्त्यतिर जिदानलाई नै फिर्ता ल्याएको थियो । जिदान आएपछि पनि खराब देखिएको मड्रिडको अवस्था सुधार्न नयाँ खेलाडी ल्याउनुको विकल्प नरहेको उनैले बताउँदै आएका थिए ।

यसैले हाजार्डको आगमन जिदानकै योजनाअनुरुप मड्रिडको भविष्यसँग जोडिएको छ । हाजार्डको आगामनले खेल मात्रै नभएर रियल मड्रिडको ब्यापारलाई पनि लाभ पुग्ने अनुमान गरिएको छ । यसको एउटा उदाहरणको रुपमा मड्रिडले हाजार्डको जर्सीबारे गरेको हतारोलाई हेर्दा बुझ्न सकिन्छ । उनको जर्सीको नम्बर कति हुने भन्ने विषय मड्रिडको ब्यापारसँग जोडिएको छ ।

चेल्सी र बेल्जियममा समेत नम्बर १० को जर्सी लगाउने हाजार्ड रियल मड्रिड आएपछि उनको जर्सी नम्बर कति हुने भन्ने यकीन छैन । मड्रिडमा १० नम्बर जर्सी लुका मोडरिकले लगाइरहेका छन् । भर्खरै सार्वजनिक भएको रियल मड्रिडको नयाँ सिजनको जर्सीमा हाजार्डलाई मोडलिङ गराउँदा ब्यापार बढ्नेमा मड्रिड व्यग्र रहेको देखिन्छ ।

भर्खरै सकिएको सिजन चेल्सीमा हाजार्डले गरेका १६ गोल र १५ गोलका अवसरलाई हेर्दा उनी स्पेन आएपछि पनि मैदानको केन्द्रमा रहने देखिन्छन् । चेल्सीले गरेको गोललाई हेर्दा ४९ प्रतिशत गोलमा हाजार्डको प्रत्यक्ष भूमिका देखिएको थियो । युरोपा लिगको उपाधि जिताउन मात्रै होइन चेल्सीलाई आउँदो सिजनको च्याम्पियन्स लिगमा अब्बल बनाउन पनि हाजार्डको भूमिका ठूलो छ ।

यता रियल मड्रिड ला लिगामा च्याम्पियन बार्सिलोनाभन्दा १९ अंकले पछि रहेर सिजनको अन्त्य ग¥यो । नयाँ सिजनको मुख्य खेलाडीकै रुपमा हाजार्ड मड्रिड ल्याइन लागेका हुन् । यसले आउँदो सिजनमा रियल मड्रिडमा हाजार्डको भूमिका अरु कुनै पनि खेलाडीको भन्दा बढ्ने देखिन्छ ।

तथ्यांकलाई हेर्ने हो भने पनि प्रिमियर लिगमा १६ गोल, १५ असिस्ट, ओपन प्लेमा बनाएका ८० अवसर, १३८ सफल ड्रिबल, २ हजार ६ सय ७८ बल टच र ३८७ फरवार्ड पास आदिलाई विचार गर्दा उनको स्ट्राइकर क्षमता प्रस्ट हुन्छ । यसको उपयोग करिम बेन्जेमामा मात्रै निर्भर रहेको मड्रिडमा ठूलो हुनेछ ।

प्रशिक्षक जिदानले ग्यारथ बेल नयाँ सिजनका लागि मड्रिडमा योग्य नरहेको सार्वजनिक रुपमा नै बताउँदै आएका छन् । यसैले मड्रिडमा गएको सिजन २१ गोल गरेका करिम बेन्जेमा र हजार्डको संयोजन मिलाउन जिदानको सोच महत्वपूर्ण हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment