Comments Add Comment

हावाहुरीले पोल्ट्री व्यवसाय तहसनहस

२७ जेठ, कैलाली । हावाहुरीले कैलाली र कञ्चनपुरको पोल्ट्री व्यवसाय नै तहसनहस बनाइदिएको छ । बिहीबार राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति गरेको हो ।

हावाहुरीले खोर भत्काउनुका साथै, त्यसमा रहेको कुखुरासमेत उडाएर लगेको व्यवसायीले जनाएका छन् । यसैगरी, छाना र खोर भत्किदा अत्यधिक कुखुरा मरेका छन् ।

‘मेरो तीनवटा खोर भत्किदा धेरै कुखुरा च्यापिएर मरे’, धनगढी उपमहानगरपालिकास्थित जुगेडाका पोल्ट्री व्यवसायी दीपेन्द्र सिंहले भने, ‘सबै गरेर झन्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।’

सिंहले तीन वटा खोरमा १२ हजार लेयर्स जातका कुखुरा पालन गरेका थिए । हावाहुरीले छाना र खोर भत्किदा डेढ हजार कुखुरा च्यापिएर मरेको उनले बताए । ‘छाना नहुँदा बाँकी रहेका कुखुरा गर्मीले दैनिक दुई/तीन सय मरिरहेका छन्’, उनले भने, ‘जिल्लामा सबैभन्दा बढी क्षति मैले नै बेहोर्नु परेको छ ।’

सिंहले खोर र गोदाम निर्माणमा ३० लाख रुपैयाँ खर्च गरेका थिए । उनले गोदाम र खोर दुवै ध्वस्त भएको जनाए । उनले कुखुरा र फार्मको बीमा गरेका छन् ।

हावाहुरीले खोरको छानोसँगै खोरमा रहेका कुखुरा पनि उडाएर लगेको छ । धनगढी उपमहानगरपालिका-२ कालिका टोलमा कुखुरा पालन गर्दै आएका व्यवसायी कृष्णसिंहले हावाहुरीले करिब ४५ लाख रुपैयाँको क्षति गरेको बताए ।

‘खोरमा तीन हजार २०० लेयर्स कुखुरा थिए’, उनले भने, ‘छानासंगै कुखुरालाई पनि हावाहुरीले उडाएर लग्यो ।’ दुई वर्षदेखि कुखुरा पालन गरिरहेको आफूले दोस्रो वर्षमै ठूलो नोक्सान व्यहोर्नु परेको सिंहको भनाइ छ ।

दुई वटा खोरमामात्रै १८ लाख रुपैयाँ लगानी गरेको जनाउँदै उनलेे हावाहुरीले खोरलाई तहस नहस पारेको उल्लेख गरे । ‘अब न खोर रहृयो, न कुखुरा रहे’, सिंहले भने, ‘दुवैको बीमा गराएको थिएन ।’

कैलालीमा करिब अढाइ सय व्यक्तिले कुखुरा पालन व्यवसाय गर्दै आएका छन् । करिब १५० किसानको पोल्ट्री फार्ममा हावाहुरीले क्षति गरेको कुखुरा तथा अण्डा व्यवसायी सङ्घ कैलालीले जानकारी दिएको छ । जसमध्ये, ४०/५० किसानको फार्ममा अत्यधिक नोक्सान भएको सङ्घको ठहर छ ।

अहिलेसम्म क्षतिको यकिन विवरण नआए पनि कुखुरा पालक किसानले धेरै ठूलो आर्थिक नोक्सान व्यहोरेको सङ्घका कोषाध्यक्षसमेत रहेको दीपेन्द्र सिंहको भनाइ छ । ‘अब संघको बैठक बोलाएपछि मात्रै वास्तविक नोक्सानको आँकडा आउँछ’, उनले भने ।

तर, खुकुरा दाना तथा चल्ला व्यवसायी भुवन भट्टले कैलाली, कञ्चनपुर दुवै जिल्लामा गरेर १० करोड बराबर नोक्सान भएको उल्लेख गरे । ‘दुवै जिल्लामा किसानलाई अत्यधिक क्षति भएको छ’, उनले भने ।

हावाहुरीले गोदावरी नगरपालिका-८ मजगाउँमा रहेको धनेन्द्र चौधरीको उर्मिला पोल्ट्री फार्ममा १५ लाख रुपैयाँ बराबरको क्षति गरेको छ ।

हावाहुरीले एक हजार तीन सय कुखुरा मरेको र दुई वटा खोर भत्केको चौधरीले जनाए । ‘दुवै खोरमा गरेर छ हजार लेयर्स हालेको थिए’, उनले भने, ‘खोर भत्किदा धेरै मरे ।’

कुखुरा र फार्मको बीमा गराए पनि बीमा कम्पनीले क्षतिपूर्ति दिन आनकानी गरिरहेको किसानले बताएका छन् ।

क्षतिको मुचुल्कासहित बीमाका लागि पहल गर्दा कम्पनीले हावाहुरीले गरेको क्षतिमा बीमा दिन नमिल्ने बताएको चौधरीको भनाइ छ । ‘भूकम्प र आगलागीबाट भएको क्षतिमामात्रै बीमा दाबी गर्न मिल्छ भनेर बीमा कम्पनीले भन्यो’, उनले भने ।

यता आईतबार बसेको सुदूरपश्चिम प्रदेश मन्त्रीस्तरिय बैठकले हावाहुरीबाट मृत्यु र घर क्षति भएकालाई राहत दिने बताएपनि कृषि र पशु क्षतीमा भने अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन ।

प्रदेश सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पशुपंछी र बालीनालीको क्षतीको बारेमा सम्बन्धित मन्त्रालयलाई जिम्मेबारी दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment