Comments Add Comment

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङलाई कारबाहीको तयारी !

२६ जेठ, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन मिति असार २७ गतेका लागि तोकिएपछि व्यवसायीहरुबीच विवाद भएको छ ।

यही विषयलाई लिएर नेकपा निकटको प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले निर्देशन नटेरेको भन्दै संघका अध्यक्ष रोहन गुरुङलाई कारबाहीको तयारी गरेको छ ।

संघको वैठकले असार २७ गते कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेपछि मञ्चका पदाधिकारीहरु रुष्ट बनेको श्रोतको दावी छ । स्रोतका अनुसार मञ्चका पदाधिकारीहरुले भदौ १८ गते पछि निर्वाचन गर्न अध्यक्ष गुरुङलाई भनेका थिए । तर मञ्चको सल्लाह विपरीत निर्णय भएपछि गुरुङलाई कारबाही गर्न लागेको मञ्चनिकट श्रोतको दावी छ ।

‘एक पटक होइन पटक–पटक रोहनजीले मञ्चको आग्रहलाई बेवास्ता गर्नुभयो’ मञ्चका एक सदस्यले भने, ‘पछिल्लो पटक निर्वाचन भदौ १८ भन्दा अघि नगर्न मञ्चले भनेको थियो, त्यो पनि बेवास्ता गरेपछि मञ्चको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरिएको हो ।’

मञ्चका अध्यक्ष चित्र साँवा लिम्बूले पनि यस विषयलाई पुष्टि गरेका छन् । उनले मञ्चको प्रतिनिधित्व गरेर संघमा जाने व्यक्तिले मञ्चको निर्देशन सुझाव मान्नैपर्ने बताए । नमानेमा कारबाही हुनु स्वभाविक भएको लिम्बुले प्रतिक्रिया दिए ।

‘अहिले चुनावको आवश्यकता होइन, यहाँ व्यवसायीहरुका समस्या धेरै छन् त्यसतर्फ ध्यान दिनुपर्छ भन्ने कुरा हो’ लिम्बूले अनलाइनखबरसँग भने, ‘चुनाव ६ महिनापछि गरे पनि हुन्छ, मन्त्री ज्यू पनि सकरात्मक भएको अवस्थामा पहिले व्यवसायीका अन्य समस्याहरु समाधान गर्नुपर्ने हाम्रो आवश्यकता छ ।’

अध्यक्ष गुरुङ मञ्चकै प्रतिनिधित्व गर्दै संघको अध्यक्षमा निर्वाचित भएका थिए ।

असारपछि मात्रै चुनाव गर्ने गरी मञ्चको निर्देशन आएको अध्यक्ष गुरुङले स्वीकार गरे । तर आफूले विधान अनुसार काम गरिररहेको गुरुङको दावी छ ।

राजनीतिक आस्थाको हिसाबले आफू नेकपाकै भएको र प्रगतिशील मञ्चकै कारण चुनाव जितेको भए पनि मञ्चले भनेकै भरमा निर्वाचन सार्न आफूलाई अप्ठेरो परेको उनले बताए ।

‘हाम्रो २ वर्षको कार्यकाल असार ३० गते सकिदैछ, त्यो भन्दा अगाडि हामीले निर्वाचन गर्नुपर्छ’ अध्यक्ष गुरुङले भने, ‘जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो, सबै व्यवसायीहरुले लिखित रुपमै मञ्जुरी जनाएको अवस्थामा र प्रशासन कार्यालयले स्वीकार गरेको अवस्थामा निर्वाचन सार्न मलाई कुनै समस्या छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment