Comments Add Comment

विशालको नजर : पुलिस क्लबपछि राष्ट्रिय टिमतिर

२६ जेठ, काठमाडौं । भलिबल विशालको विकको प्यासन हो । तर यति छाटो समयमा राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य भइएला भन्ने उनले पनि सोचेका थिएनन् ।

२२ वर्षका विशाल नेपाली भलिबलका ‘विशाल’ सम्भावनाका रुपमा उदाएका छन् ।

२०६९ सालमा एसएलसी पास गरेपछि काठमाडौं आएका थिए । काठमाडौं आउनुको बाहिरी उद्देश्य कलेज पढ्नु भएपनि भित्री उद्देश्य भलिबल खेलाडी बन्नु थियो ।

दुई वर्ष उनले कक्षा ११ र १२ पढे । पढाई राम्रै भएकाले पास हुन गाह्रो भएन । प्लस टु पढ्दा पनि भलिबल मोह घटेन । काठमाडौंमा भएका प्रतियोगिताहरु हेर्न छुटाएनन् । जहाँ प्रतियोगिता, त्यहाँ विशाल । विशाल भन्छन्, ‘नयाँबजार, बसपार्क, जावलाखेल कुनै पनि ठाउँको भलिबल छुटाइनँ ।’

एकदिन नयाँ बसपार्क गएका बेला महाविर छन्त्याललाई भेटे । त्यहाँ ढोरपाटन राष्ट्रिय महिला भलिबल प्रतियोगिता चलिरहेको थियो । अवसरको पर्खाइमा रहेका विशालले छन्त्यालकै माध्यमबाट पुलिसका कप्तान इम रानालाई भेट्ने अवसर पाए । विशालका लागि यो नै भलिबलमा प्रवेश गर्ने नयाँ टर्निङ प्वाइन्ट थियो । इम रानाले उनलाई भोलिपल्टै अभ्यासमा बोलाए ।

७ महिना ट्राफिक पुलिस

पुलिस क्लबकै कप्तानले बोलाएपछि बिशाल मख्ख थिए । उनी गए तर, सोचेको भन्दा फरक नियम पाए ।

क्लबबाट खेल्नुअघि प्रहरीमा जागिर खानुपर्ने भयो । उनी त्यसका लागि तयार नहुने कुरै थिएन । आधारभुत तालिममा गइसकेपछि उनको दरबन्दी ट्राफिक प्रहरीमा पर्‍यो । ट्राफिकको ड्युटी करिब ६–७ महिना गरे’ उनी थप्छन्, ‘बेलुका र राति ड्युटी गर्थे । बिहान अभ्यास गर्न महाराजगञ्जमा पुग्थेँ ।’

झापामा राष्ट्रिय प्रतियोगिता हुने भयो । पुलिसले तयार थाल्यो । विशालले ट्राफिकको ड्युटी छाडेर भलिबलमै केन्द्रित हुन पाए । सिक्दै गरेका विशाल र स्टार खेलाडीहरु एकै ठाउँमा भए । उनलई डर पनि थियो तर, उनको महेनतले जित्यो । भन्छन्, ‘२०७३ वैशाखदेखि टिममा परेँ असारदेखि निरन्तर खेल्न थालेँ ।’

एसियाडदेखि राष्ट्रिय टिममा

क्लबमा निकै राम्रो प्रदर्शन गरेपछि उनको तारिफ हुन थाल्यो । नेपाल भलिबल संघले हरेक वर्ष प्रदान गर्ने ‘उदयीमान खेलाडी वर्ष २०७३’ अवार्ड पाए । योसँगै उनको चर्चा बढ्यो ।

२०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा नेपाली पुरुष भलिबलले ३२ वर्षपछि भाग लिँदा टिममा विशालले पनि टिममा स्थान बनाए । उनका लागि यो अर्को अध्यायको आरम्भ थियो । उनले कोरियाबिरुद्ध खेले ।

त्यसअघि राष्ट्रिय टिमको क्लोज क्याम्पसम्म परेका थिए । तर टिममा पर्न नसेकेका उनी एसियन गेम्सका लागि टिममा पर्दाको क्षण अविस्मरणीय रहेको बताउँछन् ।

नेपाल भलिबल संघले केही दिनअघि मात्रै १३ को दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै २५ सदस्यीय प्रारम्भिक टिमको छनोट गरेको छ । टिममा विशाल पनि छन् । उनको एउटै लक्ष्य छ, प्लेइङ सिक्सभित्रै अट्ने । ‘एसियन गेम्समा सिनियर दाइहरु हुनुहन्थ्यो । धेरै खेल्न पाइएन । अब नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदमा आफ्नो स्थान १२ मा मात्र नभएर ६ मा पर्ने लक्ष्य लिएको छु,’ विशालले सुनाए ।

आठौंको त्यो स्वर्ण

२२ वर्षीय विशाल ६.२ इन्च अग्ला छन् । यही हाइटले उनलाई भलिबलमा सघाएको छ । अहिले उनी पुलिसका भरपर्दा ओपन स्पाइकर मानिन्छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा पुलिसले स्वर्ण पदक जित्दा विशालको महत्वपूर्ण भूमिका रह्यो । भन्छन्, ‘आठौं खेलकुदका लागि दुई–तीन महिना अगाडिदेखि अभ्यास थालेका थियौं । हाम्रो लक्ष्य गोल्ड मेडल थियो । अरु प्रतियोगिताभन्दा महत्वपूर्ण भएकाले यसैमा हाम्रो ध्यान केन्द्रित थियो ।’

उसो त आठौं खेलकुद अगाडि पुलिसले लगातार तीनवटा प्रतियोगिता जितिसकेको थियो । इटहरीमा भएको सभामुख कप, चितवनमा बृहत प्रथम पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता र चितवनमै भएको मेयर कपको उपाधि पुलिसले चुमेको थियो ।

आठौं खेलकुदपछि पनि ताप्लेजुङमा सम्पन्न तेस्रो राष्ट्रिय पुरुष भलिबल पाथीभारा कपको उपाधि पनि पुलिसले जितेको छ । पछिल्लो समयमा पुलिसले पाँच प्रतियोगिताको उपाधि जित्दा फाइनलमा आर्मीलाई हराएको छ ।

आफ्नो टिमलाई उपाधि जिताउँदा मध्येकै उत्कृष्ट क्षण भने आठौं राष्ट्रिय खेलकुदको लाग्छ विशाललाई । ‘मैले बल खसाल्दा सबैले विशाल..विशाल..विशाल… भनेर हुटिङ गरिरहनु भएको थियो । यसले झनै रोमाञ्चकता दियो ।’

बाबु थला परेपछि परिवारको जिम्मेवारी

विशाल विकको घर बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर सातमा पर्छ । उनी परिवारका जेठो छोरा हुन् । घरमा उनका बाबु, आमा, दुई बहिनी र एक भाइ छन् ।

सदरमुकामबाट करिब तीन घण्टा बस यात्रा गरेपछि घर पुगिन्छ । अहिले घरमा बाबु विरामी छन् । लामो समय भारतको दिल्लीमा नोकरी गरेर परिवार पालेका बाबु विरामी परेसँगै घरको सबै आर्थिक दायित्व विशालकै काँधमा छ ।

भाइ बहिनीको पढाई खर्चदेखि सबै उनले हेर्छन् । खेलमा परिवारबाट पनि सहयोग मिलेको विशालले बताए । भन्छन् ‘खेल सकिएपछि बेलुका घरबाट फोन गर्नु हुन्छ । जितेको सुनाउँदा खुशी मान्नुहुन्छ । आशिर्वाद दिनुहुन्छ । यसले मलाई उर्जा थप्छ ।’

भलिबल आफ्नो नशा–नशामा भएको बताउने विशाल विहान टिमसँग दैनिक चार घण्टा प्रशिक्षण गर्छन् भने बेलुका आफैं अभ्यास गर्छन् । ‘मेरो लक्ष्य भनेको नेपालको उत्कृष्ट खेलाडी बन्ने हो । त्यसमा म कहिल्यै हिम्मत हार्दिन,’ उनी भन्छन्, ‘राष्ट्रिय टिमको प्रशिक्षणको दौरानमा होस् या पुलिस क्लबको अभ्यास । दाइहरुबाट केही नयाँ कुरा सिक्न खोजिरहेको हुन्छु ।’

फोटोः विकास श्रेष्ठ/चन्द्र आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment