Comments Add Comment

अध्यक्षले कुटपिट गरेको भन्दै दिनभर चक्काजाम !

Photo Credit : फाइल तस्वीर

२४ जेठ, विराटनगर । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कुटपिट गरेको विरोधमा एक व्यक्तिले शुक्रबार दिनभर सडकमा चक्काजाम गरेका छन् । कटहरी २ मा भएको बिहीबार राति भएको विवाहमा अध्यक्षले कुटपिट गरेको आरोपसहित स्थानीय सुदाम कार्कीले शुक्रबार विहान ८ बजेदेखि ३ बजे सम्म विराटनगर हाटखोलाबाट रंगेली हुँदै आमतोला पुग्ने सडक अवरुद्ध गरेका हुन् ।

कार्की नेपाल स्वतन्त्र यातायात मजदुर संगठन हाटखोला इकाई अध्यक्ष हुन् । बिहीबार रातिको बिहेमा अध्यक्ष कामतसहित बेहुली पक्षका व्यक्तिले कुटपिट गरेको कार्कीको आरोप छ । ‘हिजो बिहेमा केटाहरुले होहल्ला गर्दा मेयरले ‘त को होस्’ भन्दै धकेले,’ उनले भने, ‘अध्यक्षले धकेलेपछि अरुले कुटपिट गर्दा पाँच तोलाको सिक्री र औंठी हरायो ।’

अध्यक्षलाई कारवाही माग गर्दै कार्कीसहितको समुहले जाम गर्दा उक्त सडकमा गाडी चल्न पाएन । दिउँसो ३ बजे प्रहरीमा जाहेरी दिएपछि उनीहरुले चक्काजाम फिर्ता लिए ।

अध्यक्ष भन्छन् : मैले जोगाएको हो

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत विवाहमा होहल्ला गरेपछि स्थानीयले कुटपिट गर्न खोज्दा आफूले कार्कीलाई जोगाएको बताएका छन् । वेहुली पक्ष र जन्तीपक्षको निम्तो बिना पुगेका कार्कीले हल्ला गरेपछि स्थानीयले कुटपिट गर्न खोजको उनको भनाइ छ ।

‘सम्धीको छोरीको विहेमा गएको बेला मुख छाड्दै होहल्ला गरे’ कामत भन्छन् ‘स्थानीयबाट मैले उनलाई जोगाएको कुटपिट गरेको होइन ।’ आफूले जोगाएपछि कार्की अर्का साथीसँग मोटरसाइकलमा भागेको उनको भनाइ छ ।

कार्कीले औठी र सिक्रो हराएको दाबि गरिरहँदा अध्यक्ष कमत भने कार्की आफैले सिक्री खोलेर बोकेको आफूले देखेको बताउछन् । ‘होहल्ला
गरेपछि फर्काएर म घर आएँ’ उनी भन्छन् ‘ती भाई मैले चिनेकै हुन, पछि फेरि पुगेछन्, मैले १०० मा फोन गरेर प्रहरीलाई बोलाउनु भने ।’ उनले कार्कीको आरोप निराधार भएको बताए ।

प्रहरी भन्छ : कुटपिट भएको छैन

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले कार्कीमाथि कुटपिट नभएको बताए । मध्यरातमा बिहेमा होहल्ला गरेपछि प्रहरीले उनलाई जोगाएको उनले बताए ।

उनका अनुसार राति करिब १२ बजे कार्कीले प्रहरीलाई आफूमाथि कुटपिट भएको भन्दै फोन गरेका थिए । फोन आएलगत्तै बिहे घरमा पुगेको प्रहरीले लुकेर बसेका कार्कीलाई बोलाएका थियो । कार्की बिहेमा पुग्दा स्थानीय आक्रोशित बनेपछि प्रहरीले उनलाई जोगाएर हाटखोलासम्म ल्याएको थियो ।

अनुसन्धानका क्रममा अध्यक्षले कुटपिट गरेको नदेखिएको उनले बताए । बेहुली र जन्तीपक्षले कुटपिट गर्न खोज्दा अध्यक्षले जोगाएको श्रेष्ठले जानकारी दिए । शुक्रवार विहान चक्काजाम भएपछि प्रहरीले कार्की र मेयरलाई छलफलकालागि बोलाएको थियो । छलफलका क्रममा कार्कीले गल्ती स्वीकार गर्दै चक्काजाम फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment