Comments Add Comment

सीएफएल घोटालाका सर्जक : डोल्पादेखि झापासम्म उस्तै तरिका

डोल्पाको भिडियो बनाउनेलाई गौरदहमा ५ लाख निकासा

२६ जेठ, इटहरी । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले यसअघि डोल्पामा भ्रष्टाचार गरेवापत विप्लव माओवादीको ‘जनकारवाही’ भोगेको खुलेको छ ।

डोल्पामा विप्लव समूहको जनकारवाही भोगेपछि इटहरी उपमहानगरपालिकामा आएका मिश्रले त्यहाँ पनि आफ्नो बानी सुधारेनन् । अहिले गौरादह नगरपालिकामा पनि मिश्रको बानी सुध्रिएको छैन ।

झापाको दुवागडी स्थायी घर भएका मिश्र इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका बेला सीएफएल बत्ती खरिद प्रकरणमा आर्थिक अनियमिततामा मुछिए । त्यही घुसकाण्डले मेयर द्वारिकलाल चौधरीले अख्तियारमा वयान दिनु परेको छ भने सीएफएलमा घुस खाएका मिश्र र अन्य कर्मचारीहरुले अहिलेसम्म उन्मुक्ति पाइरहेका छन् ।

यो पनि पढ्नुहोस्-

सीएफएल घुसकाण्ड : इटहरीका ‘नरे’ गौरादहमा सरे !

हरेक ठाउँमा आर्थिक विवादमा तानिने गरेका मिश्र इटहरीमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनुअघि डोल्पाको स्थानीय विकास अधिकारी (एलडीओ) थिए । त्यहाँ रहँदा उनले घुस खाएको भन्दै विप्लव माओवादीले ‘जनकारवाही’ गरेको थियो ।

विप्लव माओवादीका तत्कालीन डोल्पा इञ्चार्ज अजितले ०७४ असार २५ गते जारी गरेको प्रेस विज्ञप्तिमा मिश्रमाथि ‘सांकेतिक जनकारवाही’ गरिएको उल्लेख छ ।

तत्कालीन एलडीओ रेग्मीले डोल्पा जिल्लाको समग्र विकास बजेटमा करोडौं भ्रष्टाचार गरेको, योजनाको काम सम्पन्न नगरी भुक्तानी दिएर कमिसन लिने गरेको र कर्णाली रोजगारको करोडौं बजेट जिल्लामा ठेक्का आह्वान गरी कमिसन खाँदै आएको विप्लव माओवादीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

झापाको भिडियोग्राफर डोल्पामा मालपानी !

प्रशासकीय अधिकृत मिश्रले इटहरी उपनगरपालिकामा रहँदा कोटेसनमार्फत हुने स-साना योजनाहरुमार्फत कमिसन खाने गरेको त सीएफएल प्रकरणको छानविन समितिले नै उजागर गरिसकेको छ । यसक्रममा मिश्रले आफ्ना नजिकका मानिसहरुमार्फत आर्थिक कारोबार गर्ने गरेको पाइएको छ ।

यसैवीच मिश्रले डोल्पामा छँदा झापाका एकजना भिडियोग्राफरलाई डोल्पा जिल्लाको डकुमेन्ट्री बनाइदिन भन्दै लाखौं रकम निकासा गराएर अनियमितता गरेको पाइएको छ ।

रोचक त क छ भने डोल्पा पुगेका तिनै भिडियोग्राफरले अहिले मिश्रसँगको साँठगाँठका आधारमा गौरादह नगरपालिकाको डकुमेन्ट्री बनाउने ठेक्का पाएका छन् ।

डोल्पाबाट इटहरी हुँदै गौरादह आइपुगेका मिश्रले आफ्ना ती पुराना पार्टनरलाई करिब १० मिनेटको भिडियो बनाउन लगाएर ५ लाख रुपैयाँको बिल भौचर गौरादह नगरपालिकामा पेश गरेको एक कर्मचारीले अनलाइखबरलाई जानकारी दिए । तर, त्यो बिल अहिलेसम्म स्वीकृत भइसकेको छैन ।

आफूलाई ‘टीभी जर्नालिष्ट’ बताउने ती भिडियोग्राफरले विभिन्न सरकारी निकायहरुबाट त्यसैगरी चर्को मूल्यमा सामान्य भिडियो बनाउँदै विपरीत लाखौं रकम लिने गरेको स्रोत बताउँछ ।

सागर मिश्रका पुराना पार्टनर रहेका ती व्यक्तिले आफूलाई पत्रकार बताए पनि उनले ओली सरकारले मिडिया काउन्सिल ऐन ल्याएर सरकारले सही काम गरेको बताउने गरेका छन् ।

नेकपा नेताको सोर्स

प्रमुख प्रशासकीय अधिकृत मिश्र सुरुमा झापा जिल्ला प्रशासनमा कार्यरत थिए । त्यसपछि उनी गृहमन्त्रालयमा सरुवा भए । इटहरीमा हुँदा उनले आफू अख्तियारमा पनि बसेर आएको बताउने गरेका थिए ।

प्रधानमन्त्री ओलीकै गृह जिल्लानिवासी मिश्र पूर्वएमालेमा संगठित रहेको स्रोत बताउँछ । तर, उनले कांग्रेसका नेताहरुलाई पनि खुशी पार्ने काइदा राम्रोसित जानेका छन् ।

पछिल्लो समय इटहरीका मेयर द्वारिकलाल चौधरीलाई समेत भ्रष्टाचारको विवादमा फसाएर उनी सरक्क गौरादह पुग्नुमा नेकपाका ठूलै नेताको साँठगाँठ रहेको र उनी कार्की थरका नेकपा नेताको सोर्सबाट गौरादह नगरपालिकामा पुगेको दाबी स्रोतको छ ।

गौरादह नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रोहितकुमार साह विजयी भएकाले सत्तारुढ नेकपाका नेताले आफूनिकटको कर्मचारी छानेर मिश्रलाई गौरादहमा पुर्‍याएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment