Comments Add Comment

छापामा आज : बाबुराम–उपेन्द्रको पार्टीमा सुरुमै दुई धार

२७ जेठ, काठमाडौं । समसामयिक राजनीतिसँगै कोरिया आकर्षण, स्याटेलाइट खरिद, सार्वजनिक जग्गा दुरुपयोगलगायत विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् ।

बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको दलमा दुई धार देखिएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार, सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र विवाद देखिएकाे छ ।

सार्वजनिक रुपमा पार्टी अध्यक्ष यादव र र परिषद् अध्यक्ष भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् । अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा नरहेको कान्तिपुर समाचारमा उल्लेख छ ।

भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद गर्न लागेको अर्को खबर पनि कान्तिपुरमा छ । तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा सम्झौता गर्ने तयारी रहेको कान्तिपुरको दाबी छ ।

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहमा खड्गबहादुर विश्वकर्मा हाबी हुन थालेको खबर कान्तिपुरको भित्री पृष्ठमा छ । ठीक ढंगले काम नगरेको भन्दै केही समय पार्टीको आन्तरिक निगरानीमा परेका खड्गबहादुर अहिले फेरि प्रवक्ताको रुपमा बाहिर देखापरेका छन् । पार्टीभित्र पनि उनले पकड बढाउँदै लगेका छन् । पार्टी महासचिव विप्लवसमेत गुमराहमा परेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले नेपाली युवाहरुमा देखिएको कोरिया आकर्षणबारे फरक ढंगले समाचार प्रस्तुत गरेको छ । समाचार अनुसार १० हजार सिटका लागि यस वर्ष ८४ हजारले परीक्षा दिएका छन् । पछिल्ला चार वर्षमा कोरिया जान युवाले ९५ अर्ब ९५ करोड खर्च गरेका छन् । तर, उताबाट २६ अर्ब ८८ करोड रेमिट्यान्स मात्र भित्रिएको छ ।

‘भाषा सिक्न मात्रै वर्षमा सवा नौ अर्ब खर्च हुने गरेको छ । यो पैसाले हरेक वर्ष ४५ मेगावाटको विद्युत् आयोजना बन्न सक्छ । स्वदेशमै रोजगारी र मुनाफा आउन सक्छ । तर सोचिदिने कसले ?’ नयाँ पत्रिकाले यसको भित्री पाटो खोतल्दै प्रश्न गरेको छ ।

क्षयरोग नियन्त्रणबाहिर गएको तथ्य आजको नागरिकले प्रस्तुत गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो तथ्य औंल्याएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार, क्षयरोग नियन्त्रण गर्न २२ अर्ब रुपैयाँ खर्च भएको छ । तर, यो नियन्त्रणको साटो थप बढ्दै गएको छ । सन् २००५ मा करिब ४५ हजार बिरामी रहेकामा अहिले यो संख्या ८० हजार पुगेको अनुमान गरिएको छ । नेपालमा यो रोगबाट वार्षिक करिब ७ हजारको त मृत्यु नै हुन्छ ।

नागरिक लेख्छ– नेपालले विभिन्न अवधिमा अन्तर्राष्ट्रिय स्तरमा क्षयरोग नियन्त्रणमा गरेको प्रतिबद्धता अनुसार कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षयरोग नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलासा पनि आजको नागरिकले गरेको छ । नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको दाबी उसको छ ।

जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक खण्ड निर्माणमा देखिएको बेथितिलाई अन्नपूर्णले उधिनेको छ भने राजधानीले स्थानीय तहका लागि लोकसेवाले माग गरेको विज्ञापनलाई लिएर विवाद बढिरहे पनि ७० हजारले आवेदन भरेको तथ्यांक प्रस्तुत गरेको छ ।

‘विश्वविद्यालय शिक्षामा अन्तर्राष्ट्रियकरण अपरिहार्य’ भनेर राष्ट्रपतिले व्यक्त गरेको भनाइलाई सरकारी मुखपत्र गोरखापत्रले मुख्य समाचार बनाएर छापेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment